न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै बेला ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्ति प्रचलनमा थियो । बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका खुट्टामा फोका उठेका थिए ।

थकित र गलित अवस्थामा भेटिएका उनीहरू सिंहदरबारले न्याय देला र सबै दुःख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए । उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन् । बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको । यही दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन् ।

पैदल यात्राको २० दिन उनीहरूले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए । यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरूले हिँडेरै बिताएको बताइन् ।

उनले भनिन्, ‘बरु दिउँसो र साँझ हामी बस्यौं, रातको शीतलमा भने हिँडिरह्यौं ।’ महिला दिनदिनै हिंसामा परिरहेको तर उनीहरूको मृत्यु र हिंसाको घटनामा प्रहरीले राम्ररी अनुसन्धान नगरेको सुनाउँदै उनले नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्न आफूहरू काठमाडौं आउनुपरेको बताइन् ।

भनिन्, ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं ।’न्यायका निम्ति हिँडेकामध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्यसहित अधिकारको निम्ति नबोली हुन्न भन्ने स्थानीय छन् ।

उनीहरूमध्ये मुस्किलले एक–दुई जना मात्रै नेपालीमा बोल्छन् । अवधी भाषी उनीहरूमध्येकी आवादा दर्जीले आफ्नै लवजमा भनिन्, ‘बहुतै दिक्कत होईगा । तभीनय न्याय मागेक लिए चला आवागवा ।’

गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन । माताले सुनाए, ‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन् ।’

उनका अनुसार भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन् । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए । ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्,’ उनले भने ।

घटनाबारे जानकार स्थानीय सतिना तेलीका अनुसार यही विषयलाई लिएर नकुन्नी र रामकुमारबीच खटपट भएको थियो । खटपट समयक्रममा हिंसामा बदलिएको थियो । श्रीमानबाट कुटपिट भएपछि दिदी निलडामसहित एक साता आफ्नो घरमा आएर बसेको बैनी शिलाले बताइन् । दिदीको न्यायको निम्ति काठमाडौंसम्म पैदलै आएकी शिलाले भनिन्, ‘दिदीको मृत्युबारे हामीले न्याय पाएनौं ।’

सतिनाका अनुसार नकुन्नी घरेलु हिंसामा परेको बारे स्थानीय प्रहरी घटनाको केही दिन अघिबाटै जानकार थियो । घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो । सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन ।’

प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीले संसार छोडिन् । न्याय माग्न काठमाडौं आएकी रुबीका अनुसार उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए ।

जिल्ला प्रहरीले नकुन्नीको मृत्यु आत्महत्याबाट भएको मेडिकल रिपोर्टले प्रमाणित गरेको बताउँदै आए पनि उनीहरूको चित्त बुझेको छैन ।उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन् ।

दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन् । कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन् ।

नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए । रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरक–फरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनले पनि उनीहरूको न्याय–यात्रा रोकिएन ।

रुबीले भनिन्, ‘हामी आश्वस्त हुन सकेनौं । पहिले पनि निर्मला पन्तको बलात्कार र हत्या घटनामा थुप्रै छानबिन समिति बने पनि न्याय मिलेन । त्यही भएर हामी हाम्रो कुरा सुनाउन काठमाडौं हिँडिराख्यौं ।’

२०६१ सालमा स्थापना भएको महिला अधिकार मञ्च अहिले ४४ जिल्लामा विस्तार भएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले आफूहरू कुनै गैरसरकारी संस्था नभएर गाउँबाट उठेर फैलिएको ‘लुज नेटवर्क’ मात्रै भएको बताइन् ।

यही संस्थाले अहिले नकुन्नी र निर्मलाको निम्ति न्याय खोज्न काठमाडौंसम्मको पैदल यात्राको चाँजोपाँजो मिलाएको हो । जसमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन् ।

रुबीका अनुसार यो लामो पैदल यात्रामा उनीहरूलाई महिला अधिकार मञ्चको सचिवालय संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सुरुमा २५ हजार रुपैयाँ दिएको थियो । त्यसपछि यात्राका क्रममा खान र सामान्य भइपरी उपचारका निम्ति अन्य संस्था र व्यक्तिले केही रकम जुटाइदिएका थिए ।

उनीहरूले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटने योजना बनाएका छन् । रुबीले खुट्टाभरि उठेका फोकाको दुखाइ सहँदै भनिन्, ‘उहाँहरूलाई हामी घटनाको सबै कुरा बताउँछौं र न्याय कसरी पाएनौं भनेर भन्छौं ।’

प्रकाशित : आश्विन २१, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानका व्यापारीहरुद्वारा दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्यवृद्धि

विप्लव महर्जन

सल्यान — चाडपर्वको बहानामा सल्यानका व्यापारीहरुले मासु, तरकारीसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका छन् । दैनिक उपभोग्य वस्तुको हकमा कम्पनीले नै सामग्रीको मूल्य बढाएको भन्दै र मासु तथा तरकारीमा मनोमानी ढंगले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।

