२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

इटहरी गोल्डकप रात्रिकालीन हुने

सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण रात्रिकालीन हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले मंगलबार आगामी चैत १० देखि १९ सम्म रात्रिकालीन प्रतियोगिता गरिने जनाएको छ । गोल्डकपमा दुई भारतीय र नेपालका ८ टिमको सहभागिता रहनेछ ।

रात्रिकालीन गोल्डकप गर्ने तयारीसँगै यसअघि नै इटहरी रंगशालाको पूर्व र पश्चिमतर्फ फ्लडलाइट जडान गरिएको छ । जसका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले गत आवमा ८० लाख रुपैयाँ उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा बजेट नआएकाले बाँकी लाइट अस्थायी रूपमा जडान गरिने आयोजकले जनाएको छ ।

इटहरी रंगशालामा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख र सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक अनुरोध थापाले बताए । सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् । इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, चर्ज ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाइटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७५ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरले १२ लाख रुपैयाँ विनियोजन गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको उनले बताए । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख संकलन हुने अनुमान छ । गत संस्करणमा साढे ३ लाख बचत भएको जनाइएको छ । प्रतियोगितालाई कन्ट्रोल लुब्रिकेन्टले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?