‘भक्तपुर मेरो घर’- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भक्तपुर मेरो घर’

कान्तिपुर संवाददाता

काठमाडौँ — जर्मन नागरिक निल्स गुत्सो अहिले ८० वर्षका भए, तर उनी आधा शताब्दीयता भक्तपुरवासी बनेका छन् । जर्मनीमा आर्किटेक्चर विषय पढेर बाहिरी संसारमा निस्किएका उनले सन् १९७१ मा भक्तपुरको पूजारी मठ रेस्टोरसन परियोजनाको काम पाएपछि यतैको सम्पदा र वास्तुकलाको अन्वेषण–सोधमै लागिरहे ।अहिले आफ्नो उमेर र ८२ वर्षीया श्रीमतीको शारीरिक अस्वस्थताका कारण ‘सामाजिक सुरक्षा’ खोज्दै गुत्सो दम्पत्ति मनले नचाहेरै पनि जर्मनी फर्कने भएका छन् ।

गुत्सोले लेखेका ‘द नेप्लिज चैत्य’, ‘भक्तपुर’, ‘नेवार टाउन्ज एन्ड बिल्डिङ्ज’, ‘नेप्लिज आर्किटेक्चर’ सहितका कृति र जर्मन रिसर्च काउन्सिलको सहयोगमा गरिएको गोर्खा, नुवाकोट, मुस्ताङ (काग, खिङ्गा, ते)को वास्तु सम्पदा अभिलेखीकरण इतिहासमै उल्लेख्य छन् ।

प्रकाशित : कार्तिक ६, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी तराईका किसानहरु भन्छन् : अन्‍नबाली सखाप भयो

जितेन्द्र साह

काठमाडौँ — ‘केही जोगिएन, सारा सखाप भयो,’ खेत देखाउँदै ५९ वर्षीय किसान पवनकुमार सिंहले भने । पूर्वीदक्षिण मोरङको जहदा गाउँपालिका–४, शान्ति टोलका सिंहले ३ बिघामा धान र अढाइ बिघामा तरकारी लगाएका थिए ।


‘दसैंलगतै भित्र्याउने भनेर खेतमै काटेर राखेको १ बिघा धान बाढीले बगायो, बाँकी दुई बिघा धानलाई हिलोसहितको पानीले बर्बाद पार्‍यो,’ उनले भने, ‘लगाएको तरकारी र तयार पारेको बिउ हिलोमा पुरियो ।’ सिंहको खेतमा लोहन्द्रा खोलाको बाढी पसेर विनाश गरेको हो ।

हिलोपानीले पुरिएको धानबालीलाई काटेर पखाल्दै सुकाइरहेको पीडादायी दृश्य गाउँभर देखिन्छ । ‘५/१० प्रतिशत धान बचेको छ भने उपभोग गर्न मिल्छ कि भन्ने आशमा हिलो पखालेर घाममा सुकाउँदैछौ,’ सिंहले भने ।

सिंह तरकारीमा ३ लाख रुपैयाँ र धानमा १ लाख रुपैयाँ लगानी गरेको बताउँछन् । उनका अनुसार परिस्थिति अनुकुल रहेको भए तरकारीबाट १० लाख रुपैयाँ र धानबाट झन्डै २ लाख आम्दानी हुन्थ्यो । १ बिघा बराबर २० कठ्ठा जग्गा हुन्छ । प्रतिविघा धान रोपाइँमा ३५/४० हजार रुपैयाँ लगानी हुन्छ ।

गाउँपालिकाले यसिटक ५० प्रतिशत अनुदानमा राम्रो बिउ उपलब्ध गराएको हुनाले प्रति कठ्ठा ५/६ मन धान हुने अपेक्षा गरिएको सिंहले बताए । ‘प्रति कठ्ठा कम्तीमा ४ मन धान त हुन्छ नै । एक बिघामा कम्तीमा ८० मन धान अवश्य हुन्छ,’ उनले भने।

कृषि उत्पादनकै आम्दानीको भरमा सिंहको ७ सदस्यीय परिवारको गर्जो टर्छ । उनका तीन छोराछोरी कलेज तहमा अध्ययनरत छन् । अब कसरी बन्दोबस्ती मिलाउने चिन्तामा सिंह छन् ।

