घट्यो विद्युत् महशुल, मंसिरदेखि लागू हुने- भिडियो - कान्तिपुर समाचार

घट्यो विद्युत् महशुल, मंसिरदेखि लागू हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने  उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।

सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ । थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।

ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्

एमाले अधिवेशन : ताप्लेजुङका ६ पालिकामा नयाँ नेतृत्व 

आनन्द गौतम

ताप्लेजुङ — एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका ६ वटा स्थानीय तहमा एमालेको नेतृत्व चयन भएको छ । एउटामा मतदान प्रक्रियामार्फत र बाँकीमा सर्वसम्मत चयन भएको हो । फुङलिङ नगरपालिकामा बुधबार बेलुका अबेरसम्म निर्वाचन प्रक्रिया चलेको छ भने दुईवटा गाउँपालिकामा तिहारसम्ममा गर्नेगरी सारिएको छ । फुङलिङमा हेमन्तकुमार उप्रेती, धनेन्द्र मादेन र भरतकुमार गुरुङले अध्यक्षमा दाबी गरेका छन् । 

मैवाखोला गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएको छ । निर्वाचन मण्डलका संयोजक अग्नी पौडेलका अनुसार लालकाजी लिम्बु, दिवस चोङवाङ र गणेश प्रसाईंबीच भएको प्रतिस्पर्धामा लालकाजीले ७१ मत प्राप्त गरी अध्यक्ष चयन भएका छन् । दिवसले ६४ मत प्राप्त गरे भने गणेशको शून्य मत भयो । उपाध्यक्षमा आशा थोप्रा, सचिव रुपेन्द्र वनेम र उपसचिवमा चिरञ्जिवी चोङवाङ र रुपनारायण घिमिरे चयन भएका छन् । मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ, प्रताप लिम्बु लक्ष्मी थलङ, तोम अधिकारी र बद्री थापा क्रमश: अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भएका छन ।

आठराई त्रिबेणी गाउँपालिकामा सूर्यमान यम्सो, आइन्द्र आङवोहाङ, मदन सेन्दाङ, कर्णबहादुर थलङ र तारा न्यौपाने, फक्ताङलुङ गाउँपालिकामा सरोज एभेङ, मचिन्द्र तवेवुङ, विरेन्द्र दाहाल सुमन आङदेम्बे र दावाडोमा शेर्पा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव चुनिएका छन् ।

सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ, इन्द्र घतानी, पूर्णकुमार डाँगी, नविन थेवे र दिपेन्द्र तुम्याहाङ, पाथीभरा याङवरकमा बिक्रम मेन्याङ्बो, भीमबहादुर साम्सोहाङ, लोकनाथ खतिवडा र पूर्ण तिवारी क्रमश: अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भएका छन् । उपसचिवमा एक महिला चयन गर्न बॉकी रहेको जिल्ला कमिटी सचिव केशर मेन्याङ्बोले जानकारी दिए ।

मेरिङदेन गाउँपालिकाको दुइटा वडामा वडा अधिवेशन गर्न बाँकी रहेकाले पालिका अधिवेशन धकेलिएको छ भने सिदिङ्वा गाउँपालिकाले तिहारअघि नै गर्नेगरी मिति तय हुने जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×