याक्कारिनोलाई ट्वीटरको जिम्मा

अर्बपति इलन मस्कले विज्ञापन, अनलाइन स्ट्रिमिङ र डेटा स्ट्राटेजी विज्ञ लिन्डा याक्कारिनोलाई ट्वीटरको प्रमुख कार्यकारी अधिकृत घोषणा गरेका हुन्
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी अर्बपति इलन मस्क पटक–पटक चर्चामा आइरहन्छन् । कार निर्माण कम्पनी टेस्ला र अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्क पछिल्लो समय भने सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि चर्चा मात्र होइन, विवादमा पनि पर्न थालेका छन् ।

कर्मचारी कटौतीको घोषणा होस् वा सांकेतिक रूपमा कम्पनीको सीईओ भन्दै कुकुरको फोटो राखेर होस् । चर्चासँगै विवाद उनको पर्याय नै बनेको छ ।

मस्कले २०२२ को अप्रिल १४ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिदको सम्झौता गरेका थिए । तर त्यसको केही समयमा उनी सम्झौताबाट पछि हटेपछि ट्वीटरले उनीविरुद्ध अमेरिकाको डेलावेयरस्थित अदालतमा मुद्दा दायर गरेको थियो ।

ट्वीटरले स्पाम र नक्कली अकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नुपरेको मस्कको दाबी थियो । ट्वीटरले पूर्ण विवरण नदिएकाले खरिद सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ मस्कले बताएका थिए । तर पछि अक्टोबर २७ देखि भने ट्वीटर पूर्ण रूपमा मस्कको स्वामित्वमा आएको हो । त्यसलगत्तै उनले पराग अग्रवाललाई हटाएर आफू सीईओ बनेका थिए ।

गत डिसेम्बर १९ मा मस्कले आफ्नो ट्वीटर हेन्डलमा ‘म ट्वीटरको सीईओबाट हट्नुपर्छ ?’ भन्ने शीर्षकमा पोल गरेका थिए । ‘पोलको नतिजा आफूले पालना गर्ने’ मस्कको भनाइ थियो । भोटिङ पोलमा सहभागी भएका १७ लाख अकाउन्टमध्ये ५७ प्रतिशतले सीईओबाट मस्क हट्नुपर्ने प्रतिक्रिया दिएका थिए । पोलको नतिजासँगै मस्कले डिसेम्बर २१ मा एउटा घोषणा गरेका थिए, ‘सीईओका रूपमा काम गर्ने कुनै मूर्ख भेटिएसँगै मैले राजीनामा दिनेछु ।’

त्यसको तीन सातापछि फेब्रुअरी १५ मा मस्कले आफ्नो कुकुर ‘फ्लोकी’ लाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कुर्सीमा बसालेर खिचेको फोटो ट्वीटरमा पोस्ट गरेका थिए । मस्कले पोस्ट गरेको तस्बिरमा कुकुरले लगाएको टिसर्टमा सीईओसमेत लेखिएको छ । तस्बिर पोस्ट गरेसँगै उनले आफ्नो ट्वीटर हेन्डलमा लेखेका थिए, ‘ट्वीटरको नयाँ सीईओ गजबको छ ।’ त्यसपछिको फलोअप ट्वीटमा उनले लेखेका थिए, ‘अरू मान्छेभन्दा निकै असल ।’ कतिपयले उक्त ट्वीटलाई मस्कले ‘निकै इमानदार सीईओको खोजी गरिरहेका’ भनेर अर्थ्याएका थिए ।

के मस्कले खोजेजस्तै सीईओ भेटेका हुन् त ? जवाफ यकिन त छैन, तर उनले तत्कालका लागि भने सीईओ भेटेका छन् । त्यो पनि महिला । शुक्रबार मात्रै मस्कले लिन्डा याक्कारिनोलाई ट्वीटरको नयाँ सीईओ घोषित गरेका छन् । मस्कले आफू अब ट्वीटरको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकृतका रूपमा मात्रै जिम्मेवारी वहन गर्ने बताएका छन् ।

