नेपालमा भएको पब्जी प्रतियोगितामा मंगोलियाको फोरएमभी विजयी

काठमाडौँ — पब्जी मोबाइल सुपर लिग-२०२४, मध्य तथा दक्षिण एसियाको स्प्रिङ प्रतियोगितामा मंगोलियाको फोर मेरिकल भाइब (फोरएमभी) विजयी भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको सो श्रृंखलामा पहिलो हुँदै फोरएमभीले ३७ हजार डलर (४५ लाख रुपैयाँ) नगद पुरस्कार जितेको छ ।

नेपालमा भएको पब्जी प्रतियोगितामा मंगोलियाको फोरएमभी विजयी

दुई करोड ६० लाख कुल पुरस्कार राशि रहेको यस प्रतियोगितामा १४ देशका १ सयभन्दा बढी खेलाडीहरू सहभागी थिए । रुस, युक्रेन, बंगलादेश, मंगोलिया, किर्गिस्तान, काजकिस्तान, अर्मेनिया, स्पेन, बेलारुस, बहराइन गरी मध्य र दक्षिण एसियाली क्षेत्रका खेलाडी, कोच, रेफ्री र व्यवस्थापकसहित करिब ३ सय जनाको टोली काठमाडौं आएको थियो । जेठ ९ बाट सुरु भएको लिग चरणको खेलमा कुल २० समूह थिए ।

बिहिबारदेखि शनिबार साॅझसम्म भएको अन्तिम चरणका १८ खेलमा फोरएमभीले १९५ अंकसहित पहिलो स्थान हासिल गरेको हो । समूहका डीओके ‘उत्कृष्ट खेलाडी’ र ‘गनस्लिङ्गर’ को उपाधि जित्न सफल भए भने एपेक्सले ‘ग्रिनेड मास्टर’ को उपाधि हासिल गरे । यसअघि तीन हप्ता चलेको लिग चरणको खेलमा पनि फोरएमभी प्रथम भई पुरस्कारमा ७ हजार डलर (करिब साढे ९ लाख रुपैयाँ) प्राप्त गरेको थियो ।

बुढानीलकण्ठको भंगालस्थित पीएमएसएल स्टुडियोमा भएको प्रतियोगितामा मंगोलियाकै अर्को समूह ‘फाल्कोन फोर्स’ उपविजेता बन्दै २२ हजार डलर (करिब २९ लाख रुपैयाँ) जित्न सफल भयो । कुल १७१ अंक ल्याएको समूहका सदस्य टीओपी दोस्रो उत्कृष्ट खेलाडी घोषित भए । मंगोलियाका यी दुई समहले मात्रै प्रतियोगिताको अन्तिम चरणमा तीन-तीन वटा चिकेन डिनर प्राप्त गरेका थिए ।

किर्गिस्तान, युक्रेन र रुसका खेलाडी भएको कमलवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) को ‘म्याडबुल्स’ समूह तेस्रो बन्यो । मंगोलियाको आईएचसी ईस्पोर्टले चौथो स्थान हासिल गर्‍यो । प्रतियोगितामा शीर्ष चारभित्र पर्ने टिमले आगामी महिना साउदी अरेबियाको रियादमा हुने ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने भएका छन् ।

पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइभल चरणमा खेल्न पाउनेछ । सीआईएसको ‘रुख ईस्पोर्ट्स’ ले पाँचौं स्थान हासिल गर्दै १५ हजार ६ सय डलर (करिब १९ लाख रुपैयाँ) जितेको थियो । मध्य तथा दक्षिण एसियाकै प्रतिष्ठित मानिने यस ई–स्पोर्ट्स इभेन्टमा नेपालबाट डीआरएस गेमिङ र होरा ईस्पोटर्स गरी दुई समूह प्रतिस्पर्धामा थिए । डीआरएस सातौं र होरा ईस्पोर्ट्स तेह्रौं स्थानमा रहन सफल भए । डीआरएसले १० हजार ८ सय डलर (करिब १३ लाख रुपैयाँ) र होराले ७ हजार ७ सय (करिब १० लाख रुपैयाँ) पुरस्कार प्राप्त गरे ।

प्रकाशित : असार २, २०८१ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x