कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहराइनमा आन्दोलनरत श्रमिकलाई चित्त बुझाउन नसके फिर्ता पठाउँछौं : बहराइन सरकार

होम कार्की

काठमाडौँ — बहराइन सरकारले बाप्को प्रोजेक्ट (प्रमुख ग्यास/तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न नेपालीसहित विदेशी श्रमिकको चित्त बुझाउन नसकेमा स्वदेश फिर्ता पठाउन सहजीकरण गर्ने जनाएको छ ।

बहराइनमा आन्दोलनरत श्रमिकलाई चित्त बुझाउन नसके फिर्ता पठाउँछौं : बहराइन सरकार

बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कार्पोरेसनमा कार्यरत श्रमिकले काम बन्द गरेका हुन् । त्यस प्रोजेक्टमा कार्यरत श्रमिकले सुरक्षा र स्वस्थकर खाना दिनुपर्ने माग राख्दै मंगलबारबाट काम छाडेर क्याम्पमा नै बसेका छन् । बहराइनको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकलाई काम फर्काउने प्रयास गरिरहेका छन् । नोगा क्याम्पमा ७ सय नेपाली सहित विदेशी श्रमिकहरु आन्दोलनरत छन् ।

उच्च अधिकारीले बुधबार चरणवद्ध रुपमा उनीहरुसँग छलफल गरेका थिए । काममा फर्किन नचाहेमा स्वदेश फर्काउन बहराइन सरकार तयार भएको छ ।

‘बहराइन सरकारले प्रोजेक्टमा देखिएका कमीकमजोरीलाई सुधार गर्ने विश्वास दिलाएको छ । यसमा श्रमिकहरु विश्वस्त नभए उनीहरुको लागि विकल्प खुला गरिएको छ,' बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङले कान्तिपुरलाई भनिन्, ‘श्रमिकहरु स्वदेश फिर्ता हुन चाहेमा सहजीकरण गरिनेछ ।’

आन्दोलनरत नेपाली श्रमिकका माग सुन्दै नेपाली दूतावासका श्रमसहचारी दामोदर दाहाल(निलो कोट) । यसैगरी भारतीय दूतावासका प्रतिनिधिले भारतीय श्रमिकहरुका यस्तै माग बुझ्न पुगेका थिए ।

त्यस कम्पनीलाई एसओएस म्यानपावर कम्पनीले नेपाली श्रमिक पठाएको हो । एसओएसले १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म लिई पठाएको उनीहरुले बताए । काम बन्द गरेपछि नेपाली दूतावासका श्रम सहचारी दामोदार दाहालले आन्दोलनरत श्रमिकको अवस्था बुझ्न नोगा क्याम्प पुगेका थिए ।

कामबाट फर्केर मेसमा खाना खानेक्रममा ढल्न पुगेका एक श्रमिकको समयमा नै उपचार नहुँदा ज्यान गएपछि श्रमिकहरु आक्रोशित भइ काम बन्द गरेका हुन् । प्रोजेक्टमा कार्यरत भारतीय र नेपाली श्रमिकहरुले कम्पनीको लापरबाहीबाट एक महिनामै २० जना श्रमिकहरुको मृत्यु भइसकेको दाबी गरेका छन् । बिहीबार पनि एक श्रमिकको मृत्यु भएको थियो ।

उनीहरुले ग्यास/तेल प्रशोधन केन्द्रको बीचमा क्याम्प राखिएकोले आफ्नो स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाँउमा स्थान्तरण गर्नुपर्ने माग राखेका छन् । ‘नेपाली दूतावासबाट आउनु भएको प्रतिनिधिलाई हामीले घर फर्किन्छौं भनेका छौं । कम्पनीबाट सुधार हुन्छ भन्ने हामीलाई विश्वास छैन,' संखुवासभाका पासाङ शेर्पाले भने, ‘धेरै साथीहरुले घर फर्किनको लागि आफ्नो नाम टिपाइरहेका छन् ।’

खाना मेसमा लामबद्ध श्रमिकहरु । खाना पाउन श्रमिकहरु कम्तिमा आधा घण्टा पालो कुर्नुपर्छ । एकैपटक सैयौं जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था छैन ।

घर फर्किन इच्छुक भएका अधिकांश झन्डै दुई महिनाअघि मात्रै बहराइन पुगेका थिए । ‘मान्छे मरेको थाहै नै हुन्न । रातको समयमा ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ । यसले धेरै मान्छे विरामी भइराख्छ,' गोरखाका सन्जिव बरालले भने, ‘यहाँबाट क्याम्प हटाउन सबैको माग छ ।’

कम्पनीले श्रमिकलाई स्वस्थकर र पोषणयुक्त खाना पनि दिने गरेको छैन । ‘हामीलाई सुंगरको चारो भन्दा थर्ड क्लासको खाना खुवाउँछ । ताजा खानेकुरा केही दिँदैन । खानामा चामलको बोरा, बोत्तलको टुक्राहरु फेला पर्छ,' उनले भने, ‘काम पनि निकै लामो छ । बिहान ५ बजे क्याम्पबाट निस्कनुपर्छ । एकैपटक बेलुका ८ बजेमात्रै आइपुग्छौं । पुरा ओभरटाइमको रकम दिने गरेको छैन ।’

उनीहरुले आफूहरु स्वदेश फिर्न चाहेका बताएका छन् । ‘यस्तो अधकल्चो भएर बाँच्नु भन्दा फर्किनु नै बेस हुन्छ । खुकुरी कति जोडले गएको छ भन्ने अचानोलाई मात्रै थाहा हुन्छ । हाम्रो हालत यस्तै भएको छ । यहाँ फस्नु हुँदैन,' सिन्धुलीका प्रदीप थारुले बताए ।

त्यस कम्पनीमाअधिकांश स्कापफोल्डिङ र हेल्परको रुपमा कार्यरत छन् । कम्पनीले स्कापफोल्डिङ काम गर्ने श्रमिकलाई १ सय २० र हेल्परलाई १ सय बहराइनी दिनार दिने भनेर माग पत्र प्रमाणीकरण गरेको थियो । कम्पनीले करारपत्र अनुसार तलब भुक्तानी गरेको छैन । स्कापफोल्डिङलाई १ सय १० र हेल्परलाई ७० दिनार मात्रै पाइरहेका छन् । ‘हामीलाई महिनाको ५० हजार रुपैयाँसम्म आउँछ भनिएको थियो । यहाँ २५ हजार रुपैयाँ पनि बचाउन मुस्किल छ,' थारुले भने, ‘हामीलाई जतिसक्दो उद्धार गर्न आग्रह गर्दछौं ।’

प्रकाशित : भाद्र २५, २०७८ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?