ब्रसेल्स — सन् २०२० मा विश्वभर ६५ जना पत्रकार मारिएका छन् । कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा परी ती पत्रकार र मिडियाकर्मी मारिएका विश्वभरका पत्रकारको छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट (आईएफजे) ले जनाएको छ ।
आईएफजेले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार मारिनेमा १६ वटा मुलुकका पत्रकार छन् । सन् २०१९ को तुलनामा गत वर्ष १७ बढी पत्रकार मारिएका छन् । आईएफजेले सन् १९९० देखि विश्वभर मारिने पत्रकारबारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
तथ्यांक राख्न थालिएको उक्त वर्ष पनि ६५ जना पत्रकार नै मारिएका थिए । हालसम्मको तथ्यांक हेर्दा विश्वभर २ हजार ६ सय ८० जना पत्रकार मारिइसकेका छन् । ‘मेक्सिको, पाकिस्तान, अफगानिस्तान, सोमालिया, भारत, फिलिपिन्सलगायत मुलुकमा पत्रकार र मिडियाकर्मीमाथि ज्यानै जानेसम्मका घटना बढी भएको पाइएको छ,’ आईएफजे महासचिव एन्थोनी बेल्लंगरले भने । उनका अनुसार पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा मेक्सिको पत्रकारहरूका लागि सबैभन्दा असुरक्षित देखिएको छ । यस अवधिमा मेक्सिको चार पटकसम्म सबैभन्दा बढी पत्रकार हत्या हुने मुलुकको शीर्ष स्थानमा समेत रह्यो । गत वर्ष मात्रै त्यहाँ १४ जना पत्रकारको हत्या भएको छ । यहाँ धेरैजसो पत्रकार आपराधिक समूह र व्यक्तिको निसानामा पर्ने गरेको आईएफजेको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष अफगानिस्तानमा १० जना, पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४/४ जना, नाइजेरिया र यमनमा ३/३ जना पत्रकार मारिएका छन् । यसैगरी, इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्विडेनमा पनि पत्रकारको हत्या भएको छ ।
जनकपुर — मिथिला मध्यमा परिक्रमा शनिबारदेखि सुरु भएको छ । नेपाल र भारतको १ सय ३३ किलोमिटर भूभाग १५ दिनसम्म पैदलै घुम्ने धार्मिक महत्त्वको परिक्रमामा हजारौंको सहभागिता रहन्छ । सहभागीले जनकपुर अन्तरगृह परिक्रमा गरेको अर्को दिन जनकपुरमा होली पर्व मनाइन्छ ।
मिथिलाको मध्यमा परिक्रमामा सहभागी हुन ट्रयाक्टरमा आएका भक्तजन । तस्बिरः सन्तोष सिंह/कान्तिपुर
धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट शनिबार परिक्रमा प्रारम्भ भएको छ । रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै अपराह्न जनकपुरको रत्नसागर मन्दिर पुगेको छ । रत्नसागर मन्दिरमा खाना खाएर परिक्रमाका सहभागीहरू जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन् । आइतबार सूर्योदयलगत्तै परिक्रमाकर्मी भारतको कलानेश्वरका लागि प्रस्थान गर्नेछन् । जहाँबाट सोमबार विधिवत् परिक्रमा थालिएको मानिन्छ ।
परिक्रमाका सहभागी साधुसन्तसहित अन्य श्रद्धालुलाई धनुषाको कचुरीमा स्थानीयले हर्षपूर्वक बिदाइ गरेका थिए । परिक्रमाका सहभागीलाई बिहान दहीच्युरा खाजा खुवाइयो । परिक्रमाका सहभागीलाई घरघरबाट चामल, दाल, आलु, नुन, खुर्सानी, बेसार पनि प्रदान गरिन्छ । धनुषाको बेंगाबाट स्वागत गर्न जमुनिया आएका ८० वर्षीय दीपनारायण यादव आफू ५ दशकदेखि परिक्रमावासीलाई स्वागत गरिरहेको बताए । मिथिला विहारी मन्दिर कचुरीका महन्तको नेतृत्वमा सयौं साधुसन्त, महन्त तथा अन्य इच्छुक धार्मिक यात्रामा सहभागी छन् । फागुन चतुर्दशी अर्थात् शनिबारदेखि सुरु भएको परिक्रमा फागु पूर्णिमाको पूर्वसन्ध्यामा जनकपुर फर्किनेछ । फागु पूर्णिमाको बिहान जनकपुरको अन्तःगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।
१५ दिनसम्म चल्ने परिक्रमा यात्रा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमाकर्मी नेपालका १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटर पैदल यात्रा गर्छन् । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापित चार शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारीे महन्त रामरोशन दासले बताए । यात्रीहरू भारतको कलना, फूलगामा, करुणा र बिसौल तथा नेपालको धनुषा र महोत्तरीका गरी ११ स्थानमा राति विश्राम गर्छन् । उनीहरू महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः कलानेश्वर पुग्छन् । श्रद्धालुहरू विश्राम गर्ने ११ वटै स्थानको धार्मिक महत्त्व छ । फूलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मटिहानीमा विष्णुको प्रख्यात मन्दिर छ ।
कञ्चनवनमा राम र सीता फागु खेलेको किंवदन्ती छ । सीता स्वयम्बरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको र सतोषरमा सप्तऋषिको आश्रम रहेको विश्वास छ । परिक्रमाका सहभागीहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् । उनीहरूको सुविधाका लागि स्थानीयले अन्न, दाउरा तथा परिक्रमामा सहभागी गाई, गोरु, घोडाका लागि परालको बन्दोबस्त मिलाइदिन्छन् । सहभागीहरू दिनभरि यात्रा गर्छन् र राति भजनकीर्तन तथा सत्संग गरेर बिताउँछन् ।
नेपाल–भारतबीच धनुषाको जटही र इनर्वा तथा महोत्तरीको भिठामोड नाकामात्र खुला छ । तर परिक्रमाका सहभागी पारम्परिक रूपले धनुषाको बहुअर्वा–अकौरा नाकाबाट भारत छिर्ने तथा मधवापुर मटिहानी नाकाबाट पुनः नेपाल फिर्ता आउँछन् । परिक्रमाकर्मीहरू भारत प्रवेश गर्ने र फर्किने दुवै नाका औपचारिक रूपले खुला छैन । यसका साथै यात्रुवाहक बस, जिप, ट्र्याक्टर, गोरुगाडा, मोटरसाइकललगायत यातायातका साधन अझै पनि रोक्का छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानकुमार यादवले सीमानाकामा कुनै अवरोध नरहेको दाबी गरे । ‘म काठमाडौंमा छु । नाकामा केही समस्या परे भारतीय दूतावाससँग कुरा गर्छु,’ उनले फोनमा भने । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमानाकामा नेपालतर्फबाट कुनै अवरोध नरहे पनि भारतले सवारीसाधन आवागमनमा रोक यथावत् राखेको बताए । उनले भने, ‘यो दुई देशबीचको कुरा हो । हाम्रोतर्फ समस्या छैन । उताका बारेमा भन्न सकिने अवस्था भएन ।’