कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

खोप कार्यक्रम सुरु भएको केही दिनमा छिमेकी मुलुकमा निर्यात गरिन्छ : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली — भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो ।

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

यसअघि खोप अभियानको पूर्वतयारी स्वरूप दुई चरणमा गरेर ‘ड्राई रन’ गरिएको थियो । खोप अभियानका तयारीको यथार्थ अवस्था थाहा पाउन उक्त ड्राई रन चलाइएको थियो । उक्त ड्राई रन सफल भएपछि भारत सरकारले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारत सरकारले आगामी जुलाईसम्म ३० करोडलाई खोप लगाउने घोषणा पहिले नै गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा भने कोरोना भाइरसविरुद्धको खोप देशभरि नै नि:शुल्क उपलब्ध हुने जनाइएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारी विरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । बाँकी २७ करोडका सम्बन्धमा भने पछि निर्णय लिने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अधिकारीका अनुसार भारतमा खोप अभियान सुरु भएको १५ दिनभित्र दक्षिण एसियाली मुलुकमा निर्यात गरिनेछ । भारतीय विदेश मन्त्रालयका अधिकारीले बीबीसीसँगको कुराकानीमा छिमेकी मुलुकमा कोरोना खोप उपहारस्वरुप र बाँकी बिक्री गरिने बताएका छन् । खोपको मूल्य भारत सरकारले किन्दा परेको जति नै पर्ने पनि ती अधिकारीले बताएका छन् ।

सोमबार सेरम इन्स्टिच्युटका सीईओ आदर पुनावालाले भारत सरकारलाई पहिलो चरणमा प्रतिडोज २ सय भारतीय रुपैयाँमा १० करोड डोज कोरोना खोप उपलब्ध गराउने बताएका थिए । भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने समाचार प्रकाशित भएपछि छिमेकी मुलुकहरु नेपाल, बंगलादेशलगायततका देशमा चिन्ता व्यक्त गरिएको थियो । रोयटर्सका अनुसार बंगलादेशले सेरमसँग पहिलो चरणमा ३ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । नेपाल सरकारले भने भारत सरकार र खोप निर्यात कम्पनीसँग खोप आयातका बारेमा कुराकानी भइरहेको जनाएको छ । नेपालमा कहिलेसम्म खोप आयात हुन्छ भन्ने टुंगो छैन।

यसैबीच, आपत्कालीन प्रयोगको अनुमति पाएका खोप उत्पादक सेरम र भारत बायोटेकले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै खोपको प्रभावकारिता र विदेश निर्यातका सम्बन्धमा सार्वजनिक भएको विवाद र आंशकालाई चिर्ने प्रयास गरेका छन् । वक्तव्यमा दुवै कम्पनी भारत र पूरै विश्वका लागि आवश्यक पर्ने खोप उत्पादनका लागि प्रतिबद्ध रहेको जनाइएको छ ।

त्यसैगरी आपत्कालीन अनुमति पाएसँगै कम्पनीको ध्यान आवश्यक मानिसले उच्च गुणस्तरीय, सुरक्षित र प्रभावकारी खोप लगाउन पाउन भन्ने उद्देश्यसहित उत्पादन, आपूर्ति र वितरणमा केन्द्रित रहेको वक्तव्यमा उल्लेख गरिएको छ । साथै कोरोना खोपलाई विश्वव्यापी रूपमा उपलब्ध गराउने पनि दुवै कम्पनीले संयुक्त घोषणा गरेका छन् ।

यसअघि भारत बायोटेकद्वारा उत्पादित खोपले तेस्रो चरणको क्लिनिल ट्रायल सम्पन्न नगरेको भन्दै त्यसको प्रभावकारितालाई लिएर विवाद सिर्जना भएको थियो । उक्त विवादमा सेरम र बायोटेक दुवै तानिएका थिए । सोही विवादलाई साम्य पार्न दुवै कम्पनीले संयुक्त वक्तव्य निकालेको बुझिएको छ ।

प्रकाशित : पुस २२, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?