कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पेरिस ओलम्पिक : गति बढाउँदै ‘गोल्डेन गर्ल’

ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि भाग लिँदा धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्ने
ध्रुव तुलाधर

काठमाडौँ — ‘गोल्डेन गर्ल’ । धाविका सन्तोषी श्रेष्ठले पाएको उपनाम हो यो । जहाँ दौडिन्छिन्, त्यहाँ स्वर्ण जितिहाल्छिन् । बिरलै मात्र होलान् देशभित्र उनले नजितेका दौड प्रतियोगिताहरू । यिनै धाविका अहिले पेरिस ओलम्पिकको तयारीमा जुटिरहेकी छन् । 

पेरिस ओलम्पिक : गति बढाउँदै ‘गोल्डेन गर्ल’

ग्रीष्मकालीन ओलम्पिकको ३३ औं संस्करण पेरिस २०२४ यही साउन ११ गतेदेखि फ्रान्समा सुरु हुँदै छ । नेपालले ६ खेलमा ७ खेलाडी सहभागी गराउँदै छ । त्यसमध्ये एथलेटिक्सबाट सन्तोषी रहेकी छन् । उनले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । विश्वका ९५ धाविका महिला म्याराथनमा दौडँदै छन् ।

ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि खेलाडी पठाउन लागेको हो । पछिल्लोपल्ट सन् १९९६ को एटलान्टा ओलम्पिकमा नेपालकी विमला रानामगरले महिला म्याराथनमा सहभागिता जनाएकी थिइन् । सन् १९८४ को लस एन्जल्स ओलम्पिकमा महिला म्याराथनको डेब्यु गराइँदा नेपालले भने १९८८ को सोल ओलम्पिकमा दुई खेलाडी सहभागी गरायो । त्यसमा राजकुमारी पाण्डे र मेनुका राउतले म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । सन् २००० को सिड्नी ओलम्पिकयता भने नेपालले एथलेटिक्समा महिलातर्फ छोटो र मध्यम दूरीको इभेन्टमा भाग लिँदै आएको इतिहास छ ।

सन्तोषी नेपाली महिला म्याराथनको ओलम्पिक इतिहासलाई ब्युँत्याउने योजनामा छिन् । विमला एटलान्टामा दौडिँदा जतिबेला सन्तोषीको उमेरमात्र ३ वर्षको थियो । त्यही धुमिल इतिहासबीच अहिले ३१ वर्षको उमेरमा उनी पेरिसमा म्याराथन दौडँदै छिन् ।

समयको हिसाब गर्दा उनले म्याराथन कुद्न थालेको त धेरै भएको छैन । मध्यम दूरी, हाफ म्याराथन हुँदै गत वर्षमात्र सन्तोषीले पूरा म्याराथन (४२.१९५ किमि) दौडिएकी हुन् । तर, आफ्नो डेब्युमै स्वर्ण जितिन् । त्यो बंगबन्धु ढाका म्याराथन थियो । जनवरीमा भएको त्यो म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

शुक्रबार बिदाइपछि पेरिस ओलम्पिक जाने खेलाडी र खेलकुदमन्त्री तेजुलाल चौधरीका साथ राष्ट्रपति रामचन्द्र पौडेल । पेरिस जाने सात खेलाडीमध्ये बायाँबाट क्रमशः सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ । अरू तीन खेलाडी विदेश प्रशिक्षणमा छन् ।

अब पेरिसमा सन्तोषीसँग आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्नु त छँदै छ । अझ त्योभन्दा धेरै अगाडिको टाइमिङमा दौड्न सक्ने दृढ इच्छाशक्ति पनि छ उनीसँग । उनले अठोट दर्शाइन्, ‘ओलम्पिकमा मलाई चुनौतीसँगै अवसर पनि छ । राष्ट्रिय कीर्तिमान त आफ्नै नामको छ, तोड्छु नै । अझै २ घण्टा ४० मिनेटसम्मको टाइमिङमा दौड पूरा गर्नेमा दृढ छु । तर, मलाई अलिकलि डर भनेको त्यो दिनको मौसम, रुटजस्ता पक्ष प्रतिकूल नबनोस् । अरू इभेन्टजस्तो होइन, म्याराथनमा त्यसले धेरै प्रभाव पार्छ । नत्र आफ्नो तयारी हेर्दा मैले त्यो टाइमिङ निकाल्न सक्छु भन्ने इच्छाशक्ति छ ।’

