कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘म्यान्मारमा क्रान्ति रोकिँदैन’

एजेन्सी

यांगुन — म्यान्मारको सैनिक ‘कु’ पछि सत्ताच्युत भएका नेताहरूले सैनिक शासनविरुद्धको ‘क्रान्ति’ लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । फेब्रुअरी १ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले भने, ‘म्यान्मारका लागि यो सबैभन्दा अँध्यारो क्षण हो । अनि यो बिहानी आउन लागेको समय पनि हो ।’

‘म्यान्मारमा क्रान्ति रोकिँदैन’

हाल भूमिगत अवस्थामा रहेका विन खाइनले सैनिक ‘कु’ को विरोध गरिरहेका सांसदहरूको एक समूहको नेतृत्व गरिरहेका छन् ।

सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरूले सीआरपीएच नामको एउटा समिति गठन गरेका थिए । मान विन खाइन थान त्यसका प्रमुख हुन् । सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त गर्न प्रयास गरिरहेको छ । सैनिक शासनको विरोधमा आइतबार पनि देशका प्रमुख सहरहरूमा प्रदर्शनहरू गरिएका छन् । बीबीसीका अनुसार आइतबारका प्रदर्शनमा प्रहरीले गरेको दमनका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले यांगुनमा ३ जना प्रदर्शनकारीको ज्यान गएको हो । त्यस्तै बागो र उत्तरी सहर हप्कन्तमा एक/एक जनाको मृत्यु भएको हो ।

यसअघि शनिबारको प्रदर्शनमा १२ जनाको मृत्यु भएको अधिकारवादी संस्थाहरूले पुष्टि गरेका छन् । सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । हालसम्म भएका प्रदर्शनमा मृत्यु हुनेको संख्या ८० नाघिसकेको छ । आइतबार साँझसम्म २ हजारभन्दा बढी पक्राउ परिसकेका जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । एम्नेस्टी इन्टरनेसनल लगायत मानवअधिकारवादी संस्थाहरूका अनुसार प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरिरहेको छ । सेनाले सत्ता हातमा लिएसँगै एनएलडी नेत्री आङ सान सुचीलाई पक्राउ गरेपछि म्यान्मारमा आन्दोलन भइरहेको छ । गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।

प्रकाशित : चैत्र २, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?