कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

‘मार्च फर जस्टिस’ को अगुवाइमा ४० स्थानमा गरिएको प्रदर्शनमा हजारौं सहभागी
नारायण खड्का

अस्ट्रेलिया — यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा सोमबार हजारौंले देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी क्यानबेराका साथै सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् । 

यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा १ लाखभन्दा बढी महिला, पुरुष तथा बालबालिका सहभागी भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब एक महिनाअघि संसद् भवनस्थित रक्षामन्त्री लिन्डा रेनल्डस्को कार्यालयमा काम गर्ने पूर्वकर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा अघि आएको हो । यसलगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करिब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो ।

पोर्टरमाथि लागेको आरोपका सम्बन्धमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठे पनि अहिलेसम्म यसबारे कुनै आधिकारिक निर्णय गरिएको छैन । सोमबार देशैभरि आयोजित प्रदर्शनमा सहभागी महिलाले उक्त मुद्दाका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने मागसमेत उठाएका छन् ।

यो संख्यामा पहिलो पटक आयोजना भएको दाबी गरिएको यस प्रदर्शनमा आयोजकले मुख्य ४ वटा माग अघि सारेका छन् । जसमा हरेक किसिमका लैंगिक हिंसाका बारेमा पूर्णरूपमा स्वतन्त्र छानबिन गरिनुपर्ने, अस्ट्रेलियास्थित मानव अधिकार आयोगद्वारा सुझाव दिइएका ५५ वटै सुझावलाई कार्यान्वयन गरिनुपर्ने, लैंगिक हिंसाको रोकथाम तथा अन्त्यका लागि सहयोग बढाउनुपर्ने र यससम्बन्धी अझ प्रभावकारी कानुन बनाउनुपर्ने माग गरिएको छ । प्रदर्शनको अगुवाइ गरिरहेकी संस्थाकी संस्थापक जेनिन हेन्ड्रीले हाम्रो समाजमा अहिले पनि संस्थागत असमानता कायमै रहेका कारण महिलामाथि यौनिक हिंसा हुने गरेको बताइन् । उनले केही सातापहिले मात्र स्थापना गरेको उक्त संस्थालाई अहिले करिब ४० हजारले फलो गरेका छन् । उनले आफूहरूले संस्थागत परिवर्तन नभएसम्म आवाज उठाइरहने बताएकी छन् ।

प्रदर्शन अस्ट्रेलियाका विभिन्न ४० स्थानमा आयोजना गरिएको स्थानीय समाचार संस्था एसबीएसले जनाएको छ । सिड्नी, क्यानबेरा, मेलबर्न, ब्रिसबनका साथै ग्रामीण भेगका सहरमा आयोजित प्रदर्शनमा समेत महिलाले उल्लेख्य रूपमा सहभागिता जनाएका थिए । आयोजकले प्रधानमन्त्री स्कट मरिसन र उपप्रधानमन्त्री माइकल मकोर्म्याकलाई समेत र्‍यालीमा सहभागिताका लागि अनुरोध गरेको भए पनि उनीहरूले व्यस्तताका कारण सहभागिता जनाउन नभ्याउने बताएका थिए ।

प्रधानमन्त्री मरिसनले कार्यक्रम आयोजकलाई महिलामन्त्री मरिस पेइनको सहभागितामा अलग्गै भेट्नका लागि प्रस्ताव गरेका भए पनि उक्त प्रस्तावलाई आयोजकले अस्वीकार गरेको थियो । प्रधानमन्त्री मरिसनले महिलामाथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्नु आफ्नो सरकारको उच्च प्राथमिकता रहेको दोहोर्‍याएका छन् । उनले सोमबार संसद्मा बोल्दै महिलाले आयोजना गरेको र्‍यालीको प्रशंसा गरेका थिए ।

राजधानी क्यानबेरामा आयोजित हजारौंको र्‍यालीलाई सम्बोधन गर्दै हिगिन्सले आफूहरू अन्य महिलामाथि हुने शारीरिक हिंसाको अन्त्यका लागि अघि आउन बाध्य भएको बताइन् । उनले आफूहरू यहाँ आउनु चाहना नभई बाध्यता भएको समेत बताएकी थिइन् । र्‍यालीमा सहभागी महिलाले शारीरिक हिंसाका विरुद्धमा सरकारको कदम प्रभावकारी नभएको बताएका थिए भने केही सहभागीले कालो पोसाक लगाएर विरोध जनाएका थिए । आयोजकले सोमबार आयोजना गरिएको

र्‍याली महिलाद्वारा आयोजित अहिलेसम्मकै ठूलो प्रदर्शन भएको हुन सक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । आयोजकले प्रधानमन्त्री मरिसनलाई सम्बोधन गर्दै ९४ हजारद्वारा हस्ताक्षरित पेटिसन विपक्षी दलकी सांसद तान्या पिल्बरसेक र ग्रिन पार्टीकी सिनेटर लारिसा वाटरसले स्विकारेका थिए । उनीहरूले र्‍यालीमा सहभागितासमेत जनाएका थिए ।

प्रकाशित : चैत्र ३, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?