कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा दोस्रो चरणको खोप अभियान

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतमा फागुन १७ देखि दोस्रो चरणको कोरोना संक्रमणविरुद्धको खोप अभियान सुरु हुने भएको छ । जसअन्तर्गत ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र जटिल रोगबाट पीडित ४५ वर्ष माथिकालाई खोप लगाइनेछ ।

भारतमा दोस्रो चरणको खोप अभियान

जटिल रोगअन्तर्गत क्यान्सर, मिर्गौला फेल भएका तथा मुटु रोग लागेकालाई समेटिने जनाइएको छ ।

दुवै समूहमा गरेर १० करोडभन्दा बढी नागरिक समेटिने छन् । सरकारी र निजी अस्पताल दुवैमा खोप उपलब्ध हुनेछ । यसका लागि १० हजार खोप केन्द्रहरू स्थापना गरिनेछन् । २० हजारभन्दा बढी निजी केन्द्रमा समेत खोप उपलब्ध हुने भारत सरकारले जनाएको छ । सरकारी खोप केन्द्रमा खोप निःशुल्क उपलब्ध हुनेछ भने निजी अस्पतालहरूमा भने शुल्क लाग्नेछ । कति शुल्क लाग्ने भन्ने तय भइसकेको छैन । यसबारे ३–४ दिनभित्रै निर्णय गरिने केन्द्रीयमन्त्री प्रकाश जावडेकरले बुधबार पत्रकार सम्मेलनमार्फत जनाए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसपटक प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रीहरूले समेत खोप लगाउने छन् । भारतले गत माघ ३ मा पहिलो चरणको खोप अभियान थालेको थियो । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरूलाई खोप लगाउने लक्ष्य राखिए पनि हालसम्म एक करोडभन्दा बढीले मात्र लगाएका छन् । आगामी जुलाई महिनासम्म २७ करोड जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । तर हालसम्मको प्रगति हेर्दा खोप अभियानमा लक्ष्यभन्दा निकै कम मानिस मात्रै सामेल भएका छन् ।

एकातिर खोपको लक्ष्य पूरा नहुनु र अर्कोतर्फ कोरोना संक्रमितको संख्या उकालो लाग्दै जानुले सरकारमाथि खोप अभियानलाई तीव्रता दिन दबाब परेको थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र थप १३ हजार ७ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । थप सय जनाभन्दा बढीको ज्यान गएको छ । महाराष्ट्र, केरला, छत्तिसगढ, मध्यप्रदेश र पन्जाब राज्यमा अझै पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । जसमध्ये महाराष्ट्र अधिक प्रभावित बनेको छ । विज्ञहरूले यसलाई संक्रमणको लहरसमेत हुन सक्ने भन्दै चेतावनी दिएका छन् । संक्रमितहरूको संख्या बढेसँगै दिल्ली सरकारले फागुन १५ पछि यी राज्यबाट दिल्ली आउनेहरूलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

खोपलाई लिएर आमजनतामा शंका–उपशंका रहेका कारण पनि अभियानको लक्ष्य पूरा नभएको बताइएको छ । त्यसलाई सम्बोधन गर्न दोस्रो चरणमा प्रधानमन्त्री र मन्त्रीहरूले खोप लगाउन लागेको अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७७ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?