कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाको बाढी दुई दशकयताकै भयानक

एजेन्सी

सिड्नी — अस्ट्रेलियाको दक्षिण–पूर्वी राज्य न्यु साउथ वेल्समा लगातार वर्षापछिको बाढीका कारण जनजीवन निकै प्रभावित भएको छ । अधिकारीहरूले दुई दशकपछिको भीषण बाढीका कारण सडक तथा पुलहरू भत्केका, सयौं गाडी तथा चौपायाहरू बगेका जनाएका छन् । बाढीका कारण विद्यालयहरू बन्द गरिएका छन् । 

अस्ट्रेलियाको बाढी दुई दशकयताकै भयानक

सरकारले बाढी प्रभावितको उद्धारका लागि सयौं सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । अधिकारीहरूका अनुसार सोमबार साँझसम्म कम्तीमा १८ हजार बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । जलवायु विभागका अनुसार मंगलबारसम्म भीषण वर्षा कायमै रहने भएकाले बाढीले थप क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री स्कट मरिसनले ‘गम्भीर जोखिम आउनै बाँकी रहेको’ बताएका बीबीसीले उल्लेख गरेको छ । सरकारले पश्चिमी अस्ट्रेलियाबाहेकका क्षेत्रका करिब १ करोड मानिसलाई बाढीको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको छ । विभागले मंगलबार भारी वर्षा हुने, भीषण हावाहुरी आउने तथा समुद्रमा उछाल आउने पूर्वानुमान गरेको छ । विभागका बाढी व्यवस्थापक जस्टिन फिल्डले भने, ‘मैले विभागमा करिब दुई दशकदेखि बाढीको पूर्वानुमान गर्दै आएको छु । यसपटकको बाढी सबैभन्दा भयानक देखिएको छ ।’

यसअघि प्रधानमन्त्री मरिसनले बाढी प्रभावित क्षेत्रका वयस्क नागरिकलाई १ हजार डलर र बालबालिकालाई ४ सय डलर नगद दिने घोषणा गरेका थिए । यसैगरी, बाढीका कारण ज्यान गुमाएकालाई १३ सातासम्मका लागि आर्थिक सहयोग दिइने घोषणा गरिएको छ । हालसम्म बाढीका कारण मृत्यु भएकाको संख्याबारे उल्लेख गरिएको छैन ।

त्यसैगरी, न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन र सरकारको भनाइलाई गम्भीर रूपमा लिन सुझाव दिएकी छन् । न्यु साउथ वेल्स प्रहरीले बाढीका कारण समस्यामा परेको खण्डमा सूचना दिन आग्रह गरेको छ । बाढीका कारण न्यु साउथ वेल्स राज्यका कतिपय क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप ढुवानीसमेत प्रभावित भएको जनाइएको छ ।

प्रकाशित : चैत्र १०, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?