कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माटाका भाँडामा तन्नेरी मोह

दिपेन्द्र रोक्का

काठमाडौँ — तिहार लागेसँगै भक्तपुरका माटाका भाँडा व्यवसायीलाई यतिबेला भ्याईनभ्याई छ । तिहारअघि नै बजारमा माटाका पालाको माग अन्य समय भन्दा धेरै हुन्छ । त्यसो त उज्यालोका लागि प्रयोग गरिने माटाका पालालाई विद्युतीय बत्तीले विस्थापित नगरेको होइन । तर, पोटरी स्क्वायरमा माटोका भाँडा बनाउने व्यवसायी विनोदकुमार प्रजापतिका अनुसार देवी–देवतालाई पूजा गर्दा मानिसहरू माटोको पाला नै रोज्ने बताउँछन् । उनका अनुसार आगोमा पोलेको पाला भन्दा पनि नपोलेको पालाको माग चाडपर्वमा बढी हुने गर्दछ । 'धार्मिक हिसाबले हेर्दा पनि काँचो पाला बढी चोखो मानिन्छ, ' उनले भने ।

माटाका भाँडामा तन्नेरी मोह

उमेरले ८८ वर्ष नाघेका दुर्गाप्रसाद प्रजापतिका अनुसार भक्तपुरको पोटरी स्क्वायर ४०० वर्ष भन्दा पनि पुरानो हो । बदलिँदो समयसँगै पोटरी स्क्वायरको गति पनि फेरिएको उनी बताउँछन् । उनीहरुको समयमा अहिलेको जस्तो विद्युतीय चक्र थिएन । पोटरी स्क्वायरमा मात्रै १६ वटा चक्र हातले घुमाइन्थ्यो । धेरै विदेशी पर्यटकहरू यहाँ घुम्न आउँथे । उनीहरूले काम गरेको फोटो खिच्थे । 'काम गर्न पनि भ्याईनभ्याई हुन्थ्यो । घरका सदस्यलाई माटो मुछ्न सघाउँथे । अहिलेको जस्तो पढाई हुँदैनथ्यो । यसो मौका मिलाएर खेल्न भाग्यो भने गाली खाइन्थ्यो ।'

पछि उनले नै यो पेशा समाले । विभिन्न किसिमका माटाका भाँडाहरु बन्थे त्यसबेला । जुन अहिले बजारबाट विस्थापित भइसकेका छन् । उनले सम्झने माटाका भाँडाको बजारीकरण पनि फरक छ । पहिलेपहिले उनीहरूले बनाएका माटाका भाँडा बिक्रीका लागि बोकेर उपत्यकाका विभिन्न गाउँमा पुर्‍याउँथे । पैसा या धानसँग किनबेच गरिन्थ्यो । अलि जाँगरिला कुमालेहरू उपत्यका बाहिर लगेर पनि बिक्री गर्दथे ।

भाँडा बनाउनका लागि आवश्यक पर्ने माटो पनि भक्तपुर वरिपरि प्रशस्त मात्रमा पाइन्थ्यो । बोकेर लिन जान पर्थ्यो । अहिले गाडीलाई एकचोटि फोन गर्‍यो भने ल्याउन सकिन्छ । तर माटोको भने अभाव छ अहिले । बढ्दो सहरीकरणले गर्दा माटो पाइँदैन । आजभोलि पाइहाले पनि राम्रो खाले माटो नुहने र एक ट्रिप गाडीमा लिएर आएको माटो त आधा भन्दा धेरै नराम्रो नै भेटिने उनी सुनाउँछन् । उनीहरूको पुर्ख्योली पेशा अहिले नाति सृजन प्रजापतिले सम्हालिरहेका छन्।

