सत्ता र शक्तिको दुरुपयोग गर्न कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन : नेता पौडेल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता र शक्तिको दुरुपयोग गर्न कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन : नेता पौडेल

'वडा अधिवेशनदेखि नै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन नमान्ने बताएका छन् । उनले अधिवेशनमा संस्थापन पक्षले दादागिरी गर्ने कोसिस गरिरहेको आरोप लगाए ।

सोमबार काठमाडौंमा सिन्धुपाल्चोक कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै पौडेलले वडाबाटै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको बताए । ‘पार्टी प्रवेशको नाममा सयौंलाई मौका दिइएको छ । तर, सच्चा कार्यकर्ताले स्थान पाएका छैनन् । हामी डडेल्धुराको वडा अधिवेशन मान्दैनौं । यसको विरोध गर्छौं । वडा अधिवेशनदेखि नै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको छ,’ पौडेलले भने, ‘हामी त्यस्तो हुन दिँदैनौं।’

नेता पौडेलले महाधिवेशनमा नेता कार्यकर्ताले मूल्यांकन गर्न सकेनन् भने पार्टीमा स्वेच्छारिता झन् मौलाएर जाने बताए । ‘कसको कारणले पार्टी यो अवस्थामा पुग्यो ? के कारणले यो भइरहेको छ ?,’ पौडेलले भने, ‘पार्टीको संस्कार बचाउन लडाईं लड्नुपरेको छ । महत्वाकांक्षाले यस्तो भएको छ ।’

कांग्रेसले ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । तीमध्ये देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा विवादकाबीच अधिवेशन भएको थियो । अधिवेशनमा देउवा पक्षले मनपरी गर्न खोजेको भन्दै पौडेल समूहले आरोप लगाउँदै आएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा १ हजार १४९ जना कोरोना संक्रमित थपिए, १ हजार २६० संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, ४ हजार ७ एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् । १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७८ हजार ३१२ जनामा संक्रमण भएको छ भने ७ लाख ४० हजार ७१७ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×