‘च्याट जीपीटी’ ले साइबर अपराध बढाउने त्रास

एजेन्सी

क्यालिफोर्निया — करिब एक महिनाअघि सार्वजनिक भएयता आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) टुल ‘च्याट जीपीटी’ प्रविधिको क्षेत्रमा रुचि राख्नेहरूमाझ चर्चामा छ । त्यसयता इन्टरनेट प्रयोगकर्ताहरू यसप्रति आकर्षित हुँदै पनि गइरहेका छन् । 

‘च्याट जीपीटी’ ले साइबर अपराध बढाउने त्रास

एआई मोडलमा आधारित ‘च्याट जीपीटी’ ले प्रयोगकर्ताले सोधेका जुनसुकै विषयमा प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिने गर्छ । इन्टरनेट पहुँच भएकाहरूलाई यो निकै सहज भएको छ । अर्थात् यसअघि सर्च इन्जिनमार्फत प्रश्नको जवाफ खोज्दा सम्बन्धित क्षेत्रका वेबसाइटका लिंक दिने गरेकोमा यसले भने खोजेको जस्तो उत्तर दिने गर्छ ।

आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) लाई विकास गर्न सन् २०१५ मा स्थापित संस्था ओपन एआईले च्याट जीपीटी सार्वजनिक गरेको हो । ओपन एआईका अध्यक्ष तथा सह–संस्थापक ग्रेग ब्रोकम्यानले परीक्षणका लागि सार्वजनिक गरिएको एक साताभन्दा कम समयमै यसको १० लाखभन्दा बढीले प्रयोग गरेका थिए ।

ब्रोकम्यानका अनुसार मानिसले जस्तै कुरा गर्न, उनीहरूको भाषा बुझ्न र खोजेको जवाफ दिनका लागि ३.५ प्रविधि मोडेलमा आधारित रहेर च्याट जीपीटी तयार पारिएको हो । पछिल्लो समय भने यसलाई सर्च इन्जिनको विकल्पको रूपमा समेत लिन थालिएको छ । जसका कारण शैक्षिक तथा व्यावसायिक क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि भने यो निकै सहज र सुविधाजनक हुने नै भयो । तर यो सुविधा अब साइबर अपराधीहरूले पनि प्रयोग गर्ने देखिएको छ ।

च्याट जीपीटीमा गरिएका कुनै पनि विषयमा पाइने सटिक जवाफ, आवश्यक जानकारी, प्रतिवेदन लेखन, कम्प्युटर तथा सफ्टवेयर कोडिङलगायतको प्रयोगले साइबर अपराध बढ्ने देखिएको हो । गलत नियत राख्नेहरूले यसलाई ‘हानिकारक औजार’ का रूपमा प्रयोग गर्ने यस क्षेत्रका जानकारहरू बताएका छन् ।

चेकपोइन्ट रिसर्चले हालै गरेको एक अध्ययनमा ‘च्याट जीपीटी’ ह्याकिङ तथा इन्टरनेटमार्फत चोरीमा सक्रिय रहेकाहरूका लागि सूचना दिने विश्वासिलो प्लेटफर्म भएको देखिएको छ । त्यस्तै, कपितय ह्याकरहरूले यसमार्फत पाइथन स्क्रिप्ट तयार पार्नका लागि समेत सहज भएको जनाएका छन् ।

त्यसैगरी, साइबर अपराधीहरूले यसको आधारमा आर्थिकलगायत ठगी गर्नसमेत सम्भव हुने देखिएको चेकपोइन्ट रिसर्चको अध्ययनमा देखिएको छ । ‘पछिल्लो समय ह्याकरहरूले हानिकारक दुर्भावनापूर्ण कोडहरू तयार गर्नका लागि च्याट जीपीटीलाई प्रयोग गरिरहेका प्रमाणहरू प्राप्त भएका छन्,’ चेकपोइन्टका सर्गेई साइकेभिचले भने ।

प्रकाशित : पुस २६, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?