टेक स्टार्टअपका लागि निराशाको वर्ष २०२२

प्रविधि क्षेत्रमा प्रगतिको पर्याय बनेका एप्पल, अमेजन, अल्फाबेट, माइक्रोसफ्ट, मेटालगायत सबैजसो कम्पनीको आकार गएको वर्ष खुम्चियो

काठमाडौँ — प्रविधि क्षेत्रमा अनगन्ती अवसर र अविश्वसनीय उचाइ हासिल गरेका धेरै कम्पनीलाई वर्ष २०२२ ले बजारको अनिश्चितताको एउटा गतिलो पाठ पढाएर गएको छ । उदाहरणका लागि सन् २०२२ को पहिलो दिन बजार खुल्दा ३ खर्ब डलर कुल बजार मूल्य पुगेको एप्पलले वर्षको अन्त्यसम्म यो मूल्य ५ खर्ब डलर पुर्‍याउने अपेक्षा गरिएको थियो ।

टेक स्टार्टअपका लागि निराशाको वर्ष २०२२

तर विश्वव्यापी मन्दीलगायत कारणले बजार नै उल्टो दिशामा गएपछि एप्पलको कुल मूल्यमा झन्डै एक खर्ब डलरको कमी आएको अनुमान छ । एप्पल मात्रै नभएर प्रविधि क्षेत्रमा प्रगतिको पर्याय बनेका अमेजन, अल्फाबेट, माइक्रोसफ्ट, मेटालगायत सबैजसो कम्पनीको आकार गएको वर्ष खुम्चिएको देखिन्छ ।

‘मान्छेहरू भविष्यवाणी गर्ने कुरामा साह्रै कमजोर छन्, अहिले जे भइरहेको छ, त्यो सधैं चलिरहन्छ भन्ठान्छन्,’ कोलम्बिया बिजनेस स्कुलकी प्रोफेसर एन्जेला लीले सीएनएनसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘तर खासमा कोभिड महामारी एक अनपेक्षित ऐतिहासिक घटना थियो । यसभन्दा अगाडि बजार कसरी जान्छ भन्ने स्पष्टता हामी कसैमा थिएन ।’

सन् २०२० मा जब कोभिड महामारी सुरु भयो, घरबाटै अनलाइनमार्फत काम गर्न बाध्य करोडौं मानिसका कारण प्रविधि क्षेत्रका स्टार्टअपहरूमा लगानी र अवसर पनि ह्वात्तै बढ्यो । गएको महिना आफ्ना कर्मचारीहरूलाई लेखेको एक नोटमा मेटाका संस्थापक मार्क जुकरबर्गले भनेका छन्, ‘धेरै जनाले बजारमा भएको यो अपूर्व वृद्धि स्थायी हो र कोभिडपछिको बजारमा पनि यो कायम रहन्छ भन्ने अनुमान गरेका थिए, मेरो पनि अनुमान त्यस्तै थियो । यहीअनुरूप मैले सो दिशामा ठूलो लगानी पनि गरेको थिएँ । तर दुर्भाग्यवश त्यसो हुन सकेन ।’ जुकरबर्गको यो नोट आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने घोषणा सुनाउने क्रममा आएको थियो ।

ठूला टेक कम्पनीहरूले गर्न थालेको कर्मचारी कटौतीको ट्रेन्ड हेर्दा पनि सिलिकन भ्यालीको छटपटी प्रस्ट देखिन्छ । मेटाको लगभग १३ प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा जस्तै अनलाइन भुक्तानीसम्बन्धीको स्ट्राइप कम्पनीका प्रमुख प्याट्रिक कोलिसनले आफ्नो कर्मचारी संख्यामा १४ प्रतिशतले कटौती गर्ने योजना सार्वजनिक गरिसकेका छन् । नोभेम्बर २२ मा आएको एचपीको ४ हजारदेखि ६ हजार कर्मचारी कटौती, नोभेम्बर १६ मा सिस्कोले गरेको झन्डै ४ हजार कर्मचारी कटौती मात्रै नभएर नोभेम्बर १४ मा अमेजनको १० हजार (३ प्रतिशत), ट्वीटरको ३७ सय, अक्टोबरमा माइक्रोसफ्टको १ हजार, अगस्टमा स्न्यापले गरेको १२ सय कर्मचारी कटौतीले पनि प्रविधि स्टार्टअपहरूका लागि वर्ष २०२२ सोचेविपरीत भएको झलक दिन्छ ।