अनुभवी आफ्नै गुरु रघुराज वन्तको ट्रेनिङ प्लानअनुसार नै उनले प्रशिक्षण गरिरहेकी छन् । चैतअघि घरेलु हाफ म्याराथन, १० किमिहरूमा दौडिए पनि त्यसयता खेल्न छाडेर ट्रेनिङमै केन्द्रित भएकी छन् । दशरथ रंगशालामा सातामा दुई दिनजति ट्रेनिङ गरेर अरू दिन सन्तोषी टोखा, शिवपुरी, बूढानीलकण्ठ त कहिले भक्तपुरसम्म पनि पुग्छिन् ।

‘म्याराथन दौड रोडमै हुने भएकाले आफूलाई त्यहीअनुसार तयार पार्न अफरोड, पिचरोड, सफ्टरोड सबैतिर दौडिरहेकी छु,’ सन्तोषीले तयारीबारे सुनाइन् । उनको इभेन्ट अन्तिम दिनमात्र भएकाले अझै तयारी गर्न समय छ । उनी जुलाई ३० मा मात्र पेरिस जानेछिन् । त्यहाँको वातावरणसँग भिज्न पनि उनलाई साता दिनभन्दा बढीको समय मिल्नेछ ।

पैताला (मेटाटार्सल बोन) को चोटबाट सताइएकी धाविका हुन् सन्तोषी । अहिले चोट कस्तो छ त ? उनको जवाफ थियो, ‘त्यसबाट मुक्त त छैन । तर, सचेत भएर ट्रेनिङ गरिरहेकी छु । थेरापी, जिम, मसाज सबै गरेको छु । जति खर्च लागे पनि जुत्तामा कार्बन टेप राखेर ट्रेनिङ गरिरहेको छु । त्यसले सहज भइरहेछ ।’

गोल्डेन पदक यात्रा

सन्तोषीको जन्म धादिङको ज्वालामुखी गाउँपालिका–६ सुनखानीमा भएको हो । अहिले काठमाडौं बूढानीलकण्ठमा बस्छिन् । काठमाडौंको विजेश्वरीस्थित गीतामाता उमाविबाट एसएलसी दिएकी सन्तोषीले त्रिभुवन विश्वविद्यालयबाट एमपीए (मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन) गरेकी छन् । आहार तथा पब्लिक हेल्थमा पोस्ट ग्य्राजुएट डिप्लोमा पनि गरेकी छन् ।

उनी पढाइ र खेलकुदलाई पनि निरन्तरता दिने खेलाडीमा पर्छिन् । दुवैलाई एकसाथ लैजान सकियो भने भविष्य राम्रो हुने उनले बुझेकी छन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता खेलाडी हुन् । उनले १० हजार मिटर दौडमा उक्त सफलता पाएकी थिइन् । सागमा उनको त्यो पदक नेपाली एथलेटिक्समा महिला खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । आफूले भाग लिएका स्वदेशमा भएका सबै प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । ४० भन्दा बढी स्वर्ण गलामा झुन्ड्याइसकेकी छन् । ती पदकहरू उनले ५ किमि, १० किमि र हाफ म्याराथनमा जितेकी हुन् ।

उनीसँग गत वर्ष चीनमा भएको १९ औं हाङचाउ एसियाली खेलकुद, भेनलुप हाफ म्याराथन नेदरल्यान्ड्स, पाडवर्न १०के जर्मनी, इस्तानबुल हाफ म्याराथन टर्कीलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि छ ।

६–७ कक्षामा पढ्दाताका नै उनी दौडमा भाग लिइरहेकी हुन्थिन् । १३ औं साग खेल्नुअघि सन्तोषीले राष्ट्रिय खेलकुद, राष्ट्र्रिय च्याम्पियनसिप अनि ट्र्याक तथा रोड रेसजस्ता प्रतियोगिता गरी तीन पदक (स्वर्ण, रजत र कांस्य) ७० भन्दा बढी जितिसकेकी थिइन् ।

