कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङमा ७ लोकतन्त्रवादी अभियन्ता दोषी ठहर

गैरकानुनी रूपमा सभा–सम्मेलन गरेको आरोपमा दोषी ठहर गरिएकाहरूमा प्रकाशक जिम्मी लाई, हङकङका पिता मार्टिन लीसमेत छन्
एजेन्सी

हङकङ — हङकङका लोकतन्त्रवादी प्रकाशक जिम्मी लाई, पूर्वसांसद मार्टिन लीसहित ७ जना अभियन्ता दुई वर्षअघिको एक मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई गैरकानुनी रूपमा सभा–सम्मेलन गरेको आरोपमा दोषी ठहराइएको हो । हङकङमा दुई वर्षअघि लोकतन्त्र पक्षधरहरूले बृहत् प्रदर्शन गरेका थिए ।

फैसलासँगै उनीहरूलाई अब जेल चलान गरिने जनाइएको छ । दोषी ठहर गरिएका सातै जनाले आफूहरू निर्दोष रहेको दाबी गर्दै आएका छन् । दोषी ठहर गरिएका अन्य पूर्वसांसदहरूमा मार्गरेट एङ्ग, साइड हो सउ–लान, ली चेउक–यान, अल्बर्ट हो चुन–यान र लिउङ्ग क्वोक–हङ (लामो कपाल) छन् ।

फैसलाको समय अदालतबाहिर उपस्थित प्रदर्शनकारीको एक समूहले ‘राजनीतिक सुनुवाइ नमान्ने’ भन्दै नाराबाजी गरेको थियो । त्यस्तै प्रकृतिको मुद्दामा दुई जना अभियन्तालाई यसअघि नै ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

बिहीबार दोषी ठहर गरिएका ७ जनालाई भने पछि सजाय तोकिने जनाइएको छ । तीमध्ये केहीविरुद्ध राष्ट्रिय सुरक्षा कानुअन्तर्गत अन्य मुद्दासमेत लगाइएको छ । हङकङको सबैभन्दा ठूलो एप्पल डेली समाचारपत्रका प्रकाशक जिम्मीलाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपसमेत लगाइएको छ । हङकङ प्रहरीले जिम्मीलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चीनले हङकङमा उक्त कानुन गतवर्षबाट कार्यान्वयनमा ल्याएको हो । कानुनको विरोधमा गतवर्ष हङकङमा भएको लोकतन्त्रवादी आन्दोलनका समर्थक जिम्मीले चीन तथा हङकङका शासकको कडा आलोचना गर्दै आएका थिए । जसका कारण उनी शासकको तारो बनेका थिए ।

७२ वर्षीय जिम्मीलाई गैरकानुनी रूपमा भेला भएको र बलजफ्ती गरेको अभियोगमा एक वर्षअघि पक्राउ गरिएको थियो । तर त्यतिबेला उनी धरौटीमा छुटेका थिए । नयाँ सुरक्षा कानुनअन्तर्गत हङकङमा पक्राउ परेका जिम्मी सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुन् । उनीसँग बेलायतको नागरिकता छ ।

को हुन् जिम्मी र मार्टिन ?

एक अर्ब २० करोड डलर बराबरको सम्पत्ति भएका जिम्मी लाईको प्रमुख व्यवसाय कपडा उद्योग हो । त्यसबाट राम्रै कमाइ गरेपछि उनले सञ्चार क्षेत्रमा प्रवेश गरे । हङकङको लोकप्रिय दैनिक ‘एप्पल डेली’ लाईले स्थापना गरेका हुन् ।

हङकङमा चीनको बढ्दो प्रभावविरुद्धको अभियानमा जिम्मी निकै सक्रिय छन् । सन् २०१९ मा हङकङमा लोकतान्त्रिक सुधारका लागि गरिएका विरोध प्रदर्शनमा समेत उनको सक्रिय सहभागिता थियो । चीनले हङकङका लागि ल्याएको नयाँ सुरक्षा कानुन उनले ‘हङकङवासीका लागि मृत्युको घण्टी’ भएको बताएका थिए । यसअघि चिनियाँ सरकारी सञ्चारमाध्यमले उनलाई हङकङ दंगाका प्रमुख योजनाकारमध्येका एक भएको दाबी गरेका थिए ।

त्यसैगरी दोषी ठहर गरिएका मार्टिन युनाइटेड डेमोक्र्याट्स पार्टीका संस्थापक अध्यक्ष हुन् । उनी हङकङमा ‘लोकतन्त्रका पिता’ को उपनामले परिचित छन् । ८२ वर्षीय मार्टिन सन् १९८५ देखि १९९७ र १९९८ देखि २००८ सम्म हङकङको संसद्का सदस्य थिए । बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्दा भएको छलफलमा समेत उनी सहभागी थिए ।

सन् २००२ पार्टीको अध्यक्ष पद त्यागेका मार्टिन सन् २००८ यता सक्रिय राजनीतिमा भने छैनन् । तर हङकङमा लोकतन्त्र र स्वतन्त्रताका पक्षमा स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा उनले हालसम्म निरन्तर आवाज उठाउँदै आएका छन् । ०००

हङकङस्थित अदालतमा बिहीबार पूर्वसांसद मार्टिन ली र अल्बर्ट हो । तस्बिर : एपी

प्रकाशित : चैत्र १९, २०७७ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?