‘भन्नलाई त अहिले तीन तहका सरकार छन् तर कोही पनि खोजबीन गर्न खेतसम्म आइपुगेका छैनन्,’ सिंहले भने, ‘कर्मले त साथ दिएन, अब दैव र भाग्यकै भरमा छौं ।’ खेती नै मुख्य पेसा भएको यो वडाका ५० किसानको स्थिति सिंहकै जस्तो छ ।

बाढीको विनाशले स्थानीय किसान दम्पत्ति ६३ वर्षीय लालबहादुर सिंह र ५५ वर्षीया फूलवतीको निद्रा हराएको छ । ‘दसहरा अगाडिसम्म लहलहाइरहेको धान र हराबरा तरकारी खेतलाई क्षणभरमै बाढीले डुबाएर नष्ट पार्‍यो,’ लालबहादुरले भने, ‘धेरै दिनदेखि सुत्न सकेका छैनौं ।’

हिलोपानीले सिंह दम्पत्तिको डेढ बिघामा लगाएको धानमध्ये ७ कठ्ठा पूरै सखाप र १ बिघाको तरकारी एवं बिउ नष्ट भएको छ । ‘पाकेको हुनाले दसैंको नवमीमा खेतमै काटेर धान राखेका थियौं, दसमीपछि दाउनी गर्ने योजना थियो,’ सिंहकी बुहारी रेखाले भनिन्, ‘चाडबाडले गर्दा उठाउन नपाउँदै बाढीले क्षति पुर्‍यायो ।’

बाढीको १५ दिनअगाडि लगाएको गोलभेडा, काउली र परवल एवं तरकारीकै लागि राखेको बिउ क्षति भएको लालबहादुरले बताए । सिंहको १३ जनाको परिवार छ । उनको परिवारमा कृषि विषय नै पढेका छोरा ३५ वर्षीय शशी सिंह सरकारी जागिर हुन् बाँकी सबै किसान छन् ।

‘खोला कटान गर्दा पानीसँगै आएको माटोले धानबाली बर्बाद पारेको हो,’ शशीले भने, ‘पानी मात्रले डुबाएको भए यति ठूलो क्षति हुँदैन्थ्यो ।’ उनका अनुसार तरकारीमा एक लाख लगानी गर्दा कम्तीमा १० लाख रुपैयाँ आम्दानी हुन्छ भने धानमा प्रतिबिघा ३५/४० हजार लगानी गर्दा बेचेर १ लाख जति आउँछ । ‘राम्ररी खेती हुनसक्यो भने यो क्षतिको पूर्ति हुन तीन वर्षजति लाग्छ,’ पिता लालबहादुरले भने, ‘कृषि कर्ममा लगानीभन्दा बढी श्रम लागेको हुन्छ ।’

४१ हजार ८ सय १५ जनसंख्या र ६२.३८ वर्ग किमी क्षेत्रफल भएको सीमावर्ती जहदा गाउँपालिकालाई पूर्वीदक्षिण मोरङको धान एवं तरकारी खेतीको केन्द्र मानिन्छ । यहाँको बासिन्दाको घरसँगै खेत छ । मुख्य पेसा नभए पनि हरेकले खेती गर्छन् ।

नहुनेले ठेक्कामा जग्गा लिएर भए पनि खेती गरिरहेका छन् । तर गाउँको सीमा भएर बग्ने तटबन्ध बिहीन लोहन्द्रा र सिंघिया खोलामा अविरल वर्षा पछि आएको हिलो सहितको बाढीले गाउँपालिकाको ७ वटै वडाको खेतलाई सोत्तर पारेको छ । अधिकांस भागमा बाढीले तबाही मचाएको देखिन्छ ।

दसैं लगतै भित्र्याउन तयार राखेको धान कि त बाढीले बगाएको छ कि त उपभोग गर्न नमिल्ने गरी हिलोपानीले बर्बाद पारेको छ । जहदा गाउँपालिका–२, मिलनचोक हातिबन्डाको साह टोलमा हिलोपानीले सारा खेतको धान र तरकारी पुरिएको देखिन्छ । यो बस्तीको खेतमा सिंघिया खोलाको पानी प्रवेश गरेको हो । काटेर घरआँगनमा थन्काएको १ विघाको धान बाहेक सबै सखाप भएको स्थानीय किसान दिनेश्वरले बताए । उनले ६ विघामा धान लगाएका थिए । झन्डै ५ लाख रुपैयाँ बराबरको सय मन धान खेतमै पुरिएको उनले बताए ।

