कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको पश्चिम बंगाल र असम विधानसभाको पहिलो चरणको मतदान जारी

एजेन्सी

कोलकाता — भारतको पश्चिम बंगाल र असम राज्यको विधानसभा चुनावअन्तगर्त शनिबार पहिलो चरणको मतदान भइरहेको छ ।

भारतको पश्चिम बंगाल र असम विधानसभाको पहिलो चरणको मतदान जारी

पश्चिम बंगालको ५ जिल्लाका ३० विधानसभा सिट र असमको ४७ सिटमा पहिलो चरणअन्तगर्त शनिबार मतदान भइरहेको हो । पश्चिम बंगाल विधानसभामा २ सय ९४ सिट रहेको छ भने असममा १ सय २६ सिट ।

दुवै राज्यमा कडा सुरक्षाका बीच मतदान भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट र नाजिराजस्ता हाई–प्रोफाइल मानिएका सिटमा पनि मतदान भइरहेको छ । माजुलीबाट असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल चुनावी मैदानमा उत्रिएका छन् भने असम विधानसभा अध्यक्ष हितेन्द्रनाथ गोस्वामीले जोरहाटबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै कांग्रेस नेता देवव्रत सैकिया नाजिराबाट उम्मेदवार बनेका छन् । भारतीय चुनाव आयोगका अनुसार असममा २६४ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा २३ महिला पनि छन् । असमको १२ जिल्लाका करिब ८१ लाख मतदाताले शनिबार मतदान गर्ने अपेक्षा राखिएको छ ।

शनिबार पश्चिम बंगालको केही संवेदनशील क्षेत्रमा पनि मतदान भइरहेको छ । माओवादीको पकड रहेका क्षेत्रमा पनि चुनाव भइरहेकाले सुरक्षाकर्मीको तैनाथी कडा पारिएको छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ ।

असममा भारतीय जनता पार्टीको सरकार छ भने पश्चिम बंगालमा तृणमूल कंग्रेसकी अध्यक्ष ममता बनर्जी मुख्यमन्त्री छन् । पश्चिम बंगालमा भारतीय जनता पार्टी र तृणमूल कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?