कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सहायता नियोगबाटै हुर्किएको ‘ओलम्पिक सपना’

बन्दी सहायता नियोग (पाम) बाट जुडोमा पाइला चालेकी मनिता पेरिसमा सपना पूरा गर्दै
ध्रुव तुलाधर

काठमाडौँ — चार वर्षअघि नै ओलम्पिक खेल्नुपर्ने खेलाडी हुन् जुडोकी मनिता श्रेष्ठ प्रधान । उनले छनोटको नजिक पुगेर पनि टोकियो ओलम्पिक गुमाउनुपरेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा गरेको प्रदर्शनका कारण जुडोबाट मनिताको नाम अगाडि थियो । तर, निर्णायक अंक प्राप्त गर्ने खेलमा उनी पराजित भइन् । जुडोबाट सोनिया भट्टले टोकियो ओलम्पिक खेलिन् । 

सहायता नियोगबाटै हुर्किएको ‘ओलम्पिक सपना’

अन्तिम क्षणमा ओलम्पिक गुमाउनुको पीडाबाट मनिता नराम्ररी गुज्रिइन् । तर, उनले हार मानिनन् । आफ्नो मिहिनेतलाई चार वर्ष कायमै राखिन् । प्रशिक्षणमा अझ ऊर्जा थपिन् । फलस्वरूप पेरिस ओलम्पिकको टिकट सुरक्षित गरिन् । यसपालि पनि दुई साताअघि मात्र उनको पेरिस यात्रा सुनिश्चित भएको हो । उनी कन्टिनेन्टल कोटाबाट छानिएकी हुन् ।

पेरिस रोडम्यापका लागि अन्तर्राष्ट्रिय जुडो महासंघको छनोट प्रतियोगिता सकिएसँगै कोटाका आधारमा मनिताले ओलम्पिकमा स्थान पक्का गरेकी हुन् । उनी पनि ओलम्पिक छात्रवृत्तिमा रहेकी खेलाडी हुन् । जसले गर्दा मनिताले ओलम्पिक रोडम्यापमा रहेका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाइन् । जापान, चाइनिज ताइपेई, हङकङ र किर्गिस्तानका छनोट प्रतियोगिता खेलिन् । तिनै प्रतियोगितामा गरेको आफ्नो उच्च प्रदर्शनका आधारमा ओलम्पिक खेल्न पाएको उनले बुझेकी छन् ।

पेरिस ओलम्पिकमा १५ स्वर्णका लागि जुडोका ३ सय ७२ खेलाडी प्रतिस्पर्धी हुनेछन् । महिला र पुरुषतर्फ समान १८६ खेलाडी छन् । उनीहरूले ७–७ तौल समूह र एउटा मिक्स टिममा प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये महिला ५७ केजीमुनि तौल समूह (लाइटवेट) मा प्रतिस्पर्धा गर्ने मनिता एक हुन् । यस तौलमा भिड्ने २७ खेलाडी छन् । ‘ड्र’ तालिका नआएकाले उनको प्रारम्भिक प्रतिस्पर्धी तय छैन ।

मनिता मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् । यसले गर्दा उनको तयारी निरन्तर छ । अहिले ओलम्पिक चटारोले बिहान–बेलुका नै प्रशिक्षणमा तल्लीन छिन् । अब तयारीलाई दुई/चार दिन मात्र समय बाँकी छ । आउँदो सोमबार नेपाली ओलम्पिक टोलीको पेरिस जाने तालिका छ ।

उनकी प्रशिक्षक देवु थापाले तयारी सन्तोषजनक भएको र बाउट जिताउने लक्ष्य भएको सुनाइन् । देवुले भनिन्, ‘यसपालि मनिताबाट बाउट जितको आशा छ । तयारी राम्रो भइरहेको छ । थोरै समय भएकाले कहाँ के कति कमी कमजोरी छ, त्यसलाई खुट्याएर अघि बढिरहेका छौं ।’ देवु आफैं पनि ओलम्पियन हुन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेकी थिइन् । उनी २०१६ को रियो ओलम्पिकमा त फुपूल्हामु खत्रीको प्रशिक्षक थिइन् ।

त्यसैले देवुसँग ओलम्पिक खेल्दा र खेलाउँदा दुवैको अनुभव छ । त्यो अनुभव मनिताका लागि बोनसको रूपमा रहनेछ । देवु भन्छिन्, ‘रियोमा फुपूल्हामुलाई फुलटाइम टिकाएर खेलाउने लक्ष्य राखेको थिएँ, सफल भएँ । यसपालि मनितालाई कम्तीमा एक बाउट जिताउने लक्ष्य राखेकी छु ।’ देवुको प्रशिक्षण टोलीमा चन्द्र डंगोल पनि छन् । दुवैले आफ्नो टेक्निकलाई मनिताको क्षमतामा खन्याइरहेका छन् ।

ओलम्पिकमा नेपाली जुडो खेलाडीले पूरा समय टिकेर खेल्न नसकेको इतिहासबीच फुपूल्हामुले त्यसलाई तोडेकी थिइन् । क्युबाकी मेरिसेट स्पिनोसाविरुद्धको खेल गुमाए पनि फुपू चार मिनेटको पूरा समय टिकेकी थिइन् । अब त्यसलाई तोड्दै मनिताबाट बाउट जिताउनुपर्ने लक्ष्यमा नेपाली जुडो छ । सानै उमेरदेखि जुडोमा होमिएकी मनिताले २५ वर्षको उमेरसम्म आइपुग्दा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको अनुभव बटुलिसकेकी छन् । उनीसँग क्याडेट, जुनियरदेखि सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पदक जितेको अनुभव पनि छ ।

