कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा १० करोडले लगाए कोरोना खोप

भारतले सबैभन्दा कम समयमा १० करोड जनामा कोरोना भाइरसविरुद्धको खोप दिएको हो ।
एजेन्सी

नयाँदिल्ली — भारतमा आइतबार साँझसम्म १० करोड जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । भारतीय अधिकारीले १० करोड जनालाई खोप दिन ८५ दिन लागेको जनाएका छन् ।

भारतमा १० करोडले लगाए कोरोना खोप

योसँगै भारत सबैभन्दा कम समयमा १० करोड जनालाई खोप दिने राष्ट्र बनेको छ । यसअघि १० करोड जनालाई कोरोना भाइरसविरुद्धको खोप दिन अमेरिकाले ८९ दिन र चीनले १०२ दिन लगाएका थिए ।

भाइरस संक्रमणको दोस्रो लहर फैलिइरहेका बेला भारतमा खोप लगाउनेको संख्या १० करोड पुगेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार १ लाख ५२ हजार ८ सय ७९जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणका कारण ८ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्ला दिनहरूमा खोप अभियानलाई तीव्रता दिइएसँगै खोपको समेत अभाव देखिन थालेको छ । करिब आधा दर्जन राज्यहरूले खोप अभाव भएको जनाएका छन् । तर केन्द्र सरकारले ४ करोड मात्रा सञ्चित रहेको दाबी गर्दै खोप अभावको समाचार आधारहीन भएको जनाएको छ ।

भारत सरकारले जुलाई अन्तिमसम्म २५ करोड जनलाई खोप दिने लक्ष्य राखेको छ । तर त्यसका लागि खोप अभियान तीव्र पार्नुपर्ने विज्ञहरूको भनाइ छ । भारतमा हाल ४५ वर्षभन्दा बढी उमेर समूहका नागरिकहरू खोप लिनका लागि योग्य ठानिएको छ । यसअघि कोरोना भाइरस नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी तथा ६० वर्षभन्दा बढी उमेरकालाई खोप दिइएको थियो ।

कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा भारत विश्वकै तेस्रो स्थानमा छ । भारतमा आइतबार साँझसम्म १ करोड ३३ लाख ५८ हजार ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १ करोड २० लाख ८१ हजारभन्दा बढी निको भइसकेका जनाइएको छ । संक्रमितमध्ये १ लाख ६९ हजार २ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै भारतीय अस्पतालमा अक्सिजन र बेड अभाव हुन थालेको छ । जसले गर्दा संक्रमितहरूले समयमा उपचार नपाउने र अकालमा मृत्यु हुने परिस्थिति बन्दै गएको छ । बेड नहुँदा कतिपय बिरामीको खुला आकाशमुनि नै उपचार थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरात तथा उत्तर प्रदेश राज्यका कतिपय सहरमा बिरामीले उपचार नपाएका जनाइएको छ । त्यस्तै महाराष्ट्रमा अक्सिजन अभाव भए पनि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

महाराष्ट्र, बिहार तथा पन्जाबले राज्यले आपूर्तिमा समस्या देखिएको भन्दै खोप अभियान प्रभावित हुने जनाएका छन् । केही राज्य सरकारले केन्द्र सरकारले खोप आपूर्तिमा ढिलाइ र विभेद गरेको आरोपसमेत लगाएका छन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने खोप आपूर्ति पर्याप्त मात्रामा भइरहेको दाबी गरेका छन् ।

भारतले पुनेस्थित सिरम इन्स्टिच्युट र हैदराबादको भारत–बायोटेकद्वारा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोप प्रयोग ल्याएको हो । पछिल्ला दिनहरूमा उत्पादन बढाउन दुवै कम्पनीमाथि चर्को दबाब परेको छ । सिरमका प्रमुख कार्यकारी अधिकृत अदर पुनावालाले भने सरकारको सहयोगबिना उत्पादन बढाउन सम्भव नभएको जनाइसकेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?