कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
वाफ वुमेन्स च्याम्पियनसिप

जोर्डनसँग नेपाल टाइब्रेकरमा पराजित

काठमाडौँ — तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनले बिहीबार वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै उपाधिको रक्षा गरेको छ ।

जोर्डनसँग नेपाल टाइब्रेकरमा पराजित

टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे । नेपालका लागि भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

रोजबहानले जोर्डनका लागि निर्णायक गोल गरिन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नुर जोकासले पनि गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हिरा भुजेले गोल गरे । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो र खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । नेपालले सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

खेलको अन्त्यतिर पछाडि रहेको स्थितिमा पनि नेपाल खेलमा फर्कन भने सफल रह्यो । नेपालले ३० औं मिनेटमा सविता रानामगरको गोलले अग्रता लिएको थियो । रेखा पौडेलको पासमा उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा जोर्डनले दुई गोल फर्काएको थियो । लारा परेराले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याइन् ।

सारा अबुसाराले ८९ औं मिनेटमा गोल गर्दै जोर्डनलाई पहिलो पल्ट अग्रता दिलाइन् । तर नेपालले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । त्यसमा गीता रानाले गोल गरिन् । मेसा जेब्राहले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको हो ।

प्रकाशित : फाल्गुन १८, २०८० ००:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×