उनका अनुसार बाढी गएको दिन मंगलबार खेतमा ८ फिट माथिसम्म हिलोपानी थियो । सात जनाको परिवार भएका दिनेश्वरले धान भित्रयाइसकेपछि तरकारी लगाउनलाई तयार पारेको गोलभेडा, खुर्सानी, काउली र भान्टाको बिउ पनि बाढीले पुरिएको छ । १७ कठ्ठामा लगाएको मूला, साग र बोरी पनि खत्तम भएको उनले बताए । दिनेश्वरको अनुसार तरकारी खेतीमा गरेको २ लाख १० हजार रुपैयाँको लगानी पनि खेर गयो ।

स्थानीय किसान राजेन्द्रले ५ बिघामा लगाएको धान, १ विघाको तरकारी र आधी विघाको बिउ बाढीमा क्षति भएको बताए छ । १० हजार रुपैयाँको बिउसहित तरकारी खेतीमा गरेको तीन लाख रुपैयाँ पानीमा बगेको उनले बताए । अर्का किसान विनोदले साढे पाँच बिघामा धान र आधी बिघामा तरकारी लगाएका थिए । ‘१ बिघाको धान मात्र काटेको थिएँ, बाँकी सबै बाढीले बगाएर लग्यो,’उनले भने ।

कठ्ठामा लगाएको मूला, रायो साग र काउली एवं नर्सरी बेडमा तयार काउली, गोलभेडा, खुर्सानी र भान्टाको बिउ पनि बाढीमा नष्ट भएको उनले बताए । राजेन्द्रको पनि ६ परिवारको जीवन कृषिमै निर्भर छ । परिवारको तीन जना पढ्दै र तीन खेती गर्छन् । ‘भविष्यमा हुने आम्दानीको के कुरा गर्ने, ५ लाख रुपैयाँ लगानीको नोक्सानी भयो,’उनले भने ।

यस्तो विपद्‍मासमेत किसानले कतैबाट राहत पाउने छाटकाट नदेख्दा खेती कर्म छाड्ने मनोस्थिति बनेको राजेन्द्रले बताए । ‘अहिलेसम्म जनप्रतिनिधि भेट्न आएका छैनन्,’उनले भने ।

गाउँपालिकाको कृषि प्राविधिक सौरभ सिंह राजपुतले ७ वटै वडाको खेतमा व्यापक क्षति पुगेको बताए । उनका अनुसार वडा नं. ६ बाहेक सबै वडामा ९५ प्रतिशत बाली नष्ट भएको छ । ‘तरकारीसँगै बेर्ना पनि बर्बाद भएको छ,’उनले भने,‘नयाँ तरकारीको उत्पादनमा समय लाग्ने हुनाले वरिपरिको बजारमा तरकारीको मूल्य ह्वात्तै बढ्छ ।’

सिंहको अनुसार धानबालीको हकमा वडा १ मा झन्डै ७ सय विघा, वडा २ मा १ हजार विघा, वडा ३ मा ६ सय विघा, ४ मा ३ सय विघा, ५ मा ५ सय विघा, ६ मा २ सय बिघा र ७ मा ९ सय बिघा नष्ट भएको छ । यसै गरी तरकारीबालीको लेखाजोखा गर्दा वडा ३ मा झन्डै ९० विघा, ४ मा २ सय विघा र ५ मा १५ विघा नष्ट भएको सिंहले बताए ।

‘सातै वडामा पुगेर क्षतिको विवरण संकलन गरिरहेका छौं, यसकै आधारमा कृषि ज्ञान केन्द्रले सरकारलाई जानकारी गराउँछ,’गाउँपालिकाको कृषि तथा पशु शाखा संयोजक रामसेवक यादवले भने,‘हाम्रै स्थलगत तथ्यांकको आधारमा किसानको हकमा तीन तहकै सरकारले राहतको थप प्याकेज निर्धारण गर्छ भन्ने विश्वास छ ।’


प्रकाशित : कार्तिक ६, २०७८ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×