२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान

पाल्पा — पाल्पा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट उत्पादन थालिएको छ । प्रेसर स्विङ एडजप्सन (पीएसए) विधिको प्लान्टसँग ४ सय २० लिटर प्रतिमिनेट उत्पादन क्षमता छ ।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान

यसको शुद्धता ९३ प्रतिशतसम्म रहेको इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र श्रेष्ठले बताए । उनका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सक्छ ।

यससँगै पाल्पा अस्पताल र स्थानीय तहमा अक्सिजन अभावको समस्या समाधान हुने पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताए । कोरोनाको दोस्रो लहरका बेला अक्सिजनका लागि चितवन, भैरहवा, पोखरा, वीरगन्ज, नेपालगन्जसम्म धाउनुपर्ने अवस्था आएपछि सरकारसँग जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)ले प्लान्ट राख्न माग गरेको थियो । प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर पनि दिन सकिने कुँवरले बताए ।

यसअघि अक्सिजन प्लान्ट राख्ने भवन बनाउन रकम नहुँदा दुई महिनादेखि जडान हुन सकेको थिएन । अहिले भवन तयार भएकाले जडानको काम सकिएको उनले बताए । सरकारले जेठ ४ गते अक्सिजन प्लान्ट जडानका लागि १ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो । असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आएको हो ।

अहिलेसम्म बजेट निकासा नभए पनि आउने निश्चित भएकाले टेन्डरमार्फत प्लान्ट जडान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कुँवरले बताए ।

यसअघि प्लान्टको सबै सामान आए पनि भवन अभावले गर्दा जडान गर्न नसकिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयको भनाइ छ । प्लान्टका लागि अस्पतालनजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ । भवनका लागि अस्पताल विकास समितिको बजेटबाट केही रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार निर्माण सामग्री खरिद र ज्यालाको रकम भुक्तानीमा समस्या निम्तिएको छ ।

उपभोक्ता समितिमार्फत भवन निर्माण भए पनि भुक्तानी गर्न नसकिएको समिति अध्यक्ष नवराज बस्यालले बताए । जिल्लामा रामपुर अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि बजेट आएको छ । यसअघि पाल्पामा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?