अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकामा एकैदिन २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सोमबार कोरोनाका कारण थप १ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २ करोड २६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला ७ दिनमा अमेरिकामा लगातार २ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो हप्तामा मात्रै अमेरिकामा १७ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको र करिब २० हजारको मृत्यु भएको सीएनएनले जनाएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड ९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ३ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस २८, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

बैंकको एटीएम फुटाउने पक्राउ

कान्तिपुर संवाददाता

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका छन् । मन्सुरीले आइतबार साँझ ७ बजेतिर एनआइसी एसियाको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार एटीएम फुटाएपनि नगद भने निकाल्न नसकेपछि उनी फरार रहेका थिए । बैंकको एटीएम भएको स्थानमा जडान गरेको सीसीटिभी क्यामेराको फुटेज हेरेर चोरीमा संलग्नको खोजी गर्दा धरान–१८स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रबाट मन्सुरीलाई फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मन्सुरी यसअघि गाउँमै पनि चोरी घटनामा पटकपटक पक्राउ परेका थिए । उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रकाशित : पुस २८, २०७७ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×