कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौँ — प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् ।

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् । ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।

अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए ।

यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै यसको टेस्लाको बजार मूल्य ७ सय बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै टेस्लाको बजार मूल्य अन्य कार निर्माता कम्पनीहरु टोयोटा, फोल्क्सवागन, ह्युन्डाई, जीएम र फोर्ड सबैको मिलाउँदा हुने भन्दा पनि बढी पुगेको छ । आफू विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेको समाचार सार्वजनिक भएपछि मस्कले ‘कस्तो अचम्म’ भन्दै प्रतिक्रिया दिएका छन् ।

केही समय पहिले मस्कले आफूले आधा सम्पत्ति पृथ्वीका समस्या समाधान गर्न र आधार सम्पत्ति मंगल ग्रहमा आत्मनिर्भर सहर स्थापनाका लागि खर्चने बताएका थिए । उनले कथम्कदाचित् डायनोसरजस्ता उल्का ठोक्किएर पृथ्वी तहसनहस भए वा तेस्रो विश्वयुद्धका कारण केही भएमा मानव जीवनलाई निरन्तरता दिन मंगल ग्रहमा बस्ती बसाल्ने महत्वाकांक्षी योजना उपयुक्त हुने उनले दाबी गरेका थिए ।

त्यस्तै विश्वका धनी व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा माइक्रोसफ्टका सञ्चालक बिल गेट्स रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।

विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूची यस्तो छ

प्रकाशित : पुस २४, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?