म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए

एजेन्सी

यांगुन — म्यान्मारको सैनिक ‘कु’ विरुद्धको प्रदर्शनका क्रममा सोमबार पाँच जनाको ज्यान गएको छ । अधिकारकर्मी तथा प्रत्यक्षदर्शीहरूले सोमबार यांगुनको औद्योगिक क्षेत्रमा दर्जनौं प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली हानेको जनाएका छन् । 

तस्बिर : रोयटर्स

लोकतन्त्रवादी नेत्री आङ सान सुचीका समर्थकहरूले यांगुनका साथै म्यान्डले, हखा, मायिङ र अउंगलान सहरमा गरेका प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘एक युवतीको टाउकोमा र एक युवकको अनुहारमा गोली लागेको छ,’ एक प्रदर्शनकारीले भने, ‘म भने लुक्न भ्याएँ ।’

यसअघि आइतबार सुरक्षा फौजले करिब ५० जना प्रदर्शनकारीको ज्यान लिएको अभियानकर्ताहरूले बताएका छन् । ‘द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य सहर यांगुनको झडपमा मात्रै करिब ३० जना प्रदर्शनकारी मारिएको जनाएको छ । मारिनेमध्ये अन्य प्रदर्शनकारी विभिन्न सहरका हुन् । प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।

चीनको ग्लोबल टाइम्स अखबारले यांगुनमा चिनियाँ लगानीका ३२ वटा उद्योगमा तोडफोड गरिएको जनाएको छ । उक्त आक्रमणमा ३ करोड ७० लाख अमेरिकी डलर बराबरको क्षति हुनुका साथै दुई जना चिनियाँ कामदार घाइते भएका ग्लोबल टाइम्सको दाबी छ । म्यान्मारस्थित चिनियाँ दूतावासले सरकारलाई हिंसा अन्त्य गर्न तथा जनता र सम्पत्तिको रक्षा गर्न आग्रह गरेको छ । आफ्नो फेसबुक पेजमा चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा तोडफोड तथा लुटपाट भएको र चिनियाँ कामदारहरू घाइते भएको’ जनाएको छ । दूतावासले दोषीलाई कानुनअनुसार कारबाही गर्न’ समेत आग्रह गरेको छ । चीनले फलामे छड, बन्चरो र पेट्रोल बम बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाएका र अन्यमा तोडफोड गरेको जनाएको छ ।

म्यान्मारको सैनिक सरकारले यांगुनस्थित औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि आक्रमण भएको भन्दै यांगुनका धेरै भागमा सैन्य कानुन लागू गरिएको जनाएको थियो । चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् ।

प्रकाशित : चैत्र ३, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

माटाको मरण, प्रकृतिको विघटन

अहिले किसान स्वयंले बाहेक अरू सबैले ‘किसानले खेती नगर्ने हो भने सबै भोकै मर्ने’ आधारभूत सत्य बिर्सेको अवस्था छ ।
कृष्णप्रसाद पौडेल

पोहोर कोरोनाले हाम्रो खाना र खेतीपातीको समग्र चेतनालाई प्रश्न गर्‍यो । यसले खेतीपातीको दुरुह अवस्था, यही कारण निम्तिएका समस्याहरू र यसका प्रत्यक्ष र परोक्ष कारणहरू सबैले देख्ने गरी सतहमा ल्याइदियो । यसले निम्त्याएको संकटसँगै, हाम्रो खानेकुराको वासलात, उत्पादन सामग्री, सेवा र सहायताको उपलब्धता र वितरण, बढ्दो आयात र परनिर्भरताजस्ता आयाममा देखिएका समस्या र चुनौती उजागर भए ।

परनिर्भर खाना र खेतीपातीले हाम्रो आत्मसम्मान, स्वाभिमान र आत्मनिर्भरता र खाद्यसुरक्षाको हैसियत देखाइदियो । खेतीपातीबाट घरबार नचलेर सहर र मुग्लान भासिएका लाखौं नेपाली युवा किसान बरु आफ्नै वा अरूकै बाँझो जमिनमा खेती गरेरै गुजारा चलाऔंला भन्दै सहर र सिमानाका हुँदै फर्किए । तर, ‘अब यतै बस्छन्, यति धेरैलाई कसरी सम्हाल्ने’ भनेर कोकोहोलो मच्चाउने योजनाकारलाई गिज्याउँदै, गाउँघर पुगेका यी युवा खेतीपाती गरेर टिक्ने छाँट नदेखेपछि आँसु झार्दै फेरि मुग्लान भासिए ।

