कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी अर्थमन्त्रीमा येलेन

एजेन्सी

वासिङ्टन — अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनीत जेनेट येलेनलाई अनुमोदन गरेको छ । योसँगै अमेरिकामा पहिलोपटक महिला अर्थमन्त्री भएकी छन् ।

अमेरिकी अर्थमन्त्रीमा येलेन

अर्थमन्त्री येलेनमाथि कोरोना भाइरससँग सम्बन्धित बृहत् राहत प्याकेज तल्लो सदन कंग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।

सिनेटको वित्त समितिमा भएको सुनुवाइका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकी थिइन् । राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्युन गर्न भन्दै १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेज प्रस्ताव गरेका छन् ।

येलेन सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको नेतृत्व गरेकी थिइन् । उनी उक्त पदमा पुग्ने पहिलो महिला हुन् । त्यसैगरी उनले यसअघि ह्वाइटहाउसको आर्थिक सल्लाहकार परिषद्मा रहेर पनि काम गरेको अनुभव छ ।

राष्ट्रपति बाइडेनले सोमबार राहत योजना अघि बढाउँदा अमेरिकी कंग्रेसका दुवै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका थिए । उनले हाल लगानी नगरे कोरोनाबाट उत्पन्न आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने दाबी गरेका थिए । ‘लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन,’ बाइडेनको भनाइ छ ।

सिनेटमा भएको सुनुवाइका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन बाइडेनले ‘अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री भएको जनाउँदै हालको विषम परिस्थितिमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न उपयुक्त र योग्य रहेकी’ बताए ।

रिपब्लिकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले येलेनको अनुमोदनलाई समर्थन गरेका थिए । यद्यपि, रिपब्लिकन दलका एक दर्जनभन्दा बढी सदस्यले उक्त प्रस्तावप्रति विरोध जनाएका थिए ।

अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या अढाइ करोड पुगिसकेको छ । संक्रमितमध्ये ४ लाख २५ हजारभन्दा बढीको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?