अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा बस्दिनँ : भीम रावल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा बस्दिनँ : भीम रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटीबाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए । उनले महाधिवेशनको मतपरिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित : मंसिर १४, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले महाधिवेशन : सुरु भयो मतगणना, २ घण्टामा परिणाम

कान्तिपुर संवाददाता

काठमाडौँ — सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएपछि केहीबेर अघिदेखि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भएको जानकारी दिए । 

बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×