कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सेना फिर्ता भए तालिवान शक्तिशाली’

एजेन्सी

काबुल — अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिक फिर्ता गरिए तालिवानले पुनः सैन्य शक्ति आर्जन गर्न सक्ने अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले चेतावनी दिएका छन् ।

‘सेना फिर्ता भए तालिवान शक्तिशाली’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र तालिवान विद्रोहीबीच भएको सम्झौताअनुसार अप्रिल महिनाभित्र अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमत भएको थियो । तर अफगान राष्ट्रपति असरफ घानीलाई लेखेको पत्रमा ब्लिंकनले ‘भयानक आक्रमण’ हुन सक्ने चेतावनी दिएका छन् ।

सन् २००१ मा अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गर्दै तालिवानलाई सत्ताच्युत गरिदिएको थियो । २००१ को सेप्टेम्बर ११ मा अमेरिकाका वासिङटन र न्युयोर्कमा गरिएका आतंककारी आक्रमणको बदलामा अमेरिकी सेनाले अफगानिस्तानमा हमला गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत जनवरीमा ट्रम्प प्रशासन र तालिवानबीच भएको सम्झौताको पुनरावलोकन गर्ने बताएका थिए । उक्त सहमतिमा तालिवानले हिंसात्मक गतिविधि अन्त्य गर्ने र त्यसको बदलामा मे १ भित्र अमेरिकी नेतृत्वका १० हजार नेटो सैनिक फिर्ता गरिने उल्लेख छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले ‘अफगान विद्रोही समूह तालिवानले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने’ जनाएको छ । त्यसका साथै सैनिक फिर्ताअघि तालिवानले हिंसा त्याग्नुपर्ने र आतंकवादीहरूसँगको सम्बन्ध अन्त्य गर्नुपर्ने ह्वाइटहाउसको भनाइ छ ।

विदेशमन्त्री ब्लिंकनले लेखेको पत्रमा ‘९० दिनभित्र हिंसात्मक गतिविधि अन्त्य गर्न तथा राष्ट्रसंघको पर्यवेक्षणमा दिगो र विस्तृत युद्धविराम’ गर्न आह्वान गरेका बीबीसीले जनाएको छ । अफगानिस्तानको सुरक्षा अवस्था थप बिग्रन नदिन यो अत्यावश्यक भएको ब्लिंकनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?