कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय किसानले रोके ४ घण्टा रेल

एजेन्सी

नयाँदिल्ली — सरकारले ल्याएका कृषि कानुनको विरोधमा भारतीय किसानहरूले बिहीबार देशभरका रेलसेवा ४ घण्टा ठप्प पारेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार किसानहरूले पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगाललगायत राज्यमा बिहीबार १२ बजेदेखि ४ बजेसम्म रेलसेवा अवरुद्ध पारेका हुन् ।

भारतीय किसानले रोके ४ घण्टा रेल

कानुन फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले देशव्यापी रूपमा ‘रेल रोको’ आन्दोलन आयोजना गरिएको किसान संयुक्त किसान मोर्चाले बताएको छ । आन्दोलनका क्रममा देशभरका विभिन्न रेल स्टेसन तथा रेलमार्गमा किसानले प्रदर्शन गरेका थिए । ६ महिनादेखिको विरोधका क्रममा बिहीबार गरिएको आन्दोलन तेस्रो ठूलो भएको जनाइएको छ ।

बिहीबारको प्रदर्शन शान्तिपूर्ण भएको भारतीय रेलसेवाले जनाएको छ । ‘रेल रोको आन्दोलन कुनै अप्रिय घटनाबिना सकिएको छ । देशव्यापी भनिएको आन्दोलनका कम मात्रै असर पर्‍यो,’ भारतीय रेलसेवाले भनेको छ । रेलसेवा पूर्ववत् रूपमा सञ्चालनमा आइसकेको जनाइएको छ ।

यसअघि रेलवे सुरक्षा बलका महानिर्देशक अरुण कुमारले ‘आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा विरोध जनाउन’ आग्रह गरेका थिए । उनले पन्जाब, हरियाणा, उत्तरप्रदेश, मध्यप्रदेशलगायत राज्यमा थप सुरक्षाकर्मी परिचालन गरिएको बताएका थिए । किसान आन्दोलन कमिटीले शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रन किसानहरूलाई आग्रह गरेको थियो । भारतमा पछिल्लो समय किसान आन्दोलन चर्कँदै गएपछि नरेन्द्र मोदी सरकार आन्दोलनका समर्थकप्रति आक्रामक बनेको छ । त्यसै क्रममा शनिबार जलवायु अभियन्ता दिशा रविलाई पक्राउ गरिएको थियो । उनलाई दिल्ली प्रहरीले गृहनगर बैंग्लोरबाट पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिस्तरमा भारतको छवि बिगार्ने गरी ‘टुलकिट’ तयार पार्ने कार्यमा संलग्न भएको तथा त्यसको प्रचारप्रसारमा सघाएको आरोपमा उनलाई दिल्ली प्रहरीले पक्राउ गरेको हो । विश्व चर्चित पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले फेब्रुअरी ४ मा भारतको किसान आन्दोलनप्रति समर्थन जनाउँदै ‘टुलकिट’ सहितको डकुमेन्ट ट्वीट गरेकी थिइन् । पछि ग्रेटाले उक्त टुलकिट हटाएकी भए पनि त्यसलाई तयार पार्ने काममा सघाएकी भन्दै प्रहरीले रविलाई पक्राउ गरेको हो ।

दिल्ली प्रहरीले रविसँग सम्पर्क रहेको भन्दै वकिल निकिता जैकव र उनका सहयोगी शान्तनुका विरुद्ध वारेन्ट जारी गरिएको र उनीहरूको खोजी भइरहेको समेत जनाएको छ । भारत सरकारले गत सेप्टेम्बरमा ल्याएका

तीनटा कृषि कानुनको विरोधमा पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगाल राज्यका किसानहरू आन्दोलित भएका हुन् । किसानहरूले कानुन फिर्ता हुनुपर्ने माग राखेका छन् ।


प्रकाशित : फाल्गुन ७, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?