योसँगै झन्डै दुईतिहाइ सरकारको पलायन र प्रतिगमनले खेतीपातीले खुट्टा नटेक्नुका अरू थप अन्तर्निहित कारणसमेत उजागर हुँदै गएका छन् । मुख्य रूपमा कृषिलाई आधुनिक बनाउने नाममा भित्र्याउने भनिएको प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण र सहायतामा अनुदानको दुरुपयोग र खेतीयोग्य जमिन र मल–बिउमा भइरहेका बिचौलियाको चकचकी, चलखेल, कपट, सेटिङ र लेनदेन यसका केही उदाहरण हुन् । यसबाट थाहा हुन्छ— राजनीतिमा जस्तै सरकार कृषि सपार्न होइन, भएकै कृषिलाई थप गिजोलेर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको छ ।

विडम्बना, दशकौं अघिदेखि खेतीपाती गरेर समस्त जनसंख्याको ७० प्रतिशतभन्दा बढीको दैनिक खानेकुराको बन्दोबस्त गर्ने साना, खासगरी महिला र श्रमिक किसानमाथि बेइमानीको खेती गरिँदै आइएको छ । किसानलाई खेतीयोग्य जमिनबाट बेदखल गरी घडेरी, बाटो र स्मार्ट सहर बनाएर होस् या खानामा ‘विष’ या खेतीपातीमा कृत्रिम रसायन हालेर तथा हाल्न लगाएर बेइमानी भइरहेको छ । उखु, चिया, कफी, अदुवा र अलैंची, खेती गर्ने किसान होऊन् या तरकारी, कुखुरा र दूध व्यवसायी, श्रमिक, भूमिहीन वा उद्यमी महिला–पुरुष या साना व्यापारी, सबैतिर यस्तै खेती झाँगिएको छ । समग्रमा नेपाली किसान समुदाय यस्तो बेइमानीको खेतीबाट निरन्तर प्रताडित छन् । यतिले नपुगेर यी सबै कुराको बेवास्ता गर्दै आफैंले बनाएको ऐनका प्रावधान फेरेर अब पैसा मात्र फलाउने वैदेशिक लगानीको खेती गर्ने तयारी भइरहेको छ । यसरी हेर्दा, अहिले किसान स्वयंले बाहेक अरू सबैले ‘किसानले खेती नगर्ने हो भने सबै भोकै मर्ने’ आधारभूत सत्य बिर्सेको अवस्था छ ।

हावापानीपछि नभई नहुने खानाको उत्पादन गर्ने किसानका बारेमा कसैकसैले लोकाचारका लागि ओठेभक्ति देखाउनेबाहेक ठोस केही गरेको देखिँदैन । बरु उल्टै उत्पादन बढाउने मल भन्दै विगत चार–पाँच दशकदेखि हाम्रो माटोमा कृत्रिम रसायन र विषको घनघोर वर्षा भइरहेको छ । ‘सजीव माटो जैविक विविधता संरक्षणको बाटो’ भन्ने नारासहित यो वर्षको विश्व माटो दिवस मनाइरहँदा हाम्रो कृषि सपार्ने जिम्मा बोकेको सरकार भने यो माटो र यसको जैविक विविधता जोगाउने हैन, यसलाई ध्वस्त गर्ने कृत्रिम रासायनिक मल कारखानको तानाबाना बुन्नमै व्यस्त छ । एक वर्षदेखि सरकारको रासायनिक मल र यसको कारखानाको खेतीपाती चलिरहेको छ । रसायन र विषादीकै कारण नेपालको तराई, दून र बेंसीको कृषि तहसनहस हुँदै गएको छ ।

