कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आङ सान सुचीविरुद्ध थप दुई मुद्दा

भिडियोमार्फत अदालत पेस गरियो
एजेन्सी

यांगुन — म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध नयाँ मुद्दा लगाइएको छ । उनीविरुद्ध थप दुइटा मुद्दा लगाइएसँगै उनी सैनिक ‘कु’ पछि पहिलोपटक देखापरेकी छन् ।

आङ सान सुचीविरुद्ध थप दुई मुद्दा

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ । फेब्रुअरी १ को ‘कु’ सँगै सुचीलाई सैनिक सरकारले बन्धक बनाएको थियो ।

उनका एक वकिलले सुचीको स्वास्थ्य अवस्था राम्रो देखिएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । ‘मैले उहाँलाई भिडियोमा देखें । उहाँको स्वास्थ्य अवस्था राम्रो देखिन्थ्यो,’ उनका वकिल मिन मिन सोइले भने । त्यस क्रममा सुचीले वकिलसँग भेट्न आग्रह गरेकी थिइन् ।

सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने प्रकारको सूचना प्रकाशन रोक्नेसम्बन्धी उपनिवेशकालीन कानुनअनुसार मुद्दा चलाइएको हो । त्यसैगरी दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

म्यान्मारमा फेब्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् । प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण हालसम्म २१ जनाको ज्यान गइसकेको छ । आइतबार प्रहरीले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार कम्तीमा ३० जना घाइते भएका थिए ।

कार्यालयले शान्तिपूर्ण प्रदर्शनका क्रममा दमन गरिएको भन्दै सैनिक सरकारको भत्र्सना गरेको थियो । ‘शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जनतामाथि घातक हतियारको प्रयोग कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न । यो मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल छ,’ कार्यालयका प्रवक्ता रभिना सम्दासनीले भनेकी थिइन् ।

लोकतन्त्र पक्षधरहरूले सोमबार पनि यांगुन, दावेई, म्यान्डलेलगायत प्रमुख सहरहरूमा विरोध प्रदर्शन जारी राखेका जनाइएको छ । तर तुलनात्मक रूपमा सोमबारका प्रदर्शन केही शान्तिपूर्ण देखिएका बीबीसीले उल्लेख गरेको छ ।

सेना प्रमुख ह्लाइङले फरक मत राख्नेहरूप्रति सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको दाबी गर्दै आएका छन् । त्यस्तै सरकारले न्यून संख्यामा सुरक्षा फौज परिचालन गरेको उनको भनाइ छ । ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरिएको र सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?