शिवपुरी निकुञ्‍जमा डढेलो- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवपुरी निकुञ्‍जमा डढेलो

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीकै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लागेको छ । शिवपुरी–नागार्जुन क्षेत्र चितुवा, बँदेल, हरिण/मृगलगायत संरक्षित वन्यजन्तुको बासस्थान हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको यो निकुञ्जमा लागेको आगो साँझ नियन्त्रणमा आएको छ । करिब ७ हेक्टर क्षेत्रसम्म डढेलो फैलिएको थियो ।

डढेलो लागेको खबर पाएलगत्तै नेपाली सेना, निकुञ्ज प्रशासन, प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र जुद्ध वारुणयन्त्रबाट दमकलसहित अग्नि नियन्त्रकहरू खटिएका थिए । डढेलो निकुञ्ज क्षेत्रको बूढानीलकण्ठ नगरपालिका–२, तैलुङबाट सल्किएको थियो । जमिन सतहको डढेलो (बुस फायर) नियन्त्रणमा तीनवटा दमकलसहित सुरक्षाकर्मी, निकुञ्ज प्रशासन र काठमाडौं दमकलका जनशक्ति खटिएका थिए ।

जमिन छोडेर माथिमाथिबाट डढेलो (क्राउन फायर) फैलिएकाले नियन्त्रण गर्न कठिन देखिएको थियो । जमिनबाट निभाउन असम्भव देखिएपछि ‘क्राउन फायर’ नियन्त्रण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकप्टरको खोजी गर्न थाल्यो ।

‘क्राउन फायर’ नियन्त्रण जोखिमपूर्ण मानिन्छ । सन् २००९ मा रामेछापको जंगलमा लागेको यस्तै डढेलो नियन्त्रणमा खटिएका १३ सैनिकको जलेर ज्यान गएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सिम्रिक एयरका हेलिकप्टर चालक सिद्धार्थ राणालाई डढेलो नियन्त्रणका लागि बाम्बी बकेटसहित हेलिकप्टर लिएर फिल्डमा खटाए । बाम्बी एक किसिमको ठूलो ट्यांकी हो ।

त्यही ट्यांकीमा तलाउ/नदीलगायतबाट पानी भरी झुन्ड्याएर हेलिकप्टरबाट डढेलो लागेको स्थानमा खसालिन्छ । बाम्बी बकेट वा अन्य वस्तु हवाई साधनबाट झुन्ड्याएर ओसारपसार गर्न विशेष तालिम लिनुपर्छ । खासगरी सतहबाट मानिसको पहुँच पुर्‍याउन कठिन हुने ठाउँको डढेलो तथा आगलागी नियन्त्रणमा पानी भरिएको बाम्बी प्रयोग हुन्छ । पानीको कृत्रिम भेलबाट आगो नियन्त्रण गरिन्छ । यस्ता केही थान बाम्बी बकेट सेनासँग पनि छ ।

पोखरेलले भने, ‘बाम्बीका लागि सुन्दरीजलस्थित मेलम्ची खानेपानी प्रशोधन केन्द्रबाट पानीको व्यवस्थापन गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयसँग समन्वय गर्‍यौं । सबै बन्दोबस्तीपछि हेलिकप्टरमार्फत पानी खसालियो । स्थल र हवाई माध्यमबाट भएका प्रयासले डढेलो ५ बजेतिर नियन्त्रणमा आयो ।’

हेलिकप्टरबाट बाम्बी बकेटमा दुई घण्टाजति पानी ओसारिएको थियो । एक हजार लिटर अट्ने बाम्बी बकेटबाट हेलिकप्टरले २५ पटक पानी ओसारेको थियो । गत पुसमा ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरानजिकै फावाखोलाको सिम्बु र सिकैचा क्षेत्रको वनमा लागेको डढेलो निभाउन पनि बाम्बीबाट पानी खसालिएको थियो । सन् १९८९ मा १ सय ४४ वर्ग किमि क्षेत्रफलमा स्थापित शिवपुरी जलाधार क्षेत्रलाई पछि शिवपुरी राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरिएको थियो ।

सन् २००९ मा नागार्जुन क्षेत्रको १५ वर्ग किमि समेटेर १ सय ५९ वर्ग किमि क्षेत्रफलसहित यसलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका रूपमा विकास गरिएको हो । प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार यो वर्ष डढेलोबाट मनाङ र मुस्ताङबाहेक ७५ वटै जिल्ला प्रभावित छन् । आइतबार मात्रै देशका ३ सय ९७ ठाउँमा डढेलो लागेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

कमलपोखरीमा मेलम्चीको २० लाख लिटर पानी

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्माणाधीन काठमाडौंको कमलपोखरीमा परीक्षणका रूपमा करिब २० लाख लिटर मेलम्चीको पानी हालिएको छ ।

‘सुरुवाती चरणमा केही पानी राखेका हौं, पानी चलायमान गराउन बीच भागमा एउटा ठूलो र छेउछाउतिर ९ वटा फोहरा रहन्छन्,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘पोखरीको पहिचान दिन बीचमा फाइबरको कमल फूल राख्छौं ।’

एक वर्षभित्र काम सक्ने गरी गत वर्ष नै महानगरले पोखरी पुनर्निर्माणको शिलान्यास गरेको थियो । पुनर्निर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । महानगर भौतिक विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपांगमैत्री हुनेछ भने बीचमा पानीको फोहरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि ससाना पोखरी बनाइनेछन् ।

वर्षौर्देंखि उजाड कमलपोखरीलाई सुन्दर र कलात्मक ढंगले पुनर्निर्माण गर्न लागिएको मेयर शाक्यले बताए । ‘सौन्दर्यको कामसँगै काठका केही कलात्मक बुट्टा कुँद्ने काम भइरहेको छ’, उनले भने, ‘आगन्तुकलाई बस्न चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलिमिली पारिनेछ । खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ ।’

पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाउने योजनाअनुरूप काम भइरहेको छ । महानगरले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरूप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्संग रहेको स्थानलाई खुला गरिसकेको इन्जिनियर श्रेष्ठले बताए । महानगरले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारदेखि सुरु गरेको उनले बताए । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

सांस्कृतिक सम्पदाको संरक्षण, मर्मतसम्भार तथा जीर्णोद्धारको काम महानगरको भएको शाक्यले बताए । ‘पोखरीको मौलिकता बचाउँछौं,’ उनले भने, ‘पहिचान जोगाउन नै कमलपोखरी निर्माण भइराखेको छ । यसप्रति हामी पनि सचेत छौं ।’ काम गर्ने क्रममा केही विरोध भएको भन्दै उनले त्यो नबुझेर गरिएको बताए । ‘कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन,’ उनले भने, ‘सम्पदा अभियानकर्मीले पनि बुझेर विरोध गर्नुपर्छ, विरोधका नाममा विरोध गर्नु हुँदैन ।’

पुनर्निर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलीन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमीले बताउँदै आएका छन् । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा महानगरलाई पटक–पटक लिखित रूपमा ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×