कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको छत्तीसगढमा माओवादी आक्रमण : २२ सुरक्षाकर्मी मारिए, ३१ घाइते

माओवादीतर्फ पनि ठूलो हताहती भएको दाबी
सुरेशराज न्यौपाने

काठमाडौँ — भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् ।

भारतको छत्तीसगढमा माओवादी आक्रमण : २२ सुरक्षाकर्मी मारिए, ३१ घाइते

छत्तीसगढका एक स्थानीय पत्रकारले कान्तिपुरलाई बताएअनुसार घटनास्थल छत्तीसगढको राजधानी रायपुरबाट करिब ५ सय किलोमिटर टाढा बस्तर क्षेत्रमा पर्छ । घना जंगल र निकै विकट उक्त क्षेत्रमा सञ्चार सुविधासमेत उपलब्ध छैन ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा फौजले गत शुक्रबार रातिदेखि दक्षिण बस्तरको जंगली क्षेत्रलाई लक्षित गर्दै विभिन्न ५ स्थानबाट अपरेसन सुरु गरेको थियो । त्यही क्रममा सुरक्षाकर्मीहरू सुक्मा–बिजापुर सीमामा सर्च अपरेसनमा रहेकै बेला शनिबार मध्याह्न माओवादीले एक्कासि चारैतिरबाट घेरा हालेर आक्रमण गरेका थिए ।

उक्त क्षेत्रमा ठूलो संख्यामा माओवादीहरू रहेको खुफिया सूचनाका आधारमा सुरक्षा फौजले सर्च अपरेसन सुरु गरेको थियो । सुरक्षा फौज र माओवादीबीच ३ घण्टाभन्दा लामो समयसम्म दोहोरो भिडन्त भएको जनाइएको छ । सुरक्षा फौजले माओवादीतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । ‘घाइते र मृतकहरूलाई तीनवटा ट्र्याक्टरमा लगिएको छ । नक्सलीतर्फ कति क्षति भयो भन्ने यकिन नभए पनि कम्तीमा २५/३० जना मारिएका छन्,’ केन्द्रीय रिजर्भ पुलिस फोर्सका महानिर्देशक कुलदीप सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द्र, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य नेताहरूले पनि दुःख व्यक्त गरेका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै सुरक्षाकर्मीको बलिदान खेर जान नदिने बताएका छन् । साथै उनले माओवादीविरुद्धको कारबाही थप बलियो पारिने र परिणाममुखी बनाइनेसमेत उल्लेख गरे । घटनाबारे थाहा पाउनासाथ उनी असमको चुनावी कार्यक्रम छोट्याएर दिल्ली फर्केका छन् । त्यसलगत्तै शाहले उच्च सुरक्षा अधिकारीहरूसँग बैठक गरेका थिए । बैठकमा घटनाबारे समीक्षा गर्दै माओवादीविरुद्धको कारबाहीलाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।

छत्तीसगढको बस्तर क्षेत्र माओवादी अति प्रभावित क्षेत्रका रूपमा चिनिन्छ । सोही क्षेत्रमा माओवादीको आक्रमणमा परी बर्सेनिजसो सुरक्षाकर्मीको मृत्यु हुँदै आएको छ । भारत सरकारले विगत लामो समयदेखि माओवादीविरुद्ध ठूलो संख्यामा सुरक्षाफौज परिचालन गर्दै आए पनि आक्रमणका घटना रोकिएका छैनन् । यसअघि मार्च २३ मा पनि छत्तीसगढकै नारायणपुरमा माओवादी आक्रमणमा ५ सुरक्षाकर्मी मारिएका थिए । घटनामा १४ जना घाइते भएका थिए ।

सन् २०२० को मार्चमा पनि छत्तीसगढकै सुक्मा जिल्लामा माओवादीको एम्बुसमा परेर १७ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सन् २०१९ को अप्रिलमा माओवादीले गरेको आक्रमणमा एक विधायकसहित १६ सुरक्षाकर्मीको ज्यान गएको थियो । त्यस्तै, सन् २०१० को अप्रिलमा छत्तीसगढकै चिन्तल्नर गाउँको दन्तेवाडामा माओवादीको आक्रमणमा परी ७६ सुरक्षाकर्मी मारिएका थिए । त्यसलाई माओवादीको अहिलेसम्मकै ठूलो आक्रमण मानिन्छ ।

छत्तीसगढका एक स्थानीय पत्रकारले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा माओवादी प्रभावित क्षेत्र भन्ने थाहा हुँदाहुँदै पनि सुरक्षाफौजका तर्फबाट आवश्यक सजगता र तयारी नभएका कारण शनिबारकै जस्तो घटना दोहोरिरहेको बताए । ‘त्यस क्षेत्रमा न त सञ्चार सुविधा छ, गर्मी त्यत्तिकै हुन्छ । पूरै विकट जंगली क्षेत्र हो अनि सतर्कता र तयारी नभएकाले नै यस्ता घटना दोहोरिने गर्छन्,’ नाम नबताउने सर्तमा ती पत्रकारले भने । त्यस क्षेत्रमा दुई दशकदेखि यस्ता घटना भइरहेको उनले जनाए ।

प्रकाशित : चैत्र २२, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?