कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतद्वारा रेमडेसिभिर निर्यातमा फेरि रोक

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले फेरि एकपटक रेमडेसिभिरको औषधि निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि रेमडिसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।

भारतद्वारा रेमडेसिभिर निर्यातमा फेरि रोक

‘भारतमा कोरोनाको केसमा वृद्धि देखिएको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ । यसले गर्दा कोरोना बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको माग ह्वात्तै बढेको छ । आगामी दिनमा यो माग अझै बढ्नेछ देखिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतमा विगत केही दिनयता संक्रमण तीव्र बनेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकैदिन १ लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत वर्ष महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो छैटौं दिन हो । भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ३३ लाख नाघेको छ । त्यसमध्ये संक्रिय संक्रमितको संख्या दस लाखभन्दा बढी छ । त्यसैगरी दैनिक मृत्युदर पनि बढ्दो क्रममा छ । शुक्रबार मात्र ८३९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना महामारीले १ लाख ६९ हजारभन्दा बढी जनाको ज्यान लिइसकेको छ ।

‘यी सबै कुरालाई ध्यानमा राख्दै भारत सरकारले परिस्थितिमा सुधार नआउन्जेल रेमडेसिभिर इन्जेक्सन र रेमडेसिभिर भएका औषधिजन्य पदार्थको निर्यातमा रोक लगाएको छ,’ मन्त्रालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । भारतमा सात कम्पनीले रेमडेसिभिर उत्पादन गरिरहेको र तिनले मासिक ३८.३८ लाख भाइल उत्पादन गर्ने गरेको समेत मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी मन्त्रालयले बजारमा रेमडेसिभिरको आपूर्ति सहज बनाउन सबै कम्पनीलाई उक्त औषधि वितरकहरुको विवरण वेबसाइटमा राख्न पनि निर्देशन दिएको छ ।

गत वर्ष पनि भारतले यही समयमा रेमडेसिभिरको निर्यातमा रोक लगाएको थियो । नेपालमा मुख्यगरी भारतबाटै रेमडेसिभिर आयात हुँदै आएको छ । भारतले नै निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको मूल्य आकासिन पुगेको थियो । बजारमा पर्याप्त उपलब्ध नहुँदा कतिपय बिरामीले तीन डोज (एक भाइल) एक लाख रुपैयाँसम्म तिरेका थिए । जबकि सामान्य अवस्थामा त्यसको मूल्य बढीमा सात हजार रुपैयाँसम्म पर्ने गर्छ ।

बजारमा चर्को अभाव भएपछि स्वास्थ्य सेवा विभागले थप तीनवटा कम्पनीलाई रेमडेसिभिर ल्याउने अनुमति दिएको थियो । बजारमा सहजै उपलब्ध नभएपछि कतिपय विरामीले चर्को मूल्य तिरेर भए पनि भारतबाट मगाएका थिए ।

*यसअघि रेमडेसिभिरका औषधि हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित : चैत्र २९, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?