नयाँ ग्रह पत्ता लगाउने १७ वर्षीय

एजेन्सी

वासिङ्टन — अमेरिकाको न्युयोर्कस्थित स्कार्सडेल हाई स्कुलका विद्यार्थी उल्फ कुकियरले प्रशिक्षार्थीका रूपमा आफ्नो दुई महिना अमेरिकी अन्तरिक्ष संस्था नासामा बिताउने निर्णय लिए । त्यसलगत्तै उनी मेरिल्यान्डस्थित नासाको गाडार्ड स्पेस सेन्टर पुगे । 

नयाँ ग्रह पत्ता लगाउने १७ वर्षीय

प्रशिक्षार्थीका रूपमा काम सुरु गरेको तेस्रो दिनमा नै १७ वर्षीय कुकियरले नयाँ ग्रह पत्ता लगाए । नासा पुगेपछि शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरू हेर्दै गर्दा उनले केही अनौठो कुरा देखे । त्यो अनौठो वस्तु १,३०० प्रकाश वर्ष टाढा रहेको ग्रह थियो । उनले केही समयअघि नै उक्त कुरा पत्ता लगाएका भए पनि नासाले हालै मात्र मान्यता दिएको हो ।

दुई महिना नासामा प्रशिक्षार्थी भएर काम गरी न्युयोर्कस्थित विद्यालय फर्केका उनले सञ्चारमाध्यममार्फत अनुभव साटेका छन् । विद्यालय बिदामा नासामा काम गर्ने अवसर पाएका उनको खास काम अन्तरिक्षमा हाम्रो सौर्य प्रणालीभन्दा बाहिर रहेका ग्रहहरू खोज्नका लागि भूउपग्रहका तस्बिरहरू हेर्नु थियो । ‘मैले दुई वटा तारालाई घुम्ने ग्रहहरू खोजिरहेको थिएँ,’ उनले भने । ग्रहको छाया पर्दा ताराको उज्यालो कम हुने भएकाले उनले ताराहरूको उज्यालोपनमा आएको परिवर्तनलाई खास ध्यान दिने गर्थे । काम सुरु गरेको तेस्रो दिन कुकियरले दुई वटा ताराको उज्यालोलाई छेकिरहेको एक वस्तु देखेपछि आफ्नो पर्यवेक्षकलाई देखाए ।

‘हामीले ती ताराहरूबारे विभिन्न विवरण र तथ्यांकहरू खोजी गर्‍यौं । अन्य बेला पनि प्रकाश कम भएको देखिएपछि त्यो ग्रह हुन सक्ने ठानेर थप खोजी गर्‍यौं,’ उनले भनेका छन् । त्यसले अन्य वैज्ञानिकहरूको पनि ध्यान तानेपछि उनीहरू पनि त्यसमा संलग्न भए । अनि पत्ता लाग्यो, पृथ्वीभन्दा झन्डै ६.९ गुणा ठूलो ग्रह ‘टीओआई १३३८ बी’ ।

‘त्यो नाम मैले राखेको भने होइन । ग्रहको नाम ‘उल्फटोपिया’ राख्न मलाई सुझाव आएको थियो । तर ‘टीओआई १३३८ बी’ नै काफी छ,’ उनले भने । ‘टीओआई १३३८ बी’ सामान्य ग्रह नभई दुई वटा तारालाई परिक्रमा गर्ने ग्रह हो । ‘त्यसैले त्यो ग्रहमा दुई पटक सूर्यास्त हुन्छ,’ उनले भने । उनका अनुसार ग्रह निकै तातो र सायद तरल पदार्थले भरिएकाले बसोबासयोग्य भने छैन ।

आफूलाई नासाको जागिर दिने प्रक्रियाबारे केही थाहा नभए पनि आफूले पत्ता लगाएको कुरा आफ्नो बायोडाटामा राम्रै देखिने उनको भनाइ छ । त्यसमाथि नासा पनि आफ्नो कामले खुसी भएकाले आफूलाई सन्तुष्टि मिलेको कुकियर बताउँछन् ।

विद्यालय सकेपछि भौतिकशास्त्र र खगोल भौतिकशास्त्र पढ्न चाहने कुकियरले आजकल आक्कलझुक्कल नासा लेखिएको लुगा पनि लगाउँछन् । आफूलाई चिन्नेहरूले ठान्छन्– त्यो नासाले दिएको उपहार हो । तर वास्तविकता अर्कै छ । त्यो लुगा उनले नासाको पसलमा छुटमा किनेका हुन् ।

ग्रह पत्ता लगाएको कुरा नासाले पुष्टि गरेपछि भने उनले बधाई निकै खाएका छन् । ‘जता गयो उतै निकै रमाइलो पनि भइरहेको छ,’ उनले भने, ‘मैले तीन/चार दिनमा जति बधाई पाएँ, त्यो त अहिलसेम्म पनि पाएको थिइन होला ।’

प्रकाशित : माघ ४, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?