कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

५ करोड ५३ लाखभन्दा संक्रमणमुक्त, २१ लाखभन्दा बढीको मृत्यु

काठमाडौँ — विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । पछिल्ला दिनमा बेलायतलगायत युरोपेली मुलुकमा तीव्र रुपमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिइरहेकाले पनि संक्रमितको संख्या बढिरहेको छ । 

विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

यो समाचार तयार पार्दासम्म जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड २ लाख २१ हजारभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २१ लाख ५५ हजारभन्दा बढी पुगेको छ भने करिब ५ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २५ प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या करिब २ करोड ५४ लाख पुगेको छ । अमेरिकामा कोरोनाबाट ४ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना संक्रमणका हिसाबले विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या १ करोड ६ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट १ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोड ३ लाखभन्दा बढी निको भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले करिब एक वर्षमै १० करोडलाई संक्रमित बनाएको हो । गत वर्षको अप्रिलमा संक्रमितको संख्या १० लाख पुगेको थियो । त्यस्तै जुन २८ मा त्यो संख्या बढेर १ करोड पुगेको थियो । त्यस्तै नोभेम्बर ७ मा विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको थियो । करिब तीन हप्ताअघि जनवरी १० मा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको थियो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि विश्वका विभिन्न देशमा खोप कार्यक्रम भइरहेको छ । नेपालमै पनि बुधबारदेखि कोरोना खोप कार्यक्रम सुरु हुँदैछ । अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।

त्यसैले डब्लूएचओले गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको बताएको छ । डब्लूएचओले गरिब मुलुकलाई प्राथमिकतामा नराखी कोरोनाविरुद्धको लडाइँ नजितिने चेतावनी दिएको छ ।

प्रकाशित : माघ १४, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?