म बिग बासमा जानु नेपाली खेलाडीका लागि पनि अवसर हो : सन्दीप- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म बिग बासमा जानु नेपाली खेलाडीका लागि पनि अवसर हो : सन्दीप

कान्तिपुर संवाददाता

काठमाडौँ — सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्न बुधबार अस्ट्रेलिया जाँदै छन् । गत वर्ष बिग बास खेलेयता उनले ग्लोबल क्रिकेट खेलेका थिएनन् । बिग बासबाटै उनी ग्लोबल क्रिकेटमा फर्किंदै छन् ।

फेब्रुअरीमा नेपालबाट ट्वान्टी–२० विश्वकप छनोट खेल्नुअघिसम्म उनी अस्ट्रेलियामै रहनेछन् । सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्दै छन् । गत सिजन पनि यही फ्रेन्चाइज टोलीबाट खेलेका सन्दीपले बिग बासमा लगातार चौथो सिजन खेल्न लागेका हुन् । पहिलो २०१८/१९ र २०१९/२० उनले मेलबर्न स्टार्सबाट खेलेका थिए ।बिग बास खेल्न एकदमै उत्साहित छु, मलाई फेरि एउटा अवसर आएको छ । म त्यहाँ गएर राम्रो खेल्ने हो भने नेपाली खेलाडीका लागि पनि अवसर हुनसक्छ । हालैको स्थिति हेर्ने हो भने नेपाली खेलाडीलाई मौका खुम्चिँदै गएको अवस्थामा मेरो उपस्थितिले थप उत्साह दिने छ,’ सन्दीपले भने ।

उनले बिग बासमा प्रतिस्पर्धा गर्नु निकै चुनौती भए पनि आफूले कहिल्यै प्रतियोगितात्मक हिसाबमा नहेरेको बताए । ‘म जहिल्यै पनि त्यहाँ गएर खेल्दा रमाउने गरेको छु । प्रतिस्पर्धा गर्नु छ भने आफैंसँग गर्ने हो, हिजो के थियो र आज के छ भनेर,’ सन्दीपले कान्तिपुरसँग भने, ‘जहिल्यै पनि केही नयाँ सिक्न चाहन्छु । यो खेल नै यस्तो हो, जुन हरेक दिन सिकिरहनुपर्छ । मैले त्यहाँ केही नयाँ सिकेर आएँ भने लगत्तै नेपालको ट्वान्टी–२० ग्लोबल छनोट र विश्वकप लिग २ का खेलहरूमा उपयोग गर्नेछु ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

जनगणना-२०७८ : जन्ममिति र बिहेको उमेरमा अनभिज्ञता

कान्तिपुर संवाददाता

कञ्चनपुर — जन्म मिति, विवाह हुँदाको उमेर र जातजाति जनगणनाका क्रममा सोधिने मुख्य प्रश्न हुन् । तर कतिपयले यसबारे भने अनभिज्ञता प्रकट गर्ने गरेका छन् । जन्म मिति सोध्दा चुनाव भएका बेला वा राजा आएका बेलालगायत उत्तर आउने गरेका छन् । विवाह भएको मितिबारे सोध्दा पनि सानैमा गरेको वा बाढी आएको वर्ष गरेको जस्ता उत्तर आउने गरेका गणकहरूको भनाइ छ । 

खासगरी ग्रामीण भेगमा निरक्षर व्यक्तिहरू मात्रै घरमा रहेको अवस्थामा यस्तो समस्या आउने गरेको छ । जसका कारण प्रश्नावली भर्न ढिलो मात्रै हुँदैन, वास्तविक मिति नै थाहा नहुने अवस्थासमेत आउँछ । ‘विवाह हुँदाको उमेरबारे सोध्दा धेरैले सानैमा भएको बताउँछन्,’ कञ्चनपुरको बेलौरी नगरपालिका–७ का गणक अनिल चौधरीले भने, ‘ठिक्क उमेर बताउन सक्ने निकै कम भेटिन्छन् ।’

उनका अनुसार कतिपयले जातजातिका विषयमा पनि बताउन सक्दैनन् । जसका कारण जनगणनाका प्रश्नावली भर्न निकै समस्या हुने गरेको छ । चौधरी बेलौरी नगरपालिका–७ कै स्थायी बासिन्दा हुन् । उनको वडामा थारू समुदायसँगै पहाडी र राना थारू समुदायको बसोबास छ । स्थानीय भएका कारण अलिअलि सबै भाषा बुझे पनि कतिपय विषयमा सबै कुरा बुझाउन समस्या हुने गरेको उनले बताए । ‘सुरुमा रानाथारू र पहाडी समुदायमा कुरा बुझाउन केही समस्या भयो,’ चौधरीले भने, ‘एक/दुई दिनपछि भने सहज हुन थाल्यो ।’ उनको गणना क्षेत्र वडा ७ को क्षेत्र ३ हो । उक्त क्षेत्रमा उनले गणना गर्नुपर्ने २ सय ११ परिवारमध्ये २/३ परिवारको मात्रै गणना गर्न बाँकी छ ।

राना थारू र डगौरा थारू समुदायमा परिवार निकै ठूलो हुन्छ । विगतमा एक/डेढ सयसम्म सदस्यहरू एउटा घरमा बसोबास गर्ने भए पनि हालका वर्षमा परिवार संख्या कम हुँदै गएको छ । चौधरीले एउटा घरमा ३० जनासम्म सदस्य भेटिएको बताए । घरमा प्रश्नावली भर्न दुई घण्टासम्म लागेको उनले बताए ।

लालझाडी गाउँपालिका–४ की गणक धनाकुमारी धानुकलाई जनगणनाबारे सम्झाउनै मुस्किल हुन्छ । जनगणनाको प्रश्नावली बोकेर घरघर पुग्दा उनलाई भोट माग्न आएको समेत भन्ने गरेका छन् । ‘भोट माग्न आएको भन्दै झर्केर बोल्ने गर्छन्,’ धानुकले भनिन्, ‘धेरैबेर सम्झाएपछि विवरण बताउन तयार हुन्छन् ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×