२ सय ६० रुपैयाँ प्रति लिटर पर्ने खाने तेललाई २ सय ७०, चामल प्रति कटठा ३० देखि ५० सम्म मूल्य तोकिएको छ । साथै १ सय २० रुपैयाँ प्रतिकेजी पर्ने दाललाई १ सय ३० मूल्य व्यापारीहरुले तोकेका छन् । यस्तै प्रतिकेजी ४० देखि ५० रुपैयाँ पर्ने तरकारीलाई ८० देखि १ सय रुपैयाँसम्म पर्न थालेको छ । खसीको मासु प्रतिकिलो ८ सय पर्नेमा ९ सय, राँगाको मासु ४ सय पर्नेमा ५ सय, कुखुराको २ सय ८० सम्म पर्नेमा ३ सय ४० बनाएका छन् ।

चाडपर्वको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेपछि आफूहरु मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका तथा न्यून आयमा मजदुरी गर्दै जीविकोपार्जन गर्नेहरुका लागि अचानक व्यापारीले तोकेको बढी मूल्य अव्यवहारिक भएको उपभोक्ताहरु बताउँछन् ।

वैशाखदेखि सबैभन्दा बढी तेल र खाद्यान्नको मूल्यवृद्धि भएको स्थानीय निर्मला घर्तीले बताइन् । २ सय रुपैयाँ प्रतिलिटर किन्दैआएको खाने तेल अहिले २ सय ७० मा किन्नुपरेको उनको गुनासो छ । यस्तै १ हजार ५ सय पर्ने एक कटठा चामललाई १ हजार ६ सम्म किनेको उनी बताउँछिन् । उनका अनुसार तेल, चामल मात्र नभई व्यापारीले आफूखुसी अन्य सामग्रीको पनि मुल्य बढाइरहेका छन् ।

व्यापारीले समयम समयमा मूल्य बढाउने गरेको तर बढेको मूल्य फेरि नघट्ने गरेका कारण दैनिक उपभोग्य वस्तु किनेर प्रयोग गर्न गाह्रो भएको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजारका पूर्णबहादुर भण्डारीले बताए । आफूखुसी मूल्य बढाएर जनतालाई ठग्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउन उनले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

चाडपर्वको समयमा व्यापारीले बढाएको मूल्यका कारण दैनिक उपभोग्य वस्तु किन्न नसक्ने अवस्था सिर्जना भएको कालिमाटी गाउँपालिका ४ की पार्वती पुन बताउँछिन् । ‘व्यापारीले बढाएको मूल्यका कारण हामी जस्त न्यून आय भएका समस्यामा परेका छौँ । दैनिक मजदुरी नगरी जीविकोपार्जन चल्दैन’ उनले भनिन् ‘हामीले काम गर्दा दैनिक ५ सय बढी ज्याला पाउँदैनौं । हाम्रो ज्याला बढ्ने भन्दा घट्छ । यस्तो तालले कसरी गुजारा चलाउन सकिन्छ ।’

व्यापारीले मूल्य बढाएसँगै सरकारले पनि मजदुरको ज्याला बढाउन उनले आग्रह गरिन् । जिल्लाका केही व्यापारीले भने कम्पनीले नै पटकपटक मूल्य बढाउँदै गरेकाले आफूहरु पनि मूल्यवृद्धि गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले चाडपर्वमा कोही सर्वसाधारण दैनिक उपभोग्यु वस्तुको मूल्यको मारमा नपरुन् र म्याद गुज्रेका सामग्री प्रयोग गर्न बाध्य नहून् भनी बजार अनुगमनलाई तिब्र बनाएको बताए । बजार अनुगमन गर्दा अधिकांश व्यापारीले अहिलेसम्म मूल्य सूची नराखेको पाइएको उनको भनाइ छ । एकातिर व्यापारीले मूल्य सूची नराखेका र अर्कोतिर खरिद गरेको सामग्रीको बील नदिँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले पत्येक पटक बाहिरबाट आउने सामग्रीको मूल्य बढ्ने गरेकाले चाडपर्वको समयमा पनि दैनिक उपभोग्यु वस्तु अन्तर्गत दाल, चामल, र तेलमा दुई देखि तीन प्रतिशत मूल्य बढेको बताए । जिल्लाभित्र रहेका मासु व्यापारीले भने आफूखुसी मुल्य बढाउने गरेको उनले बताए । बुढाथोकीका अनुसार उद्योग वाणिज्य संघले मासु पसलेलाई आफूखुसी वृद्धि नगर्न बारम्बार आग्रह गर्दैआएको छ तर अटेर गरिरहेका छन् ।

प्रकाशित : आश्विन २१, २०७८ १५:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×