कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

बिहीबार गरिएका प्रदर्शनमा ८ को मृत्यु
एजेन्सी

यांगुन — म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो । 

सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता सुचीविरुद्ध लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । यद्यपि, उनीविरुद्धको आरोपसम्बन्धी कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । सुचीले करिब साढे ६ लाख बराबरको सुन स्वीकार गरेकी सहायक रथी ज मिन तुनको दाबी छ । तुनले राष्ट्रपति विन मिन्ट र कैयौं मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन् ।

यसअघि सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको, आयातसम्बन्धी कानुन उल्लंघन गरेको लगायतका ४ वटा मुद्दा लगाइसकिएको छ । सेनाले सत्ता हातमा लिएसँगै सुचीसहित उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का दर्जनौं नेताहरूलाई नियन्त्रणमा लिएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ । नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरेको तथा सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । बिहीबार गरिएको प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण कम्तीमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । योसँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या करिब ७० पुगेको छ । माइङ सहरमा बिहीबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि ६ जनाको मृत्यु भएको हो । ‘हामीले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौं,’ ३१ वर्षीय सहभागीले भने, ‘यस्तो घटना मलाई विश्वास नै लागिरहेको छैन ।’

त्यस्तै अर्का एक प्रदर्शनकारीको यांगुनमा ज्यान गएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरूमा म्यान्डले सहरमा प्रदर्शनकारीका टाउकाबाट रगत बगेको देखिन्छ । त्यहाँ अर्का एक प्रदर्शनकारीले ज्यान गुमाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै बिहीबार पनि देशका प्रमुख सहरहरूमा विरोध जनाएका छन् । यांगुन, म्यान्डले, नेइपिडअलगायत सहरमा हजारौंको संख्यामा प्रदर्शनकारीले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् ।

बिहीबारको प्रदर्शनअघि अधिकारवादी समूह ‘एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स’ ले फेब्रुअरी १ यताका प्रदर्शनमा मृत्यु हुनेको संख्या ६० नाघेको र २ हजारभन्दा बढी पक्राउ परेका जनाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । प्रदर्शन चर्केसँगै केही प्रहरी अधिकारीहरू म्यान्मारको पश्चिमी क्षेत्रबाट भागेर भारतको मिजोरम पुगेका छन् । सैनिक सरकारले प्रदर्शनकारीहरू नमरेसम्म गोली प्रहार गरिरहन आदेश दिएपछि आफूहरू भागेको प्रहरी अधिकारीको भनाइ छ ।

सैनिक सरकारले भने ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गर्दै आएको छ । भारतलाई पठाइएको एक पत्रमा ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारी म्यान्मार सरकारसमक्ष बुझाउन आग्रह गरिएको छ । सैनिक ‘कु’ विरोधी प्रदर्शन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×