कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वका १० मुलुकसँग ७५ प्रतिशत कोरोना खोप : महासचिव गुटेरस

‘कोरोना खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा’
इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना भाइरसविरुद्धको खोपको असमान वितरण भइरहेको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कडा आलोचना गरेका छन् । 

विश्‍वका १० मुलुकसँग ७५ प्रतिशत कोरोना खोप : महासचिव गुटेरस

महासचिव गुटेरसले कोरोनाविरुद्धको खोप अभियान असमान र अनुचित भएको भन्दै आलोचना गरेका हुन् । उनले कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशले नियन्त्रण गरेको बताएका छन् ।

बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले भने, ‘विश्वमा अहिले पनि १३० मुलुक यस्ता छन्, जहाँ अहिलेसम्म कोरोनाको एक डोज खोप उपलब्ध गराइएको छैन ।’ उनले कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा भएको बताए ।

महासचिव गुटेरसले आपत्कालीन खोप अभियान सबै मिलेर सुरु गर्नुपर्नेमा पनि जोड दिएका छन् । खोपको समान वितरण सुनिश्चित गर्न पनि विश्व समुदायलाई उनले अनुरोध गरेका छन् । जी–२० का ठूला अर्थतन्त्र भएका मुलुकहरूले खोप अभियानका लागि एउटा आपत्कालीन टास्क फोर्स गठन गर्नुपर्ने पनि उनले बताए । त्यस्तो टास्क फोर्समा औषधि निर्माता कम्पनीलाई समेट्न र विश्वका सात ठूला औद्योगिक देशले यसमा स्रोत जुटाउनपर्नेमा पनि महासचिव गुटेरसले जोड दिएका छन् ।

सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका बेलायतका विदेशमन्त्री डोमिनिक राबले संघर्ष जारी रहेका क्षेत्रमा युद्धविराम गराइएमा खोप पुऱ्याउन कुनै समस्या नरहेको बताएका छन् । बेलायतले करिब १६ करोड मानिस खोप अभियानको दायराबाट बाहिर रहने अवस्था रहेको बताएको छ । कुनै न कुनै रुपको हिंसात्मक गतिविधिका कारण विश्वका विभिन्न क्षेत्रका १६ करोड मानिस खोप अभियानबाट वञ्चित हुन सक्ने देखिएको हो । यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपियाजस्ता मुलुकमा द्वन्द्व जारी रहेकाले खोप अभियानमा चुनौती देखापर्ने सम्भावना रहेको हो ।

ब्लूमबर्ग भ्याक्सिन ट्रयाकरको तथ्यांकअनुसार अहिलेसम्म विश्वका विभिन्न ८२ देशमा कोरोना खोप लगाउन सुरु गरिएको छ । इतिहासकै सबैभन्दा ठूलो खोप अभियानका रुपमा रहेको कोरोना खोप अहिलेसम्म करिब १८ करोड मानिसलाई लगाइएको छ । अमेरिकामा मात्रै ५ करोड ७० लाख डोज लगाइएको ब्लूमबर्गको तथ्यांकले देखाएको छ ।

फाइजर–बायोएनटेक, मोडर्ना, एस्ट्राजेनेका–अक्सफोर्ड, गामालेय, र सिनोभ्याकलगायतका कम्पनीले बनाएको कोरोना खोप अहिले प्रयोगमा ल्याइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?