कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ब्याडमिन्टनका प्रिन्स ओलम्पिकको कठिन समूहमा

ध्रुव तुलाधर

काठमाडौँ — नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको कठिन समूहमा परेका छन् ।

ब्याडमिन्टनका प्रिन्स ओलम्पिकको कठिन समूहमा

शुक्रबार गरिएको ‘ड्र’ अनुसार पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडी प्रतिस्पर्धी छन् । उनीहरूले १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा ३ वा ४ खेलाडी रहेका छन् ।

त्यसअनुसार प्रिन्स समूह ‘पी मा परेका छन् । जहाँ विश्व नम्बर दुई वरीयता तथा दुईपल्टका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसहित तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्यान्डका नहत गुएन रहेका छन् । सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन् । आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।

राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन् । प्रत्येक खेल बेस्ट अफ थ्रीमा हुनेछ । ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा जुलाई २७ देखि अगस्ट ५ सम्म हुनेछ ।

बीडब्लूएफ विश्व वरीयताप्राप्त शीर्ष १३ खेलाडीलाई वरीयता दिइएको थियो । हरेक समूहमा १–१ जना रहेका छन् ।

ओलम्पिकमा नेपाली ब्याडमिन्टनले पहिलोपल्ट सहभागिता जनाउन लागेको हो । त्रिपक्षीय आमन्त्रण कोटामा प्रिन्सले यो अवसर पाएका हुन् । उनी पनि नेपालका जुनियरतर्फ विश्व नम्बर एकमा पुगेका खेलाडी हुन् ।

घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा डबल्सतर्फ दुई कांस्य पदक जितेका प्रिन्सले गत वर्ष चीनमा भएको हाङचाउ एसियाड पनि खेलेका थिए । एसियाडमा उनी राउन्ड अफ ३२ मा पराजित भए । उनले दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् । अहिले प्रिन्स श्रीलंकामा प्रशिक्षण गरेर स्वदेश फर्किएका छन् ।


आसन्न ओलम्पिकका लागि नेपालबाट प्रिन्ससहित सात खेलाडीले भाग लिने भएका छन् । त्यसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपालले सहभागिता जनाउने छन् ।

टेबलटेनिसका स्यान्टुले दक्षिण एसियाली क्वालिफाइङ प्रतियोगिता जितेर पेरिसको टिकट काटेका हुन् । अरू खेलाडी खेलअनुसार फरक कोटामार्फत छानिएका हुन् । नेपाली ओलम्पिक इतिहासमा छनोट खेलेर ओलम्पिक उनी तेस्रो खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट छनोट भएर ओलम्पिक खेलेका थिए ।

अहिले एलेक्जेन्डर अमेरिका, डुवाना थाइल्यान्ड, स्यान्टु अस्ट्रेलिया र प्रिन्स श्रीलंकामा प्रशिक्षणरत रहँदा सुस्मिता, सन्तोषी र मनिताले नेपालमै प्रशिक्षण गरिरहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रकाशित : असार २८, २०८१ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×