कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्यारी र मेघनको आरोपबारे बेलायती राजदरबार गम्भीर

नवीन पोखरेल

लण्डन — बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कलले लगाएको आरोपलाई बेलायती राजदरबारले गम्भीर रूपमा लिएको जनाएको छ । ह्यारी र मेघनको अन्तर्वार्तामा राजपरिवारभित्रको रंगभेदको अवस्थाबारे रहस्य खुलेपछि यसबारे देश/विदेशमा ठूलो चर्चा भइरहेको छ । यसले बेलायती राजदरबारमा समेत तरंग पैदा गरेको छ ।

ह्यारी र मेघनको आरोपबारे बेलायती राजदरबार गम्भीर

मेघनले उठाएको राजपरिवारभित्रको रंगभेदसम्बन्धी विषयमा मुख खोल्दै राजदरबारले उनको आरोपलाई गम्भीर रूपमा लिएको र दुःखी बनेको जनाएको छ । राजपरिवारका सदस्यबाटै जातीय विभेदको आरोप लागेपछि राजदरबारलाई पनि प्रतिक्रिया जनाउन दबाब बढेको हो ।

अन्तर्वार्ताका क्रममा ह्यारी र मेघनले दिएका अभिव्यक्ति ‘चिन्ताजनक’ भन्दै बकिङ्घम दरबारले यो विषयलाई ‘गम्भीरतापूर्वक लिएको’ प्रस्ट पारेको हो । बेलायती महारानी एलिजावेथका तर्फबाट जारी विज्ञप्तिमा राजपरिवारमाथि लागेका आरोपलाई आफ्नै ढंगले सम्बोधन गरिने जनाइएको सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजपरिवारका शीर्ष सदस्यहरूको आपत्कालीन बैठकपछि दरबारले विज्ञप्ति जारी गरेको हो । बैठकमा राजपरिवारका वरिष्ठ सदस्यहरूको सहभागिता थियो । यसअघि मेघनले अमेरिकी टेलिभिजनकर्मी ओप्रा विन्फ्रीसँगको अन्तर्वार्तामा शाही परिवारका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कति कालो होला भनेर चिन्ता व्यक्त गरेको उल्लेख गरेकी थिइन् । मेघनले राजपरिवारका सदस्यबाटै आफूमाथि भएको अपमान र विभेदका कारण आत्महत्यासम्मको सोच बनाउन बाध्य बनेको बताएकी थिइन् ।

राजदरबारले भने मेघन र ह्यारीले गरेको भनिएको नमिठो अनुभवबारे दुःख व्यक्त गरेको छ । साथै, उनीहरू सधैं ‘राजपरिवारका प्यारा सदस्य’ रहिरहने पनि विज्ञप्तिमा उल्लेख छ । व्यक्तिगत कुरा खोतलिएको उक्त अन्तर्वार्तामा मेघनले सन् २०१८ मे महिनामा ह्यारीसँग विवाह भएपछि अवस्था बिग्रन सुरु भएको र सहयोग माग्दा पनि आफूले नपाएको बताएकी थिइन् ।

राजकुमार ह्यारीले आफू जिम्मेवारीबाट अलग्गिन चाहेको बताएपछि बाबु राजकुमार चार्ल्सले आफ्नो फोनसमेत उठाउन छाडेका बताएका थिए । ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजावेथ द्वितीयासँग भने सम्बन्ध साँच्चिकै राम्रो भएको र नियमित कुराकानी हुने बताएका थिए । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिएपछि ह्यारी र मेघन आफ्नो पहिलो बच्चासहित अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?