६० वर्षीया याक्कारिनो विज्ञापन, अनलाइन स्ट्रिमिङ, साझेदारी र डेटा स्ट्राटेजीसम्बन्धी विज्ञ हुन् । उनले आफ्नो व्यावसायिक जीवनको लामो समय वार्नर मिडियाको टीभी अपरेसन्समा बिताएकी छन् । मस्कको बारम्बारको प्रयासपछि याक्कारिनोले सीईओको जिम्मेवारी लिन सहमत भएकी जनाइएको छ । मस्कले एक ट्वीट गर्दै कम्पनीमा याक्कारिनोले व्यवसाय सञ्चालन, प्रडक्ट डिजाइन तथा नयाँ प्रविधिका विषयमा निर्णायक भूमिका हुने बताएका छन् ।

केही समयअघि अमेरिकाको मायामीको भएको एड्भर्टाइजिङ कन्फ्रेन्समा याक्कारिनोले मस्कको अन्तर्वार्ता लिएकी थिइन् । अन्तर्वार्ताका क्रममा उनले ट्वीटरको योजना र अभिव्यक्ति स्वतन्त्रताका विषयमा प्रश्नहरू गरेकी थिइन् । उक्त अन्तर्वार्तापछि मस्कले उनलाई ट्वीटरको सीईओका रूपमा लिने तयारी गरेका आकलन गरिएको छ । यसअघि उनी ‘एनबीसीयू’ नामक कम्पनीमा ग्लोबल एड्भर्टाइजिङ एन्ड पार्टनरसिप विभागको प्रमुख थिइन् । ट्वीटरमा आबद्ध हुनुभन्दा एक दिनअघि उक्त कम्पनीबाट राजीनामा दिएकी याक्कारिनोले ६ साताभित्रै काम सुरु गर्ने मस्कले जनाएका छन् ।

पेन स्टेट युनिभर्सिटीमा लिबरल आर्ट्स एन्ड टेलिकम्युनिकेसनको अध्ययन गरेकी याक्कारिनो २०११ देखि उक्त कम्पनीमा आबद्ध भएकी थिइन् । त्यसअघि उनले लामो समय ‘टर्नर इन्टरटेनमेन्ट’ कम्पनीमा काम गरेकी थिइन् । उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको टिममा रहेरसमेत काम गरेका अनुभव छ । त्यतिबेला उनले प्रेसिडेन्स काउन्सिल अन स्पोर्ट्स, फिटनेस एन्ड न्युट्रिसनमा काम गरेकी थिइन् ।

मस्कको पछिल्लो निर्णयलाई प्रविधि क्षेत्रका जानकारहरूले भने सकारात्मक रूपमा लिएका छन् । विज्ञापन क्षेत्रकी चर्चित व्यक्तिलाई कम्पनीको नेतृत्व दिनु मस्क कम्पनीको सुधारका लागि गम्भीर रहेको देखिएको उनीहरूको भनाइ छ । मार्केटिङ तथा मिडिया कन्सल्टिङ कम्पनी मिडियालिंकका सीईओ माइकल कसनले याक्कारिनोसँग अभूतपूर्व क्षमता रहेको र यस क्षेत्रमा निकै सम्मानित भएकी बताएका छन् ।

पछिल्लो समय ‘ब्लु टिक’ को मासिक शुल्क लिने निर्णय, इन्क्रिप्टेड डीएम र अडियो/भिडियो कल सुविधालगायत पनि कम्पनी सुधारका लागि गरिएका प्रयासका रूपमा हेरिएको छ । मस्कको पछिल्लो घोषणासँगै उनको अर्को कम्पनी टेस्लाको सेयरमूल्यसमेत २५ प्रतिशतले उकालो लागेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख ३१, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्

नीति तथा कार्यक्रमबारे बालुवाटारमा तीन दलका नेताबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि तीन राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका हुन् । 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रका संसदीय दलका नेता र प्रमुख सचेतकहरू छलफलमा सहभागी छन् ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितबहादुर पाण्डे सहभागी छन् । छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन् ।

संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल, देउवा र ओ‌लीले त्यसअघि तीन जनाको मात्रै बैठक बसेका थिए ।

प्रकाशित : वैशाख ३१, २०८० ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×