कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

संवैधानिक आयोगमा अघिल्लो सरकारका पालामा भएका नियुक्ति बदर गर्न सांसद बिडारीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेका नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने माग गरेका छन् ।

संवैधानिक आयोगमा अघिल्लो सरकारका पालामा भएका नियुक्ति बदर गर्न सांसद बिडारीको माग

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद् बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रूपमा अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्तिहरू बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने उनले माग गरेका थिए ।

‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्तिहरू बदर गरेर ठीक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौं ।’

संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरू खुसी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको बिडारीको भनाइ थियो । उनले भने, ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसद्को‌ गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरू निष्प्रभावी भयो । संविधान विरोधीहरू खुसी भए । नेपाल विरोधीहरू नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरू राजतन्त्रका कुरा माग्न थाले ।’

सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिबहरूलाई जग्गा वितरण गर्न पनि उनले अनुरोध गरे । अहिलेको सरकार, मुलुकमारा, बजेटमारा, गरिबमाराबाट मुक्त हुन सक्नुपर्ने उनको सुझाव थियो ।

प्रकाशित : श्रावण २२, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×