कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् ।ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको थियो ।

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ भने ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु सबैजसो राखिएको छ । ६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालले बताए । ‘यो संग्रहालय र सिन्धुलीगढी परिसर अब खोजकर्ता र जिज्ञासुहरुलाइ राम्रो अध्ययनको थलो बन्नेछ,’ उनले भने, ‘नेपालीका लागि मात्र हैन, अंग्रेजहरुलाई समेत पितापुर्खाको लडाइँका विषयमा थप कौतुहलता जगाइ डोर्‍याएर ल्याउने छ ।’

निर्माणकर्ता वर्दबहादुर गणका गणपति विजय थापाले सात करोड रुपैयाँ लागतमा सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण भएको जानकारी दिए । आन्तरिक सजावट, योद्धाहरुको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको छ ।संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ । नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताइएको छ ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएका थिए । गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेख छ ।


प्रकाशित : श्रावण १३, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?