कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

ट्रम्पले घटनाका लागि ‘प्रमुख उत्तेजक’ को भूमिका निर्वाह गरेका सिनेटहरूको दाबी
एजेन्सी

वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटरहरुले ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धी नयाँ भिडियोहरु देखाएका छन् ।

अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

ट्रम्प समर्थकहरुले जनवरी ६ मा वासिङ्टनस्थित अमेरिकी संसद् भवनमा आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए ।

आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएका’ भन्दै उनीविरुद्ध महाभियोग लगाउनुपर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरिसकेको छ ।

ट्रम्प समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरु भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय जनाभन्दा बढीलाई मुद्दा चलाइएको अधिकारीहरुले जनाएका छन् ।

डेमोक्रेट सिनेटरहरुले बिहीबार सिनटेमा देखाएको भिडियोमा एक पुरुषले सुरक्षाकवच लगाएका र अर्का एक जनाले वरिष्ठ डेमोक्रयाट नेतृ नान्सी पेलोसीलाई खोजिरहेको देखिन्छ । ट्रम्प समर्थकहरुको भीड संसद् भवनभित्र पस्न खोज्दा प्रहरीहरू आत्तिएको रेडियो सन्देश पनि सिनेटमा सुनाइएको छ ।

त्यस्तै, सिनेटरहरूले पेस गरेको अर्को भिडियोमा आक्रमणकारीले ‘उनलाई झुन्डाऊ’ भन्ने नारा लगाएका सुनिन्छ । ट्रम्प समर्थकहरुले उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गर्दै नाराबाजी गरेपछि पेन्स र उनको परिवारलाई सुरक्षित स्थानतिर लगिएको भिडियोमा देख्न सकिन्छ । अमेरिकामा नोभेम्बर ६ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्प विजयी भएको प्रमाणीकरण गर्न पेन्सले अस्वीकार गरिदिएका थिए ।

त्यस्तै मोबाइलबाट खिचिएको एक भिडियोमा ट्रम्पकी एक समर्थकलाई गोली लागेर मृत्यु भएको देखिन्छ । अर्को भिडियोमा एक सुरक्षाकर्मी भिडमा च्यापिएपछि चिच्याएको सुनिन्छ ।

ट्रम्पको एक दिनको भाषणले मात्र आक्रमण नभएको डेमोक्रेट सिनेटरहरुको भनाइ छ । उनीहरुले पदासीन राष्ट्रपति ट्रम्पले घटनाका लागि ‘प्रमुख उत्तेजक’ को भूमिका निर्वाह गरेको दाबी गरेका छन् । सुनुवाइका क्रममा संसद्मा भएको घटना रोक्न असफल भएको भन्दै ट्रम्पको कडा आलोचना गरिएको छ ।

यसअघि सिनेटले ट्रम्पविरुद्ध महाभियोग संवैधानिक रहेको भन्दै सुनुवाइ जारी राख्ने पक्षमा मतदान गरेको थियो । बुधबार भएको मतदानमा सुनुवाइ जारी राख्ने पक्षमा ५६ र विपक्षमा ४४ मत परेका थियो । ट्रम्पको दल रिपब्लिकनका ६ जना सिनेटर पनि सुनुवाइ जारी राख्नुपर्ने पक्षमा उभिएका थिए । तर उनीहरु अन्तिम मतदानमा सहभागी हुने/नहुनेबारे प्रस्ट भइसकेको छैन ।

ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित हुन भने सिनेटको दुई तिहाइ मत आवश्यक पर्दछ । एक सय सदस्यीय अमेरिकी सिनेटमा हाल डेमोक्रेट र रिपब्लिकन पार्टीका ५०/५० सदस्य छन् ।

प्रकाशित : माघ ३०, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?