उच्च पहाडका सुक्खा भिराला कान्लामा समेत यो ‘रोग’ चढ्न थालेको छ । कर्णालीजस्तो सुक्खा र पातलो तह भएको सतहको थोरै माटोमा समेत यसको प्रयोगले यस क्षेत्रको माटोलाई सधैंका लागि मार्ने र मरुभूमीकरण गर्ने क्रम सुरु भएको छ । हाम्रो उर्वरशील जीवित माटो कृत्रिम रसायनकै कारण जेनतेन प्राण धान्दै छ, यो मरुभूमिमा परिणत हुने प्रतीक्षामा छ । यसको प्राण गयो भने हाम्रो हालत के हुन्छ ? तराई र सम्म मैदानी माटोमा जैविक गतिविधि शून्य हुँदै गएको छ । मलिला उपत्यकाहरू कंक्रिटका आँगन बनेका छन् ।

चार दशकअघि प्रतिकट्ठा १ केजी एमोनिया वा युरिया मल हाल्ने तराईका खेतमा अहिले २० केजीसम्म यस्तो मल हाल्नुपर्ने भएको छ । यसो नगरे अघिल्लो वर्षजति उत्पादन नहुने कुरा भुक्तभोगी किसानका अनुभव छन् । यदि यसैगरी कृत्रिम रसायन बढाउँदै जाने हो भने यो माटोले कहिलेसम्म सास फेर्छ ? सुरुमा दाताका सहयोगमा किसानलाई सित्तैंमा बाँडेर सुरु भएको कृत्रिम रसायन र विषादीको यात्रा प्रतिकिलो मुगुको गमगढीमा ८०, ललितपुरको खोकनामा ६५ र भारतीय सीमाबाट ३५ देखि ४० (घूससमेत थपेर) रुपैयाँमा किन्नुपर्नेमा पुगेको छ । नेपाली युवा किसानका रगतपसिनासँग साटेर अनुदानमा बाँडिएको १४ रुपैयाँ पर्ने मल कता जान्छ ? नआउँदा त बेग्लै कुरा, आउने बेला कसले पाउँछ ? सायद यो बाँड्नेलाई मात्र थाहा छ ।

सजिलो खेती भन्दै गरिएका कतिपय खेती प्रविधिका कारण माटोको जैविक प्रक्रिया र विविधता दुवै तहसनहस भएको छ । यन्त्रमा आधारित एकल खेतीले जैविक विविधता र माटोको जीवनतत्त्व ह्रास हुँदै गएको छ । अहिले हाम्रो खेतबारीको माटोमा सामान्यतः हुनुपर्ने प्रांगारिक तत्त्व (४–५ प्रतिशत) घटेर सरदरमा २ प्रतिशतभन्दा तल झरेको छ । यसबाट हुने नोक्सानीबाट जोगिने एक मात्र उपाय स्वाभाविक रूपमा अहिले भइरहेको अन्धाधुन्ध कृत्रिम रसायनको प्रयोगलाई घटाउँदै जाने र प्रांगारिक या जैविक मल र अन्य तत्त्व थप्दै जाने नै हो । यसबारे कुरा गर्नेबाहेक यसको परिपूर्ति गर्ने कुनै सोच परम्परागत खेतीपाती गर्ने ‘पछौटे’ किसानबाहेक कसैसित छैन ।

योसँगै, अहिले रोग कीराले खेतीपाती तहसनहस पारेको छ । सबै बालीमा कुनै न कुनै कीरा या रोगले सताएकै छ । दुई–तीन वर्षदेखि मकैमा लागेको फौजी कीरा अब अन्य बालीमा समेत फैलिएको छ । लाही, ढुसी, ब्याक्टेरिया र भाइरसको प्रकोप निरन्तर बढेको छ । यिनको नियन्त्रणका लागि प्रयोग गरिने ज्यानमारा रासायनिक विषको वर्षा र यसले गर्ने हानिको कुनै हिसाब छैन । यस्तो विषका कारण क्यान्सर, मिर्गौलाले काम नगर्ने, चिनीरोग, मुटुरोग, रक्तचाप र थाइराइडका बिरामी दिनदिनै थपिएका छन् । अस्पतालमा सुई र सेता ट्याबलेटका भरमा बाँच्ने आशा पालेका नसर्ने दीर्घरोगका बिरामीको ताँती छ । यसको समस्याले सिंगो तराई र सहरी क्षेत्र ग्रस्त छ अनि यो पहाड र हिमाली क्षेत्रमा समेत फैलिँदै छ ।