सेप्टेम्बरमा आयोजित वार्षिक एप्पल इभेन्टमा कम्पनीले सार्वजनिक गरेको पछिल्लो आइफोन यसका अघिल्ला संस्करण जस्तै भएको गुनासा आएका थिए । आफ्नो चामत्कारिक र नवीनतम नयाँ उत्पादनका लागि प्रख्यात एप्पलले सन् २०१६ मा एयरपड सार्वजनिक गरेयता त्यस्ता कुनै उल्लेख्य सफल उत्पादन ल्याउन सकेको छैन । पछिल्ला तथ्यांकले सन् २०२१ को तुलनामा आइफोनको व्यापारमा वर्ष २०२२ मा झन्डै १२ प्रतिशतले कमी आएको उल्लेख गरेका छन् । अक्टोबरमा प्रकाशित एक लेखमा वायर्ड म्यागजिनले एप्पललाई विज्ञापन कम्पनीमा परिणत भएको भनेको छ । ‘एप्पल इज एन एड कम्पनी नाउ’ शीर्षकको समाचारमा भनिएको छ, ‘एप्पल प्रयोगकर्ताले यसका सेवाहरूमा अझै विज्ञापन देख्नेछन् र गुगल र मेटाजस्ता विज्ञापनमूलक कम्पनीसँग एप्पल थप प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनेछ ।’

सन् २०१७ मा डिजिटल विज्ञापनको ५४.७ प्रतिशत हिस्सा ओगटेका गुगल र मेटाले वर्ष २०२२ मा ४८.४ प्रतिशत बजार हिस्सा मात्रै पाएको प्रक्षेपण छ । यो भनेको सन् २०१४ यता पहिलो पटक यी दुई कम्पनीले पाएको ५० प्रतिशतभन्दा कम हिस्सा हो । यसको कारण एप्पल, माइक्रोसफ्ट, टिकटकलगायतले विज्ञापन बजारमा बढाएको ध्यान हो, अप्रिल २०१९ मा सिजमेक खरिद गरेपछि आक्रामक रूपमा डिजिटल विज्ञापन बजारमा आएको अमेजनले २०२४ सम्ममा अमेरिकी डिजिटल विज्ञापन बजार हिस्सा पाउने अनुमान छ । ऐतिहासिक रूपमा नवीनतम प्रविधि र उत्पादनका लागि चर्चित कम्पनीहरूको ध्यान विज्ञापन र स्ट्रिमिङ सेवातिर मोडिनुलाई सुस्ताउन थालेको प्रविधि बजारका रूपमा पनि बुझ्न सकिन्छ । एमआईटी स्लोन स्कुल अफ म्यानेजमेन्टका माइकल कुसुमानो यो तथ्यमा सहमत हुँदै भन्छन्, ‘एप्पल र अमेजनको यो पछिल्लो कदम गुगल र मेटाले लिएको बजार हिस्सा घटाउनेतिर लक्षित छ ।’

वर्ष २०२२ मा प्रविधि क्षेत्रको प्रतिनिधि घटना बनेको टेक धनाढ्य इलन मस्कको ट्वीटर खरिद वर्षको अन्त्यसम्ममा लापरबाही धनाढ्य सनकको उदाहरण बनेको छ । झन्डै २७० बिलियन डलर कुल मूल्यबाट आफ्नो वर्ष २०२२ सुरु गरेका मस्कको कुल मूल्यमा वर्षको अन्त्यसम्ममा झन्डै १ सय अर्ब डलरले कमी आएको छ । ४४ अर्ब डलरको महँगो मूल्यमा ट्वीटर खरीद गरेर भएको हल्लाखल्लालाई सफलतामा परिणत गर्न असफल मस्कको कदमको परिणाम उनको अर्को कम्पनी टेस्लामा पनि परेको अनुमान छ, जसको सेयर मूल्यमा ५२ प्रतिशतले कमी आएको अनुमान छ । मस्कसमेतका अमेरिकी धनाढ्यले यो वर्ष झन्डै ६ सय अर्ब गुमाएको अनुमान छ र यसमा अमेजनका जेफ बेजोजको ८० अर्ब डलर, मेटाका मार्क जुकरबर्गको ७८ अर्ब डलर, गुगलका ल्यारी पेजको ४० अर्ब डलरलगायत छन् । टेक धनाढ्यहरूको खुम्चिएको राशि वर्ष २०२२ को प्रमुख पक्ष बन्यो ।