सुरुआती दिनमा उनलाई दौडका प्राविधिक पक्षबारे केही थाहा थिएन । तर, स्थानीय दौड प्रतियोगितामा निरन्तर सहभागी भइरहिन्, सफलता पाइरहिन् । पब्लिक हेल्थमा स्नातक उत्तीर्ण गर्नुअघिसम्म सन्तोषीका लागि दौड सोखमात्र थियो । त्यही सोख पूरा गर्न पहिलोपल्ट २०७१ सालमा ४० औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा दौड्दा उनले १० हजार मिटर स्पर्धामा कांस्य जितिन् । ‘कान्छीमाया (कोजु), विश्वरूपा (बुढा) दिदीहरूसँग पहिलोपल्ट दौडन पाउनु नै मेरा लागि ठूलो अवसर थियो,’ सुरुआती दिन स्मरण गरिन्, ‘त्यसमाथि पहिलो सहभागितामै पदक जित्दा अब केही गर्न सक्छु भन्ने भयो ।’त्यही प्रतियोगिता नै उनको टर्निङ प्वाइन्ट बन्यो ।

एथलेटिक्स गुरुहरूको नजरमा परिन् उनी । दौडको प्राविधिक पक्षबारे जानकार नभए पनि खेलाडीमा हुनुपर्ने गुण प्रशिक्षकले देखे । रघुराज गुरुले सन्तोषीको क्षमतालाई पहिचान गरिहाले । गुरु आफैंले फोन गरेर प्रशिक्षण गर्न बोलाएको सन्तोषी सुनाउँछिन् । त्यसयता उनै गुरुको मार्गनिर्देशनमा सन्तोषीले सफलताको सिँढी चढ्दै आएकी हुन् ।

रोचक म्याराथन रुट

फ्रान्सेली राजधानी सहरका सुन्दर दृश्य र धेरै प्रख्यात स्मारकको भ्रमण गर्ने गरी म्याराथन रुट डिजाइन गरिएको छ । पेरिस सिटी हल (होटल डी भिल्ले) बाट सुरु भएर लेस इन्भलाइड्समा सकिँदा खेलाडीले ४३८ मिटर उचाइको अप–डाउन सामना गर्नुपर्नेछ । यो कोर्सले धेरै ओलम्पिक खेलस्थल तथा लुभ्रे पिरामिड, ग्रान्ड प्यालेस, एफिल टावरजस्ता विश्व चर्चित सम्पदालाई पृष्ठभूमिमा पार्नेछ ।

दुई पटकका ओलम्पिक च्याम्पियन तथा विश्व कीर्तिमानी धावक इलिउड किप्चोगेले पेरिस ओलम्पिक म्याराथनमा केही विशेष हुने बताएका छन् । उनले इतिहास र प्रतीकात्मकताले भरिएको ठाउँ हुँदै कोर्स डिजाइन गरिएकाले अनौठो अनुभव हुने विश्लेषण गरेका छन् ।

पेरिस २०२४ का लागि विशेष डिजाइन गरिएको यस कोर्सलाई विश्व एथलेटिक्सले ‘युनिक, डिमान्डिङ र टेक्निकल’ भनेर अनुमोदित गरेको छ ।

यसपल्ट महिला म्याराथनको अर्को विशेषता भनेको ओलम्पिकको अन्तिम दिन स्पर्धा हुनु । चार दशक लामो ओलम्पिक इतिहासको महिला म्याराथनमा यस्तो घटना पहिलो पटक हुँदै छ । नत्र सधैं पुरुष म्याराथन अन्तिम दिन हुन्थ्यो । यसपालि पुरुष म्याराथन एकअघि दिन नै सकिन्छ ।

पेरिस ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी एस्टानगुएटले लैंगिक समानताप्रति उच्च सम्मान राख्दै महिला म्याराथनलाई मुख्य आकर्षण बनाएर एथलेटिक्स टुंग्याउन चाहेको बताएका छन् । यो अवसरसँग नेपाली धाविका सन्तोषी पनि साक्षात्कार हुनेछिन् । भन्छिन्, ‘त्यो विशेष माहोलको साक्षी हुन पाउनु मेरो अहोभाग्य हो ।’

प्रकाशित : श्रावण ५, २०८१ ०५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×