अनुदानका नाममा समेत नयाँ सामाजिक सरुवा रोग थपिएको छ । अहिले यो कोरोनाजस्तै सर्वत्र फैलिँदै छ । अनुदानका नाममा अर्बौं रुपैयाँ बाँडचुँड भइरहेको छ । अनुदानको भरमा खेतीपाती गरेर घरबार चलाउन सकिन्छ कि भनेर आस पालेका र व्यवसाय गर्न तम्सेका उत्साही किसान मापदण्ड पुर्‍याउन नसकेर आजित छन् तर झोले किसान सबैतिर थपिएका थपियै छन् । वास्तविक किसानलाई उनका अधिकारबाट वञ्चित गर्ने काम निरन्तर जारी छ । झोलामा गरिने अनुदानको बिचौलिया खेतीले उत्पादन बढ्ने कुरै भएन । उत्पादन र उत्पादकत्व वर्षैपिच्छे घटिरहेको छ । यो कुरा आयातका तथ्यांकले नैं बोल्छन् तर बिचौलिया पोसेर कृषिमा उत्पात क्रान्ति गरेको सरकार यसको प्रगतिका रेखाचित्र देखाउनमै व्यस्त छ ।

यसरी खाना र खेतीपाती नयाँ घुम्ती हुँदै ओरालो लाग्दै छ । समस्या सम्बोधन गर्ने जिम्मा लिने कुरा त परै जाओस्, नेपालको कृषिलाई विदेशी नै ल्याएर किसानलाई सधैंका लागि पलायन गराउने तयारी सत्ताको राजनीतिमा गरिएको प्रतिगमनसँगै पूरा भएको छ । यसो गर्ने काममा राष्ट्रवादी सरकारले नेतृत्व गरेको छ भने यसको पहिलो लाइनमा बिचौलिया नेता, कर्मचारी र अन्य स्वार्थ–समूह छन् । यसबाट हामी सबैलाई केही आधारभूत प्रश्नमा विचार गर्न दबाब बढिरहेको छ । किन हामीले खानाका लागि गरिने खेतीपातीजस्तो आधारभूत प्रश्नमा आँखा चिम्लेका हौं ? किन हामी खानाका नाममा भइरहेको विषको खेतीको प्रतिवाद गर्न हिचकिचाएका छौं ?

सरकारको त कुरा परै राखौं, अहिले सडकमा आएका सरकारी प्रतिपक्ष, विपक्षी र सबै खाले आन्दोलनमा राजनीतिको प्रतिगमन सच्याउन भन्दै ठडिएका औंलासमेत खाना र खेतीपातीमा भएको प्रतिगमनको प्रश्न उठाउन किन हिचकिचाउँछन् ? विषाक्त खाना र खेतीपातीले निम्त्याएका नसर्ने दीर्घरोगको विकराल समस्या नभएझैं गरेर हामी किन टकटकिन्छौं ? यदि माटो यसरी नै मर्ने र प्रकृतिको विघटन हुँदै जाँदा हाम्रो भविष्य के हुन्छ ?

आज यी प्रश्नले राजनीतिका अगुवा, बौद्धिक जमात, खासगरी प्रतिगमन सच्याउन भन्दै सडकमा पुगेका आलोचनात्मक चेत राख्ने अभियन्ता र अगुवाको चेतना र विवेकमा समेत औंला ठड्याएका छन् । यिनको जवाफ नखोजी आममानिसका खानेकुरा र जीवनयापनका आधारभूत सवालको सम्बोधन हुँदैन । यसका लागि माटो, प्रकृति र खेती प्रणालीमा देखिएका प्रश्नमा फर्केर हेर्ने र सच्याउने पहल गर्न ढिला भइसकेको छ ।

प्रकाशित : चैत्र ३, २०७७ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×