वर्ष २०२२ स्ट्रिमिङ कम्पनीहरूका लागि पनि खराब रह्यो । वर्षको अन्त्यसम्म आइपुग्दा डिज्नी र वार्नर ब्रोज ५२ सातायताको सबैभन्दा कमजोर स्थितिमा पुगे (क्रमशः ६० प्रतिशत र ४५ प्रतिशत सेयर गिरावट) भने नेटफ्लिक्सलगायत कम्पनीको पनि संघर्ष यो वर्ष जारी रह्यो । वर्षको पहिलो चौमासिक प्रतिवेदनमा गएको एक दशकयता पहिलो पटक सब्स्क्राइबर संख्यामा गिरावट आएको सार्वजनिक गरेको नेटफ्लिक्सको सेयर मूल्यमा ३५ प्रतिशतले गिरावट आएको छ । जुलाईमा सार्वजनिक एक रिसर्च प्रतिवेदनमा झन्डै १९ प्रतिशत प्रयोगकर्ताले नेटफ्लिक्सलगायत अन्य प्रिमियम सब्स्क्रिप्सन हटाएको बताएका थिए ।

यीसँगै २०२२ एफटीएक्स र क्रिप्टो क्र्यासको वर्षका रूपमा रह्यो । संसारकै ठूलो क्रिप्टोकरेन्सी प्लाटफर्म एफटीएक्समा उजागर भएको अर्बौं डलर घोटाला र प्रमुख क्रिप्टो मुद्रा बिटक्वाइनको मूल्यमा भएको ६५ प्रतिशत गिरावटले क्रिप्टो बजारको कठिनता झल्काउँछन् । निराशाकै शृंखला थप्ने अर्को क्षेत्र थियो, मेटाभर्स । मेटा (फेसबुक) को हराइजन वर्ल्ड (मेटाभर्स) मा सन् २०२२ मा झन्डै ५ लाख मासिक सक्रिय प्रयोगकर्ता रहने प्रक्षेपण गरिएको थियो । तर मेटाले नै पछि उक्त संख्या संशोधन गरी २ लाख ८० हजारमा झार्‍यो । वालस्ट्रिट जर्नलका अनुसार मेटाभर्सको खास संख्या त्योभन्दा निकै कम छ । मेटाका आफ्नै कर्मचारीले समेत मेटाभर्स प्रयोग नगरेकामा सो प्लेटफर्मका उपाध्यक्ष विशाल शाहले आफ्ना कर्मचारीहरूलाई लेखेको एक मेमोमा भनेका छन्, ‘हामी आफैंलाई यो मन परेको छैन भने प्रयोगकर्ताहरूले यो मन पराउने आशा हामी कसरी गर्न सक्छौं ?’

यीसँगै निकै हल्लाखल्लाका साथ अघि सारिएका कन्जरभेटिभ समूहका सामाजिक सञ्जालहरूले पनि वर्ष २०२२ मा आफ्नो छाप छाड्न असफल रहे । उदाहरणका लागि पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसलमा झन्डै १५ लाख मात्रै सक्रिय प्रयोगकर्ता रहेको अनुमान छ । ग्याब, गेटर, पार्लर जस्ता अन्य फरक धारका भनिएको सामाजिक सञ्जाल पनि पूर्णतया असफल रहे ।

इलन मस्कको निराशाजनक ट्वीटर उलटफेर र कुल मूल्यमा अर्बौं डलरको गिरावटदेखि प्रविधि क्षेत्रका एक लाख ५२ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाउनु, अर्बौं डलरले घटेको एप्पलको कुल बजार मूल्य र झन्डै ५० प्रतिशतले घटेको अमेजनको सेयर मूल्यदेखि निजी प्रविधि स्टार्टअपहरूको कमाइमा भएको ३०–८५ प्रतिशत कमीलगायत सबैजसो सिलिकन भ्याली धनाढ्यहरूको सुस्ताएको उत्साह– सन् २०२२ ले प्रविधि क्षेत्रमा छाडेको छाप हो । तसर्थ वर्ष २०२३ सुरु हुँदै गर्दा गएको सालले प्रविधि र टेक स्टार्टअप क्षेत्रलाई एक गतिलो पाठ सिकाएको विज्ञहरूले औंल्याइरहेका छन् । सन् २०१० यता सबैभन्दा मूल्यवान्, शक्तिशाली, र द्रुत गतिमा अघि बढेका टेक कम्पनी अहिले रोकिएका छन् । झन्डै एक दशकदेखि बजार र लगानीकर्ताको आकर्षणको केन्द्र रहेका यी कम्पनीले आफ्नो प्रभुत्वका लागि वर्ष २०२३ मा अझै कठिन संघर्ष गर्नुपर्ने प्रस्टै देखिन्छ ।

– एजेन्सीहरूको सहयोगमा

प्रकाशित : पुस २०, २०७९ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?