कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले खोले फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय

एजेन्सी

पाल्म बिच — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् ।

ट्रम्पले खोले फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय

फ्लोरिडाको पाल्म बिचमा मंगलबार उनले कार्यालय स्थापना गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘कार्यालयबाट ट्रम्पले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरू सञ्चालन हुने’ उनका सहयोगीहरूले जनाएका छन् ।

कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायत कार्य हुने पनि ट्रम्पका सहयोगीहरूको भनाइ छ । त्यसैगरी, ट्रम्प कार्यकालमा भए/गरेका कार्यहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि कार्यालयबाट गतिविधिहरू सञ्चालन हुने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेका कार्यप्रति टिप्पणी गर्ने र त्यसविरुद्ध जनमत जुटाउने रणनीतिसमेत कार्यालयले अपनाउने अनुमान गरिएको छ । ‘राष्ट्रपति ट्रम्प सधैं अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको नयाँ कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

ट्रम्पको पछिल्लो कदम राष्ट्रपतीय निर्वाचनमा पुन: उम्मेदवार बन्न सक्ने विषयसँग जोडेर हेरिएको छ । यद्यपि, उनका सल्लाहकार तथा सहयोगीहरूले भने यसबारे प्रस्ट पारिसकेका छैनन् । जनवरी २० मा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि ट्रम्प मंगलबारसम्म मौन रहेका थिए । ह्वाइटहाउस छाड्न बाध्य भए पनि ट्रम्पले पूर्वराष्ट्रपतिका रूपमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेल्ने अनुमान कतिपयको छ ।

ट्रम्पले अमेरिकी संसद्‍मा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि सामाजिक सञ्जाल ट्वीटरले उनको खाता बन्द गरिदिएको थियो । राष्ट्रपतीय कार्यकालमा ट्रम्पले बारम्बार विवादास्पद ट्वीट गर्ने गरेका थिए ।

प्रकाशित : माघ १४, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?