कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रुसले अमेरिकाबाट राजदूत फिर्ता बोलायो

रुसी राष्ट्रपति पुटिन निकै खतरनाक व्यक्ति : अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकासँगको सम्बन्ध अँध्यारो गल्लीमा : रुसी राष्ट्रपतिका प्रवक्ता
एजेन्सी

वासिङ्टन/मस्को — रुसले अमेरिकास्थित राजदूतलाई बिहीबार फिर्ता बोलाएको छ । अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ रोक्न वार्ताका लागि राजदूत अनाटोली एन्टोनोभलाई फिर्ता बोलाइएको रुसको भनाइ छ ।

रुसले अमेरिकाबाट राजदूत फिर्ता बोलायो

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई चेतावनी दिएपछि राजदूतलाई फिर्ता बोलाइएको हो । अमेरिकी चुनावमा रुसले दक्खल दिएको आरोपबीच राष्ट्रपति बाइडेनले भ्लादिमिर पुटिनले त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए ।

अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिको प्रतिक्रिया जनाउँदै रुसले ‘वासिङ्टनले दुई देशीय सम्बन्ध एउटा अँध्यारो गल्लीमा पुर्‍याएको’ जनाएको छ । राजदूत फिर्ता बोलाइएको विषयबारे रुसी विदेश मन्त्रालयले भनेको छ, ‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निकै अप्ठ्यारो मोडबाट गुज्रिरहेको रुस–अमेरिका सम्बन्धलाई सच्याउने बाटो पहिचान गर्नु हो । वास्तविकता यो हो कि वासिङ्टनले त्यसलाई एउटा अँध्यारो गल्लीमा ल्याइदिएको छ ।’

एबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा बाइडेनले रुसी राष्ट्रपति पुटिन ‘निकै खतरनाक व्यक्ति’ रहेको आफूलाई लागेको बताएका थिए । अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाउँदै त्यस्तो बताएका हुन् । अमेरिकी चुनावी अभियान कमजोर पार्ने प्रयास गरेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

प्रतिवेदनमा पुटिनले चुनावमा हस्तक्षेप गरी डोनाल्ड ट्रम्पलाई जिताउनका लागि अनुमति दिएको जनाइएको छ । त्यसका साथै बाइडेनलाई बदनाम गर्नका लागि पुटिनले थुप्रै उपायहरू अपनाउन निर्देशन दिएका उल्लेख छ । त्यसका लागि मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई चर्काउनेसम्मका उपायहरू अपनाइएको प्रतिवेदनमा दाबी गरिएको छ । रुसले भने त्यस्ता आरोपहरू अस्वीकार गरेको छ ।

तर प्रतिवेदनको निष्कर्षमा रुस वा अन्य कुनै देशले मतदान वा मतगणना प्रभावित पारेको कुनै प्रमाण नपाइएको उल्लेख गरिएको बीबीसीले जनाएको छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने’ बताए ।

उक्त प्रतिवेदनको निष्कर्षका आधारमा अमेरिकाले अर्को सातासम्ममा रुसमाथि प्रतिबन्धहरू लगाउने ठानिएको छ । अमेरिकी गुप्तचर प्रतिवेदनले रुसले बाइडेनलाई बदनाम गर्न र डोनाल्ड ट्रम्पलाई प्रोत्साहन गर्ने गरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ । प्रतिवेदनको निष्कर्षपछि अमेरिकाले अर्को सातादेखि रुसमाथि प्रतिबन्ध लगाउने अपेक्षा गरिएको छ । आफूले पुटिनसँग जनवरीमा भएको वार्तामै चुनावी दक्खलका विषयमा सम्भावित जवाफबारे चेतावनी दिएको बाइडेनको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?