काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।‘महामारीको चेन ब्रेक गर्नलाई निषेधाज्ञाको समय दुई साता थप्नुका साथै आदेशलाई कडाइका साथ लागू गर्न तीनवटै प्रशासनको संयुक्त बैठकले निर्णय गरेको छ,’ बस्नेतले भने, ‘आदेश उल्लंघन नगर्न, अत्यावश्यक कामबिना बाहिर ननिस्कन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।’त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले जनाए ।दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे पुर्‍याइएको छ । त्यस्तै कालीमाटीलगायतका तरकारी तथा फलपलू बिक्री बेन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ ।सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा थप गर्नेबारे मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका थिए ।

यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि थप कडाइ गर्दै पुन: अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।

प्रकाशित : वैशाख २८, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा थप १० जना कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — चितवनमा मंगलबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ९ जना भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमितहरु हुन् । एक जना होम आइसोलेसनमा बसेका संक्रमितको पनि ज्यान गएको चितवन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मृतकमध्ये ४ जना चितवनका हुन् । बाँकी ६ जना भरतपुरमा उपचारका लागि आएका संक्रमित हुन् ।

संक्रमण बढेका कारण निषेधाज्ञा लागेपछि सुनसान देखिएको चितवनको मुख्य व्यपारिक क्षेत्र नारायणगढ बजारको सहिदचोक क्षेत्र । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पाँचजना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ३ जना चितवनका हुन् । रुपन्ेदही र नवलपरासीका एक/एक जना छन् । भरतपुरको सरकारी अस्पतालमा तनहुँ, रुपन्देही र कपिलवस्तुका एक एकजना गरी ३ जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा गोरखाका एक जनाको मृत्यु भएको हो ।

त्यसैगरी होम आइसोलेसनमा बसेका भरतपुरका एक जना संक्रमितको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार चितवन मेडिकल कलेजबाट २३, भरतपुर अस्पतालबाट १५ र पुरानो मेडिकल कलेजबाट ६ जना गरी २४ घण्टामा कुल ४४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार दिउँसोसम्म चितवनका अस्पतालहरुमा ४३० जना संक्रमितको उपचार भइरहेको छ ।

स्थानीय तहका आइसोलेसनका १०५ शय्या र भरतपुरका विभिन्न अस्पतालहरुमा समेत गरेर जिल्लामा हाल संक्रमितको उपचारका लागि ७३० शय्या उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा २६२ आईसीयु बेड छन् । मंगलबार आईसीयुमा २४० जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म चितवनमा संक्रिय संक्रमितको संख्या २ हजार ९०९ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये चितवनका २ सय जना मात्रै अस्पतालहरुमा भर्ना भएका छन् । चितवनका अस्पतालहरुमा जिल्ला बाहिरका संक्रमितहरुको चाप अत्याधिक छ । चितवनमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या १४५ पुगेको छ । यो चितवनका मात्रैको संख्या हो । भरतपुरका अस्पतालमा उपचार गराउँदा मृत्यु भएका चितवन बाहिरका संक्रमितहरुको संख्या यसमा जोडिएको छैन ।

चितवनमा पछिल्लो समय संक्रमण र मृत्यु तीव्र हुँदै गएको छ । चितवनमा वैशाख २२ गते बुधबार १० जना संक्रमितको मृत्यु भएको थियो । शनिबार यो संख्या अहिलेसम्मकै सर्वाधिक १४ पुग्यो । सोमबार ७ जना र आइतबार ४ जना संक्रमितको मृत्यु भएको थियो । वैशाख १ गते चितवनमा संक्रिय कोरोना संक्रमित जम्मा ९६ थिए । संक्रमण बढेपछि चितवनमा वैशाख १६ गते मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म निषेधाज्ञा लागेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×