सृजन अहिले २६ वर्षका भए । उनको बाल्यकाल पनि हजुरबुबाको जस्तै परिवारका सदस्यलाई माटोका भाँडा बनाउन सघाएरै बित्यो । उनलाई बाल्यकालमा यही पेशा अँगाल्छु भन्ने लागेको थिएन तर आफ्नो बुबाको दुर्घटना भएपछि र हजुरबुबाको बुढ्यौली उमेर देखेर यो पुर्ख्योली व्यवसाय रोज्न बाध्य भएको बताउँछन् । उनका दाईहरु पनि यही पेशामा छन् अहिले । बाजेले गर्ने व्यवसाय र उनीहरूले गर्ने व्यवसायमा धेरै अन्तर आएको छ । बनाउने तरिकादेखि भाँडा–कुँडा फेरिएका छन् । भाँडा पोल्ने तरिका फेरिएको छ र त्यो भन्दा पनी धेरै यो पेशामा युवाको आकर्षण बढ्दो छ । सृजनले अहिले माटाका भाँडा बनाउने बाहेक पोटरी स्क्वायरमा आउने विद्यार्थी र पर्यटकहरुलाई माटोका भाँडा बनाउन सिकाउँछन् ।

अहिले बालबालिकाको पाठ्यक्रममै माटोको पढाई हुन्छ । विद्यालय र अभिभावकहरूले नै आफ्ना बालबालिकालाई उनकोमा माटोका भाँडा बनाउन सिकाउन लिएर आउँछन् । त्यसबाहेक उनी अन्य ठाउँमा मानिसहरूलाई 'मड थेरापी'को ज्ञान पनि दिन्छन् । पहिलेको समयमा बाध्यताले अपनाएको यो पेशामा उनी अहिले आशाका किरण देख्न थालेका छन् । उनका अनुसार बाल्यकालमा जस्तो क्षेत्रमा हुर्क्यो, बढ्यो त्यही अनुसार काम सिक्दै गइन्छ । अहिले पनि पोटरी स्क्वायरमा धेरै किशोरकिशोरीहरु फुर्सदको समयमा आफ्नो अभिभावकलाई सघाउँछन् । 'सबैको सोचाई यो पेशामा नलागौं भन्ने हुन्छ तर अलिअलि सघाउँदे जाँदा पनि उनीहरूले धेरै ज्ञान हासिल गरिसकेका छन् जुन भविष्यमा राम्रो साबित हुने रहेछ,' प्रजापतिले सुनाए ।

२२ वर्षीया रूनु प्रजापति अहिले डेन्टल गर्दै छिन् । फुर्सदको समयमा आमाबुबालाई माटाका भाँडाको काममा सघाउँछिन् । माटाका भाँडा बनाउन नआएपनि अन्य कामहरु जस्तै बुट्टा कोर्ने, सुकाउने गर्छिन् उनी । आमा मायादेवी प्रजापति पनि छोरीले सहयोग गरेकोमा खुसी छिन् । तर, आफ्नो छोरीले यही पेशा भविष्यमा पनि गरोस् भन्ने चाहदिनन् । कारण हो– माटाका भाँडालाई आवश्यक पर्ने माटोको अभाव । छोरी रूनु पनि आफ्नो पढाई सकेर डेन्टल क्षेत्रमै केही गर्ने चाहन्छिन् । आफूले जानेको काम फुर्सदको समयमा आमाबुबालाई सघाउने चाहना भने छ । उता ८८ वर्षीय दुर्गाप्रसाद आफ्नो नाति सृजनले आफ्नो बाउबाजेको पेशा धानेकोमा खुसी छन् । भन्छन्– 'पढाई सकेर पुर्खाले सिकाएको पेशा अँगाल्यो । यो नै ठूलो काम हो हाम्रो लागि ।' भक्तपुरको पोटरी स्क्वायरमा यसरी युवा पुस्ताले पुरानो पुस्तालाई सघाएको दृश्य धेरै देखिन थालेको छ आजभोलि ।

प्रकाशित : कार्तिक १७, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?