त्यही अनुभवका कारण मनिता ओलम्पिकमा आइपर्ने ठूलो चुनौतीसॅँग डराएकी छैनन् । भन्छिन्, ‘खेलकुदको ठूलो मञ्च हो ओलम्पिक । एकसेएक विश्वस्टार खेलाडी आएका हुन्छन् । त्यहाँ खेल्ने सबै खेलाडीको धोको हुन्छ । मेरो पनि धोको थियो । त्यो पूरा गर्दै छु । जस्तोसुकै प्रतिद्वन्द्वी परे पनि चुनौती दिन तयार छु ।’

नेपाली खेलाडीका लागि अहिलेको अवस्थामा ओलम्पिक पदक जित्नु ‘आकाशको फल आँखा तरी मर्’ भन्ने उखानसँग चरितार्थ हुन्छ । त्यसैले मनिताको लक्ष्य पनि ओलम्पिक सहभागितालाई स्मरणीय बनाउने मात्र छ । भन्छिन्, ‘१५ वर्षे जुडो करियरलाई विशेष बनाउने सोचिरहेछु । त्यहीअनुसार आफूलाई बलियो पारेकी छु । कम्तीमा बाउट जित्ने लक्ष्य छ ।’ जुडोको भाषामा उचि–माता, कोउचीगाके, सेओई–नागेजस्ता टेक्निकमा मनिता अब्बल छिन् । जसका कारण उनी जस्तोसुकै प्रतिद्वन्द्वीमाथि हाबी हुन सक्छिन् ।

मनिताको जन्म पाँचथर ह्याङ्गममा भएको हो । अहिले काठमाडौं कपनमा बस्छिन् । उनलाई आठ वर्षको उमेरमा काठमाडौं आएको याद छ । त्यसपछि बन्दी सहायता नियोग (पाम) मा रहेर उनले जुडोमा पाइला चालेकी हुन् । सन् २००९ देखि उनले जुडो खेल्न थालिन् । पाममा जुडो सिकाउने गुरु भनेको सूर्यनारायण श्रेष्ठ थिए । उनी पनि आफ्नो जमानाका प्रभावशाली खेलाडी थिए ।

पाममा स्वयंसेवक प्रशिक्षक रहेका सूर्यनारायणले जहिल्यै कलिला उमेरका आफ्ना खेलाडीलाई ‘ओलम्पिक खेलाडी बन्नुपर्छ’ भनेर हौस्याइरहन्थे । त्यही कलिला बालबालिकाबीच मनिता पनि थिइन् । मनितालाई पनि लाग्थ्यो, ‘गुरुले सधैं ओलम्पिक भनेर किन भनिरहनुहुन्छ ? कहिले रिस पनि उठ्थ्यो । त्यो त हामीलाई थाहा नभएर पो रहेछ । पछि मात्र ओलम्पिकको महत्त्व बुझियो ।’

मनिताले ओलम्पिक खेल्न पाउने भयो भन्दा सबैभन्दा खुसी थिए त उनै सूर्यनारायण । आफूले ओलम्पिक खेल्न नपाए पनि आफ्ना शिष्यलाई कलिलै उमेरमा उनले ओलम्पिकको सपना देखाएका थिए । जुन मनिताले पूरा गर्दै छिन् । पामबाट धेरै राष्ट्रियस्तरका जुडो खेलाडी उत्पादन भएका छन् । मनिता भन्छिन्, ‘सूर्य गुरुको सपना पूरा गर्न पाएकामा गौरवान्वित महसुस हुन्छ । उहाँले हामीलाई जस्तोसुकै परिस्थितिमा पनि प्रशिक्षण गराउनुहुन्थ्यो, चाहे दुर्घटनामा परेर वैशाखी टेकेर हिँड्नुपरेको अवस्था नै किन नहोस् । उहाँको मिहिनेतले पनि मलाई हौसला मिलिरह्यो ।’

मनिताको पदक यात्रा

सन् २०११ मा काठमाडौंमा आयोजित त्रियोग जुडो च्याम्पियनसिप मनिताले खेलेको पहिलो प्रतियोगिता हो । त्यसमा स्वर्ण जितिन् । त्यसै वर्ष पिस साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिपमा तेस्रो भएपछि उनको अन्तर्राष्ट्रियमा पनि पदक जितको थालनी भयो । दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी मनितासँग दुई दक्षिण एसियाली खेलकुद (१२ र १३ औं साग) मा जितेको रजत पदक छ भने दुई एसियाली खेलकुद (जकार्ता र हाङचाउ) खेलेको अनुभव छ ।

उनले जितेका किर्गिस्तानमा एसियाली जुनियर तथा क्याडेट जुडो च्याम्पियनसिपको दुई संस्करणका कांस्य र थाइल्यान्ड नर्थ युनिभर्सिटी च्याम्पियनसिपको स्वर्ण पनि नेपाली जुडोका लागि विशेष छ । ५ वर्षयता विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध मनिता सातौंदेखि नवौं राष्ट्रिय खेलकुदसम्म आफ्नो तौल समूहमा एकछत्र राज गरेकी खेलाडी पनि हुन् ।

जुडोको ओलम्पिक यात्रा सोलदेखि

ओलम्पिकमा जुडोबाट भाग लिने मनिता छैटौं खेलाडीमा पर्छिन् । सन् १९८८ को सोल ओलम्पिकमा जुडोका गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले पहिलो पटक सहभागिता जनाए । त्यसपछि सन् २००८ को बेइजिङ ओलम्पिकमा देवु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपूल्हामु खत्री र सन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले सहभागिता जनाएका थिए ।

प्रकाशित : श्रावण ४, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×