अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकामा एकैदिन २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सोमबार कोरोनाका कारण थप १ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २ करोड २६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला ७ दिनमा अमेरिकामा लगातार २ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो हप्तामा मात्रै अमेरिकामा १७ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको र करिब २० हजारको मृत्यु भएको सीएनएनले जनाएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड ९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ३ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस २८, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

मोडर्नाको दाबी : कोरोना खोपले कम्तीमा एक वर्ष काम गर्छ

इकान्तिपुर डेस्क

काठमाडौँ — बायोटेक्नोलोजी कम्पनी मोडर्नाले आफूले बनाएको कोरोना खोपले कम्तीमा एक वर्षका लागि काम गर्ने बताएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए)ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएका दुईवटा कोरोना खोपमध्ये मोडर्ना पनि एक हो ।

एफडीएले मोडर्नासँगै फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपलाई पनि अनुमति दिएको छ ।

‘हाम्रो आशा खोपले कम्तीमा एक वर्षका लागि काम गर्छ भन्ने हो,’ सोमबार जेपी मोर्गन हेल्थकेयर कन्फरेन्समा मोडर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले भने । यदि खोपको बुस्टका रुपमा तेस्रो डोज दिनुपरेमा पनि त्यसबारेमा तयारी गर्ने उनले बताए । अहिले एक महिनाको अन्तरालमा खोपको दुई डोज दिइने गरेको छ । केही महिनाअघि मात्रै विकास गरिएकाले पनि यी खोपले कति समयसम्म काम गर्छ भनेर चिकित्सकहरुले यकिन गर्न सकेका छैन ।

त्यस्तै कम्पनीले एमआरएनए प्रविधिमा बनाइएको खोप केही देशमा फैलिएको नयाँ स्वरूपको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने दाबी गरेको छ । मोडर्नाले डिसेम्बरमै कोरोनाका जुनसुकै स्वरूपमा पनि आफूले ट्रायल गर्ने बताएको थियो ।

कम्पनीले सन् २०२१ मा करिब एक अर्ब डोज खोप उत्पादन गर्ने बताएको छ । मोडर्नाले अमेरिकासहित क्यानडा र इजरायलमा पनि प्रयोगका लागि अनुमति पाएको छ । इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ ।

मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो । युरोपेली युनियन, सिंगापुर, स्विजरल्यान्डका साथै बेलायतलमा पनि यसको प्रयोगका लागि समीक्षा भइरहेको छ ।

करिब ३० हजार जनामा चिकित्सकीय परीक्षण गरिएको मोडर्नाको कारोना खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको थियो । यसको एक मात्राको २५ देखि ३७ अमेरिकी डलरसम्म पर्ने बताइएको छ । मोर्डनाको कोरोना खोप भण्डारण र ओसारपसार गर्नका लागि कम्तीमा माइनस २० डिग्री सेल्सियस तापक्रम चाहिने बताइएको छ । उक्त तापक्रममा ६ महिनासम्म कोरोना खोप सुरक्षित रहनेछ ।

यसैबीच विभिन्‍न कोरोना खोपहरू विकास भइरहे पनि सन् २०२१ मा सामूहिक प्रतिरक्षा (हर्ड इम्युनिटी) को विकास नहुने डब्लूएचओले जनाएको छ । सबैभन्दा पहिले बेलायतबाट सुरु भएको कोरोना खोप कार्यक्रम अहिले विश्वका करिब ३० देशमा चलिरहेको छ ।

'सन् २०२१ मा हामीले कुनै पनि तहमा जानसांख्यिक प्रतिरक्षा र सामूहिक प्रतिरक्षा हासिल गर्न सक्दैनौं,' डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले जेनेभामा सोमबार आयोजति पत्रकार सम्मलेनमा भनिन्, 'यदि विश्वका केही देशका केही भागमा यस्तो सफलता हात परे पनि यसले विश्वका सबै नागरिकको प्रतिरक्षा भने गर्न सक्दैन ।'

स्वामिनाथनले सरकारहरू र नागरिकलाई भौतिक दूरी कायम गर्न, मास्क लगाउन र नियमित रुपमा हात धुने कुरालाई निरन्तरता दिन पनि जोड दिइन् ।

प्रकाशित : पुस २८, २०७७ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×