नास्टको युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम स्थगित

युवा वैज्ञानिक अनुसन्धान कार्यक्रमका लागि ४ सय अनुसन्धानात्मक प्रस्ताव पेस भएका थिए
कान्तिपुर संवाददाता

काठमाडौँ — नास्टले युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम स्थगित गरेको छ । युवा वैज्ञानिकहरूका लागि भनेर अनुसन्धान सहयोगका लागि सञ्चालित कार्यक्रम अर्थ मन्त्रालयका कारण स्थगित भएको नास्टले भनेको छ ।

युवा अनुसन्धानकर्ताहरूका लागि भनेर नास्टले ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसका लागि नास्टको उद्देश्यसँग सम्बन्धित अनुसन्धानात्मक प्रस्ताव ल्याउनका लागि आग्रह गरेको थियो । करिब ४ सय वटा अनुसन्धानात्मक प्रस्तावहरू परेको नास्टका सूचना अधिकारी भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार युवा अनुसन्धानकर्ताहरूले पठाएका अनुसन्धानका प्रस्तावहरू मूल्यांकनका लागि विज्ञहरू समक्ष पठाउने तयारी हुँदै गरेको अवस्थामा अर्थ मन्त्रालयले स्थगित गरेको हो । माघ १७ गतेको बजेट कटौती तथा कार्यक्रम स्थगितसम्बन्धीको पत्रअनुसार युवा वैज्ञानिक अनुसन्धान कार्यक्रम स्थगित भएको नास्टले जनाएको छ ।

अधिकारीले ईकान्तिपुरिसत भने, 'माघ १७ गते हामीलाई अर्थ मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनुसन्धान कार्यक्रम स्थगित नहोस् भनेर कोसिस पनि गर्‍यौं । नास्टको म्यानेजमेन्टसहितको छलफलबाट हाललाई यो कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ । ' बजेट अभावका कारण कार्यक्रम होल्ड भएकाले स्रोत उपलब्ध हुनसाथ सञ्चालन गरिने उनले बताए ।

नास्टका प्रवक्ता रवीन्द्र ढकालले कार्यक्रमलाई निरन्तरता दिनका पहल भइरहेको बताए । उनले भने, 'प्राप्त अनुसन्धानात्मक प्रस्तावहरू एउटा चरणमा पुगेर राखिएको छ । अर्को आर्थिक वर्षमा यसैलाई दोहोर्‍याउने विषयमा छलफल भएको छ । ' उनले अर्को सूचना नभएसम्मका कार्यक्रम स्थगित भएको बताए ।

यस्तै, नास्टमा उपकूलपति रिक्त हुँदा स्नातकोत्तर तहका विद्यार्थीहरुले पेस गरेको शोधपत्र अनुदान सम्बन्धीका प्रस्ताव स्वीकृत पनि रोकिएको छ । नास्टमा ४ महिनादेखि उपकूलपति रिक्त छ ।

प्रकाशित : जेष्ठ १, २०८० १४:१६
प्रतिक्रिया
पठाउनुहोस्

आरआर क्याम्पसको परीक्षा छानबिन गर्न सांसद सापकोटाको माग

'नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई कमजोर पार्न अरु विषय उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउने हो'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं प्रदर्शनीमार्गस्थित त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा विद्यार्थीको नतिजामा भएको त्रुटीको छानबिन गर्नुपर्ने माग संसद्‌मा उठेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । 

सांसद सापकोटाले सरकारको ध्यानार्कषण गराउँदै छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने बताए । ‘त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाहीले ५ सय भन्दा बढी विद्यार्थीको भविष्यमा प्रश्न चिह्न खडा भएको छ, उनीहरूको जीवनमाथि नै खेलबाड भएको छ,’ उनले भने, ‘ढिला परीक्षा लिने, ढिला नतिजा निकाल्ने अनि ५ सय विद्यार्थीको नतिजामा अनुपस्थिति उल्लेख गरिएको छ ।’

आन्तरिक परीक्षामा विषय शिक्षकले दिएको अंकसमेत फेरबदल गरिएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयको समेत ध्यानाकर्षण गराए । ‘परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसलाई, क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयलाई दोष दिएर उम्कन मिल्दैन,’ सांसद सापकोटाले भने ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह बीए प्रथम वर्ष ब्याच २०७७ का विद्यार्थीको नतिजा १४ महिना लगाएर सार्वजनिक गरेको थियो । वैशाख १० गते प्रकाशित नतिजामा ५ सय भन्दा विद्यार्थीको नतिजामा अनुपस्थिति जनाइएको छ भने विषय शिक्षकले दिएको अंकमा समेत थपघट गरिएको पाइएको छ । पीडित विद्यार्थी आन्दोलित बनेका छन् । परीक्षा शाखाले गरेको लापरबाहीको क्याम्पस प्रशासनले संरक्षण गर्दै आएको छ । विद्यार्थी क्याम्पसको लापरबाहीले फेल भएपछि समस्यामा परेका छन् ।

त्यस्तै, सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर पार्नका लागि विषयान्तर हुन लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । अन्य भ्रष्टाचारका मुद्दा पनि खोल्नुपर्ने भन्ने तर्कले अहिले छानबिन भइरहेको मुद्दाको टुंगो सही ढंगले नलाग्ने उनको भनाइ छ । 'भ्रष्टाचारका बारेमा सिंगो देश र अन्तर्राष्ट्रिय जगत बहसमा छ । अहिले मानव तस्करसहित जोडिएको विषय अगाडि आएको छ । सम्पूर्ण रूपमा देश केन्द्रित भएर यसलाई निष्कर्षमा पुर्‍याइनुपर्छ,' उनले भने, 'त्यसपछि क्रमशः अरु विषयमा जानुपर्छ । नकि विषयलाई विषयान्तर गर्ने र यो विषयलाई कमजोर पार्नका लागि अरु विषय उठाउनु भनेको अन्ततः भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउने हो । अहिले मानव तस्करसहितको चलिरहेको विषयलाई निष्कर्षमा पुर्‍याएर थप फायर खोल्नतर्फ सरकार जाओस् ।'

प्रकाशित : जेष्ठ १, २०८० १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×